सुजल श्रेष्ठ
प्युठान, जेठ ५ गते । नौबहिनी गाउँपालिका–६ लुङमा एक युवकको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जेठ ३ गते १९ वर्षीय मधु सुनारको फेरा सामुदायिक वनमा भिरबाट लडेर मृत्यु भएको घटनासम्बन्धी अनुसन्धानका क्रममा पाँच जना पक्राउ परेका हुन् ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्युठान का सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो ।
पक्राउ पर्नेमा सोही वडाका स्थानीय केशव केसी, गोविन्द घर्ती, नरेन्द्र केसी, बसन्तबहादुर घर्ती र युवराज केसी रहेका छन् । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धानका लागि प्युठान जिल्ला अदालत बाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार वनभोज खान गएका ६ जना युवालाई स्थानीयले लखेट्दा भिरबाट लडेर मधु सुनारको मृत्यु भएको थियो । मृतकका परिवारले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।