नवराज नेपाली
बागलुङ (गलकोट), जेठ ५ गते । चोरी मुद्दामा कैद सजाय भोगिरहेका एक प्रतिवादी कारागारबाट फरार भएपछि पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ का अनुसार बागलुङ नगरपालिका–७ निवासी ३४ वर्षीय सुरेश बोहोरा उर्फ “मिठु किसान” लाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई बागलुङ जिल्ला अदालतले २०८० जेठ २ गते मोबाइल चोरी मुद्दामा ३ वर्ष १ महिना कैद तथा ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसलापछि उनी कास्की कारागारमा थुनामा रहेका थिए ।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार अवस्थामै उनले २०८३ जेठ १ गते बागलुङ नगरपालिका–२ शिवधाराचोकस्थित खड्कबहादुर खत्रीको पसलबाट मोबाइल चोरी गरी फरार भएको आरोप छ ।
घटनापछि प्रहरीले उनलाई पुनः पक्राउ गरी चोरी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।