काठमाडौँ, असार २८ गते । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिमध्ये कसैले सोखले त कसैले बाध्यताले वैकल्पिक पेसा अपनाइरहेका छन् । कोही आर्थिक अवस्था बलियो बनाउन त कोही आफ्नो रुचिको सपना पूरा गर्न वैकल्पिक पेसातर्फ आकर्षित भएका छन् ।
वैकल्पिक पेसा अपनाउनेमा नेपाली गीत/सङ्गीत, चलचित्र र रङ्गमञ्चका कलाकार पनि देखिन्छन् । कुनै समय आर्थिक अवस्था बलियो बनाउन कलाकारले विदेशलाई विकल्प बनाएका थिए भने केहीले स्वदेशमै बसरे अन्य पेसा, व्यवसाय अपनाएका थिए । कलाकारले फर्निचर उद्योगदेखि रेस्टुरेन्ट, बुटिकदेखि जग्गाको व्यापारसम्म गर्न भ्याएका छन् । यतिबेला भने रेस्टुरेन्ट व्यवसायमा कलाकारको लगानी बढ्दो छ । चल्तीका रुचाइएका कलाकार पनि यो पेसामा सक्रिय छन । आफ्नो ‘स्टारडम’ लाई प्रयोग गरेर उनीहरूले आफ्नो व्यवसायलाई सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।
अभिनेतृ वर्षा राउत र उहाँका श्रीमान् सन्जोग कोइराला कलाकारितामा जमेको नाम हो । अभिनयसँगै वर्षाले ‘चिया अड्डा’ सञ्चालन गरेर सर्वसाधारणलाई चियाको स्वाद पस्कनु भएको छ । अहिले नायिका श्वेता खड्का अभिनयमा कम व्यवसायमा बढी सक्रिय देखिन थाल्नुभएको छ । श्वेताले काठमाडौँमा हिमालयन जाभा कफी सप सञ्चालन गर्दै आउनुभएको छ । गायिका सुनिता दुलाल पनि आफ्नो गायकीसँगै वैकल्पिक पेसामा रमाइरहनुभएको छ । उहाँले डालो नामक फास्टफु्ड सञ्चालन गर्दै आउनु्भएको छ । अभिनेतृ पुजा शर्माले चलचित्रमा सोचे जस्तो सफलता पाउन नसकेपछि वैकल्पिक पेसालाई पनि सँगै अँगाल्नुभएको छ । उहाँ यतिबेला रेस्टुरेन्ट व्यवसायमा सक्रिय हुनुहुन्छ । बालकलाकार हुँदै चलचित्रमा पहिचान बनाउनुभएका अभिनेता सलोन बस्नेतले काठमाडौँको दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ । उहाँले रेस्टुरन्टमा आफ्नो मात्र नभई संयुक्त लगानी रहेकाले खासै समय दिनु नपर्ने बताउनुभयो । कलाकारितामा ‘मिटिङ र सिटिङ’ धेरै हुने हुनाले सबैलाई बस्न सजिलो हुने भएकाले पनि यो सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । चलचित्रमा पारिश्रमिक राम्रो नपाएर वा चलचित्रमा बेरोजगार भएर रेस्टुरेन्ट सञ्चालनमा नल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
निर्देशक केपी पाठक यस्तो व्यवसायलाई ग्लोबल ट्रेन्डको संज्ञा दिनुहुन्छ । उहाँका अनुसार बाहिर पनि कलाकारले ठुला व्यवसायमा हात हालेका छन् । कलाकारले मनग्गे पैसा कमाउन थालेपछि त्यसको सदुपयोग गर्न अन्य व्यवसाय समातेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “कला क्षेत्रमा चलचित्र सधैँ चल्छ भन्ने हुँदैन । कहिले चल्छ कहिले चल्दैन । आफ्नो भविष्य सुनिश्चित होला, नहोला भन्ने हिसाबले पनि अन्य व्यवसाय अपनाएको हुन सक्छ ।”
कतिपयमा आफ्नो ‘ब्रान्ड’ चलेको समयमा व्यवसाय गरौँ भन्ने महत्वाकाङ्क्षा पनि जागेको हुन सक्छ । असुरक्षित भविष्यले मात्र नभएर आफ्नो रुचि र लगानी फैलाउनका लागि पनि अन्य व्यवसाय अपनाएको हुन सक्ने उहाँ बताउनुहुन्छ । अर्का निर्देशक ज्ञानेन्द्र देउजा भन्नुहुन्छ, “सधैँभरि कलाकारिताले नै धानिन्छ भन्ने छैन । त्यसैले अन्य व्यवसाय गर्नु परेको हो ।” उहाँका अनुसार यहाँ हरेक शुक्रबार कलाकारको भाग्य निर्माण हुन्छ । कलाकार चलचित्रबाट मात्र सुरक्षित हुने नदेखिएपछि अन्य व्यवसाय अपनाउन परेको उहाँको भनाइ छ ।