राजन रावत
हुम्ला, जेठ ५ गते । विद्यार्थी सङ्ख्या न्यून भएपछि हुम्लामा एउटा आधारभूत तहको विद्यालय नजिकैको विद्यालयमा समायोजन गरिएको छ । बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको सिद्धार्थ आधारभूत विद्यालय मा यस शैक्षिक सत्रमा दुई जना मात्र विद्यार्थी बाँकी रहेपछि सिमकोट गाउँपालिकाले विद्यालय समायोजन गरेको हो ।
सिमकोट गाउँपालिका–४ स्थित बुराउसे गाउँको उक्त विद्यालयलाई सिमकोट गाउँपालिका–६ स्थित मानसरोवर माध्यमिक विद्यालय मा समायोजन गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका अनुसार विद्यालयमा दुई विद्यार्थी र पाँच शिक्षक रहेको अवस्था अस्वाभाविक देखिएकाले दरबन्दीसहित विद्यालय समायोजन गरिएको हो । यस शैक्षिक सत्रमा जम्मा दुई जना विद्यार्थी मात्र भर्ना भएको जानकारीपछि गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार विद्यालय समायोजन गरिएको उहाँले बताउनुभयो ।
सिद्धार्थ आधारभूत विद्यालयका दुई विद्यार्थी र पाँच शिक्षक मानसरोवर माध्यमिक विद्यालयमा सरिसकेका छन् । हाल उक्त विद्यालय बन्द रहेको छ । एक–दुई वर्षअघिसम्म कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि गत वर्षदेखि कक्षा ६, ७ र ८ हटाइएको थियो ।
बुराउसे गाउँकी बबिता लामाले यसअघि गाउँका अधिकांश विद्यार्थी सोही विद्यालयमा अध्ययन गर्ने गरे पनि अहिले अभिभावकले आफ्ना बालबालिकालाई सदरमुकाम सिमकोटका निजी विद्यालय तथा जिल्लाबाहिर अध्ययनका लागि पठाउन थालेपछि गाउँमा विद्यार्थीनै नरहेको बताउनुभयो ।
७४ घरधुरी रहेको बुराउसे गाउँमा हाल केही घर खाली रहेका छन् भने बसोबास भएका घरमा पनि अधिकांश ज्येष्ठ नागरिक मात्र रहेको स्थानीय बताउँछन् ।
त्यसैगरी वडा नं. ७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयाबाट कक्षा ११ र १२ लाई पनि मानसरोवर माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । वडा नं. २ को रामदेव माध्यमिक विद्यालयबाट बालविकासदेखि कक्षा ५ सम्मका कक्षा सोही वडाको पञ्चमुखी आधारभूत विद्यालय मा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।