• ५ जेठ २०८३, मङ्गलबार

महाराजाथान मन्दिर पर्यटकीय गन्तव्य बन्दै

blog

हात्तीखोरस्थित महाराजाथान मन्दिर ।

मध्यविन्दु समाचारदाता

मध्यविन्दु, जेठ ५ गते । नवलपुरको कावासोती हात्तीखोरमा रहेको महाराजाथान मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ । 

कावासोतीको मुख्य बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँ जसो देशका विभिन्न जिल्लाबाट श्रद्धालु पुग्ने गर्छन् । परापूर्वकालदेखि नै स्थानीय भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको यस मन्दिरमा पछिल्लो समय जिल्लाबाहिरबाट समेत उल्लेख्य रूपमा भक्तजन आउन थालेका महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताउनुभयो ।

सडक स्तरोन्नति तथा सवारीसाधनको सहज पहुँच र सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार भएका कारण यहाँ भक्तजनको आगमनमा वृद्धि हुँदै गएको समितिका अध्यक्ष थापाले बताउनुभयो । पहाडी काखमा रहेको यस मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ । 

परापूर्वकालमा पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो राज्यको सीमा सुरक्षार्थ शक्तिपीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो । यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालु मन्दिरमा आउने गरेका छन् । 

तत्कालीन समयमा तराईमा औलोलगायतका महामारी तथा रोग फैलिँदा त्यसबाट मानिसलाई जोगाउन मन्दिरप्रति आस्था राख्ने श्रद्धालु भक्तजन यहाँ आएर कुखुरा, हाँस, परेवा, भेडा, पाठो, राँगोको बलि चढाई चार/पाँच दिनसम्म बास बसी धार्मिक पूजाआजा गर्ने प्रचलन छ ।