• ५ जेठ २०८३, मङ्गलबार

सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पाद्वारा ल्होत्से हिमाल आरोहण

blog

ल्होत्से हिमालको आरोहण गर्न सफल हुनुभएको सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पा । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, जेठ ५ गते । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिकी शेर्पाले ८ हजार ५१६ मिटर अग्लो ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको आरोहणसँगै उहाँ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ल्होत्से र सगरमाथा दुवै हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो सशस्त्र प्रहरी बन्न सफल हुनुभएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार सहायक निरीक्षक शेर्पाले ल्होत्से हिमालको आरोहण मे १८ तारिख (सोमबार) दिउँसो ३ः२५ बजे गर्नुभएको हो । यस उपलब्धिले सशस्त्र प्रहरी बल नेपालको उच्च पहाडी तथा हिमाली उद्धार क्षमतासँगै महिलाहरूको सक्रिय सहभागिता र साहसिक योगदानलाई नयाँ उचाइमा पुर्‍याएको छ ।

सशस्त्र प्रहरी बल नेपालले मनाङ जिल्लामा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेपछि पर्वतीय उद्धारसम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ । निम डिकी शेर्पाको यो ऐतिहासिक आरोहणले उत्तरी सीमा सुरक्षा तथा पर्वतीय उद्धार क्षमताको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यसअघि उहाँले मे १७ तारिख बिहान ११ः५५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नुभएको थियो । उहाँसँगै सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले पनि मे १७ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।