शंकर केसी
सल्यान, जेठ ५ गते । विनाशकारी असिनापानीका कारण उत्पादन नै नहुने अवस्था आएपछि सल्यानका किसानले व्यवसायिक रूपमा लगाएका तरकारी बोट उखेलेर फाल्न थालेका छन् । विशेषगरी बेमौसमी तरकारी खेतीका लागि परिचित कपुरकोट क्षेत्रका किसान ठुलो आर्थिक क्षति व्यहोर्न बाध्य भएका हुन् ।
कपुरकोट गाउँपालिका–५ का किसान तथा पूर्व वडा अध्यक्ष यमकुमार बस्नेतले करिब साढे दुई रोपनी क्षेत्रफलमा लगाइएका २१ सय टमाटरका बोट उखेलेर फाल्नुभएको छ । उहाँका अनुसार वैशाख २३ गते परेको असिनापानीले पूर्ण रूपमा नष्ट गरेको हो ।
“फल लाग्ने बेला थियो। असिनाले पिटेपछि बोटका डाँठ कमजोर भए, छोए पनि भाँचिने अवस्था भयो। फलमा दाग, चोट र कुहिने समस्या देखियो। उत्पादन भए पनि बिक्री हुन नसक्ने अवस्था छ,” बस्नेतले भन्नुभयो । उहाँले घरमा तरकारी र अचारका लागि केही बोट मात्र राखेर बाँकी सबै उखेलेर फाल्नुपरेको बताउनुभयो ।
असिनापछि बोटमा रोगसमेत देखिन थालेको किसानहरूको भनाइ छ । पात सुकेर झर्ने, डाँठ कुहिने र फल कालो दागयुक्त हुने समस्या बढेपछि उत्पादनको सम्भावना समाप्त भएको छ ।
कपुरकोट गाउँपालिका–५ कै अर्का किसान गोविन्द सार्कीले पनि करिब १२ सय टमाटरका बोट उखेलेर फाल्नुभएको छ । लगानी उठ्ने आशा नदेखिएपछि बोट फाल्न बाध्य भएको उहाँले बताउनुभयो ।
त्यस्तै कपुरकोट गाउँपालिका–६ रयाँजे खोलाका किसानहरूले व्यवसायिक रूपमा लगाएको तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ । स्थानीय किसान झरणा केसी बोहोराले करिब ८ हजार काउलीका बोट काटेर तथा उखेलेर फाल्नुपरेको बताउनुभयो ।
“दुई पटक आएको असिनाले काउलीमा चोट लाग्यो। टाउकामा दाग, प्वाल र कालोपन देखियो। असिनापछि काउली कुहिने, गल्ने र बजारमा बिक्री गर्न नमिल्ने भयो,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार गाउँका १७ घरधुरी किसानमध्ये धेरैले खेतमै काउली काटेर कुहाउन बाध्य भएका छन् भने केहीले मलका रूपमा प्रयोग गर्न फालिरहेका छन् । उत्पादन राम्रो हुने आशामा गरिएको मेहनत केही मिनेटको असिनाले नष्ट गरेपछि किसान निराश बनेका छन् ।
“कृषि प्राविधिकहरूले क्षतिको विवरण संकलन गरेका छन्। अनुगमन पनि भएको छ। तर अहिलेसम्म कुनै राहत वा क्षतिपूर्ति पाएका छैनौं,” झरणाले गुनासो गर्नुभयो ।
कपुरकोटका ६ वटै वडामा यस वर्ष बेमौसमी तरकारी खेतीमा व्यापक क्षति पुगेको स्थानीयले बताएका छन् । टमाटर, काउली, बन्दा, खुर्सानी, सिमी लगायतका बालीमा असिनाले ठुलो नोक्सानी पुर्याएको छ ।
यसैगरी जिल्लाका त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्धकुमाख गाउँपालिकालगायत क्षेत्रमा पनि असिनापानीले व्यवसायिक तरकारी तथा फलफूल खेतीमा व्यापक क्षति पुर्याएको किसानहरूले जनाएका छन् । किसानहरूले राहत र क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारसँग माग गरेका छन् ।