• २८ असार २०८२, शनिबार

बालुवामा स्याउ खेती गर्ने सम्पत्तिलाई सर्वोत्कृष्ट सम्मान

blog

यस बर्षको सङ्घीय र प्रदेश सरकारबाट सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित हुनुभएका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ दम्पती । तस्बिर: हरिकृष्ण शर्मा

राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक घोषित

मुस्ताङ, असार २८ गते । घरायसी खर्चका लागि मुस्ताङ वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ ले करिब एक रोपनी जमिनमा स्याउ खेती गर्नुभयो ।

खेतीयोग्य जमिन भए पनि पर्याप्त सिचाइको अभाव लगायत विभिन्न कारण आङ्ग्या दम्पतीले गरेको स्याउ खेतीले कमाइ हुन थालेपछि बिस्तारै बाँकी खेतबारीमा स्याउको बोट विस्तार गर्न थाल्नुभयो । १ रोपनीबाट सुरु भएको स्याउ खेती अहिले ६० रोपनी क्षेत्रफलमा फैलिएको छ । 

घर खर्चका लागि भए पनि व्यावसायिक स्याउ खेती नहुने, बेकारको लगानी गर्यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्नेहरूले अहिलेको सफलता देखेर चकित परेका छन् । सन्तानको शिक्षादीक्षा सहित घर खर्च चलाउने सोचबाट सुरु भएको स्याउ खेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पतीले स्थापना गरेको ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्ग्यानिक फर्म मुस्ताङ जिल्लाकै नमुना बनेको मात्रै छैन नेपाल सरकार र गण्डकी प्रदेश सरकारबाट यसबर्षको सर्वोत्कृष्ट सम्मान समेत पाएको छ ।

हरेक वर्ष उदाहरणीय कृषि कर्म गर्ने किसानलाई प्रदान गर्ने नगद २ लाख रुपियाँ सहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक घोषित गरेको छ । 


शुक्रवार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषि मन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद ५० हजारसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नुभएको हो । नमुना कृषक छिरिङ ढोका भन्नुहुन्छ,‘‘मेहनतको फल मिठो हुन्छ भन्ने सम्मानबाट महसुस गरेको छु, दुवै सम्मानले कृषि कर्ममा ऊर्जा थपिएको छ ।’’ कृषक छिरिङ ढोकाले मुस्ताङको गाउँमा स्याउ फलाउँदा नेपाल सरकारले सम्मान गर्छ भन्ने आस समेत नगरेको बताउनुभयो ।‘‘कृषि खेतीमा नमुना काम गर्ने कृषकलाई सरकारले खोजी खोजी सम्मान गर्ने रहेछ भन्ने सम्मानित भएपछि महसुस गरे’’ छिरिङ ढोकाले भन्नुभयो ।

छिरिङ आङ्गया दम्पतीको स्याउ बारीमा २५ सय स्याउको बोट रहेकोमा यस बर्ष छिमेकी जिल्ला मनाङबाट ५ सय बोट हाइडेन्सी प्रजातिको स्याउ समेत रोप्ने तयारी गर्नुभएको छ । गतबर्ष खर्च कटाएर ३५ लाखको स्याउ बिक्रीबाट आम्दानी गर्नुभएको छ । 

६ जनालाई रोजगारी दिनुभएको आङ्ग्या दम्पतीले स्याउ बाहेक च्याङ्ग्रापालन समेत गर्नुभएको छ। ५ सय च्याङ्ग्रा रहेको फार्मबाट गत बर्ष १३ लाख आम्दानी गर्नुभएको थियो । स्याउ खेतीका लागि यस बर्ष प्रदेश सभा (२) का सदस्य विकल शेरचनको पहलमा १३ घरधुरी रहेका तिरी गाउँमा खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मुस्ताङ मार्फत ५ सय ८५ मिटर तल कालिगण्डकी नदीको पानी लगिएपछि स्याउ खेतीका लागि जमिन खरिद वा भाडामा लिएर २ सय रोपनीमा विस्तार गर्ने योजना रहेको आङ्गया दम्पतीको भनाई छ । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४,का वडा अध्यक्ष कर्म घ्यचो गुरुङले जोखिम मोलेर सुरु  गरेको स्याउ खेतीमा आङ्ग्या दम्पतीले पाएको सफलता नै कृषकको मेहनतको अर्को नाम भएको बताउनुभयो ।

वडा अध्यक्ष गुरूङङ भन्नुहुन्छ,‘‘अहिले उहाँहरूको सबैतिर प्रशंसा भइरहेको छ, स्याउ खेती गर्न चाहनेहरूले उहाँहरूबाट धेरै सिक्न सकिन्छ ।’’ जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यवसायीक स्याउ खेती सहित पशुपालनमा सक्रिय  आङ्गया दम्पतीको सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ । मुस्ताङबाट गतबर्ष मात्रै करिब ९० करोडको स्याउ निर्यात भएको थियो । 

Author

हरिकृष्ण शर्मा