विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र नेपालीलाई संसारभर चिनाउने अमूल्य प्राकृतिक सम्पदा हो । हाम्रा उत्तरी भूभागमा पूर्वदेखि पश्चिमसम्म फैलिएका हिमशृङ्खला देशको सानसँगै विश्वकै पर्यटन आकर्षणका मूल आधारसमेत हुन् । यिनै हिमशृङ्खलामा सर्वोच्च शिखरले विश्वकै साहसिक पर्यटकलाई निरन्तर आकर्षित गरिरहेको छ । खास गरी सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विसं २०१० मा अनेक कष्ट र चुनौती छिचोल्दै सगरमाथा आरोहण गरेपछि नेपाल विश्वभर चिनिन थाल्यो । सगरमाथासँगै नेपालका हिमशृङ्खलाको आकर्षण विश्वभर फैलिन थाल्यो । सगरमाथाको चुचुरोमा हरेक वर्ष अनेक नयाँ कीर्तिमान थपिँदै गए । यो पटक पनि नयाँ कीर्तिमान थपिएका समाचारले संसार रोमाञ्चित भएको छ । आइतबार मात्र पनि दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । यी दुई कीर्तिमानी नेपाल आमाका सन्तति हुन् । कामिरिता शेर्पा र लाक्पा शेर्पा दुवैले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नयाँ कीर्तिमान राख्नुभएको हो । उहाँहरू दुवैले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी नयाँ कीर्तिमान राख्नुभएकोमा प्रधानमन्त्री वालेन्द्र शाहले बधाई दिनुभएको छ । पर्यटन विभागका अनुसार कामिरिताले ३२ औँ पटक सगरमाथा आरोहण गर्नुभयो । उहाँ ‘एभरेस्ट म्यान’ का नामले पनि संसारमा चिनिनुहुन्छ । पुरुष आरोहीको यो नवीन कीर्तिमान हो । त्यसै गरी लाक्पाले महिलातर्फ ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँ विश्वका आरोहीबिच ‘माउन्टेन क्विन’ उपनामले समेत सुपरिचित हुनुहुन्छ ।
सगरमाथा आरोहण सजिलो कर्म अवश्य होइन । साहस, मेहनत, धीरता, मौसम, आरोहण दलको सहयोगसमेतका आधारमा यो सम्भव हुन्छ । सोलुखुम्बुको थामेमा जन्मिएका कामिरिताको सगरमाथा आरोहणको विगत सङ्घर्षपूर्ण छ । उहाँले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसपछिका हरेक वर्ष जस्तो उहाँ सगरमाथाको चुचुरोमा पुग्दै आउनुभएको छ । गत वर्षको वसन्त ऋतुमा पनि उहाँले नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । २०८२ जेठ १३ गते ३१ औँ पटक सर्वोच्च शिखर पुगेर उहाँले संसारलाई चकित पार्नुभएको थियो । उहाँले यो पटक आफ्नो कीर्तिमानलाई आफैँले फेरि तोड्नुभएको छ । त्यसअघि विसं २०८१ मा उहाँले दुई पटक अर्थात् २९ औँ र ३० औँ सफल आरोहण गर्नुभएको थियो । कामिरिताको पर्वतारोहण नै मूल कर्म हो । यसै गरी महिलातर्फ लाक्पाको कीर्तिमानले विश्वकै महिला आरोहीमा नयाँ आयाम थपेको छ । उहाँ ११ औँ पटक आरोहण गरी नयाँ कीर्तिमान कायम गर्न सफल हुनुभयो । यसअघि सन् २०२२ मा उहाँले १० औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । सङ्खुवासभा निवासी लाक्पाले आरोहणलाई नै सफलताको आधार बनाउँदै आउनुभएको छ । पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०:१२ बजे र लाक्पाले ९:३० बजे सर्वोच्च शिखरको चुचुरोमा पाइला टेक्नुभयो । उहाँहरू दुवैले विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत नेपालाई पुनः विश्वसामु चिनाउनुभएको छ ।
सगरमाथाको चुचुरोमा थपिएका गौरवले नेपालीको साहस र गौरव विश्वभर फैलिएको छ । यो चुनौतीपूर्ण कार्यमा सफलता सामान्य रूपमा हासिल हुँदैन, कठिन मेहनत आवश्यक पर्छ । नयाँ नयाँ कीर्तिमान विश्व साहसीका निम्ति रोमाञ्चित खबर हुन् । यस्ता कीर्तिमान विश्वका सञ्चार माध्यममा उच्च प्राथमिकताका साथ फैलिन्छ । यसले नेपालको पर्यटन प्रवर्धनसमेत भइरहेको हुन्छ । तथापि जलवायु परिवर्तनसमेतका असरले नेपालका हिमशृङ्खलामा हिउँ पग्लँदै गएको छ । सगरमाथा आरोहणका निम्ति यतिबेला आधार शिविर ससानो सहर जस्तो भएको छ । आरोहण दलका सदस्य तथा सहयोगीले ठुलो भिडभाड बढेको छ । एडमन्ड हिलारीले सगरमाथालाई आरोहणको स्पर्धा मात्र ठान्न नहुने सुझाव दिनुभएको थियो । सगरमाथालाई आराम गर्न दिनुपर्ने भन्नुभएको थियो । प्रथम आरोही हिलारीले यो संसार छोडेको पनि बर्सौं भइसक्यो तर उहाँले दिनुभएको सुझाव हिमाल आरोहणका निम्ति बनाइने नीति, योजना र कार्यक्रमका निम्ति अमूल्य मार्गनिर्देश बन्न सक्छ । सगरमाथामा बर्सेनि हुने अनेक कीर्तिमान सुखद पक्ष त हुन् नै, नेपाली हिमशृङ्खलालाई विश्वका सबै साहसिक पर्यटकका लागि सहज पहुँच हुने गरी खुला गर्ने वा नगर्ने भन्ने विषयमा आगामी दिनमा गम्भीर हुनै पर्छ । सर्वोच्च शिखर सगरमाथालगायत हाम्रो हिमाली क्षेत्रलाई भावी पुस्ताका निम्ति जतन गरी राख्ने जिम्मेवारी पनि आएको छ । हिमाल आरोहणलाई सीमित गर्दै दृश्यावलोकन तथा पदयात्रालाई व्यापक बनाएर गुणस्तरीय पर्यटनमा भने अझ बढी जोड दिनु वाञ्छनीय छ ।