काठमाडौँ, असार २७ गते । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्वर्गीय जननेता मदन भण्डारीले पौने चार वर्ष मात्रै पार्टी नेतृत्व गर्न पाउनुभएको बताउनुभएको छ ।
राष्ट्रिय भाषा तथा लोकसाहित्य सङ्घ, नेपालले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीका सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित ‘बहुभाषिक लोकलहरी तथा सम्मान कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले भन्नुभयो, “रहस्यमय जीप दुर्घटनामा दासढुङ्गामा उहाँको निधन भयो । त्यो रहस्यको पर्दा अझै खुलेको छैन । उमेरको हिसाबले ४१ वर्षभन्दा कम हुनुभएको मात्रै होइन, पार्टीको प्रमुख नेताको रुपमा जम्माजम्मी पौने चार वर्ष मात्रै २०४६ सालको भदौमा सम्पन्न चौथो महाधिवेशनमा महासचिवको रुपमा निर्वाचित हुनुभएको थियो ।
उहाँले जम्माजम्मी पौने चार वर्ष मात्रै पार्टीको नेतृत्व गर्न पाउनुभयो । संसदमा जम्मा दुई वर्ष मात्रै काम गर्न पाउनुभयो । मदन भण्डारी भनेर चिनिएको खुला सार्वजनिक जीवन करिब उहाँले साढे दुई वर्ष मात्रै काम गर्न पाउनुभयो ।”
उहाँले नेता भण्डारी शताब्दी नायक भएको भन्नुहुँदै नेपाली राजनीतिमा छोटो समयमा मरणोपरान्त छाप छोड्न सफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ स्वरुप दिनुभयो । कम्युनिष्ट भन्ने बित्तिकै हिंसा गर्ने, एक दलीय हो भन्ने बुझाइ थियो ।कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक जगमा उभ्याउनुभयो ।”
सङ्घर्षको स्वरुप परिस्थितीजन्य हुने एवमु शान्तिपूर्णरुपमा देशका जनतालाई गोलबद्ध गर्ने, २०४६ सालको जनआन्दोलनको सफल अगुवा एवम् प्रयागकर्ता, लोकतन्त्र केबल औपचारिकतामा मात्र सिमित नभइ यसले जनताको जीवन बदल्नुपर्ने एवम् प्रगतिशील राष्ट्रवादी नेताका रुपमा जननेता भण्डारीलाई बुझ्नुपर्ने उहाँको भनाइ छ ।
स्वर्गीय भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तले बहुदलीय खुला समाजको उल्लेख गरेको उहाँले बताउनुभयो । उहाँले समाजवादी देशमा बहुलतालाई निषेध गर्न नहुने तथा समाज जस्तो छ, त्यही रुपमा प्रकट हुनुपर्ने धारणा राख्नुभयो ।
पूर्वमन्त्री एवम् एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले जननेता भण्डारी एमालेको मात्र नभइ सिङ्गो देशका जनताको ढुकढुकी बन्न सफल हुनुभएको बताउनुभयो ।
उहाँले एक हिसाबले राजनीतिक परिवर्तन भएपनि सामाजिक र आर्थिक रुपान्तरण जबजको मुख्य दायित्व भएको भनाइ राख्नुभयो ।
थापाले भन्नुभयो, “जननेता मदन भण्डारी नेकपा (एमाले) को मात्र होइन, सिङ्गो जनताको ढुकढुकी बनेको नेता हुनुहुन्थ्यो । उहाँले देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि निकै मसिनो ढङ्गले जबज लेखिरहनुहुँदा २०४९ सालमा जबज कार्यक्रम पारित गरिरहँदा देशमा राजनीतिक परवर्तन भएपनि प्रमुख दायित्व आर्थिक, सामाजिक परिवर्तन हो भन्नुहुन्थ्यो ।”
उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक एवम् बहुभौगोलिक देश रहेको विषयमा जोड दिनुभयो ।
कार्यक्रममा जनकलाकारद्वय लक्ष्मी गुरुङ र रमेश अर्याललाई सम्मान गरिएको छ ।
यसैगरी, कार्यक्रममा देउडा, थारु, तामाङ, नेवारी, मैथली, पूर्वेली संस्कृति झल्कने गायन प्रस्तुत गरिएको थियो ।