अनिल पराजुली
हेटौँडा, असार २८ गते । मकवानपुरको इन्द्रसरोवरको सिम्लाङ खोलामा पौडी खेल्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बारा कलैया उपमहानगरपालिका –१ घर भई हाल काठमाडौँ माइतीघर बस्ने १८ वर्षीय प्रणय गुप्ताको पौडी खेल्ने क्रममा शनिवार दिउँसो इन्द्रसरोवर–१, सिम्लाङ खोलामा डुबेर मृत्यु भएको हो ।
साथीहरूसँग मार्खु घुम्न आएका गुप्ता शनिवार दिउँसो साढे ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले शनिवार साँझ साढे ६ बजेको समयमा गुप्ताको शव खोलाबाट निकालेको उहाँले बताउनुभयो । गुप्ता ललितपुरस्थित युनाइटेड कलेजमा कक्षा १२ मा अध्ययनरत रहेको बताइएको छ ।