• १७ असार २०८१, सोमबार

वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइनबाट : परराष्ट्रमन्त्री श्रेष्ठ

blog

विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा धारणा राख्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिरः परराष्ट्रमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार १५ गते। वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गतेदेखि पूर्णरुपमा अनलाइनमार्फत् हुने भएको छ।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुख तथा कर्मचारीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्था बारे स्पष्ट पार्नु भएको हो।

नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेस गरेको आवश्यक कागजात साउन १ गतेदेखि अनलाइनमार्फत प्रमाणीकरण हुने भएकोले सेवाप्रवाह समयानुकूल एवम् चुस्त हुने भएको छ।

सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा सेवालाई आबद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो।

खाडी मुलुक एवं मलेसिया लगायत नेपाली कामदार माग हुने अन्य देशमा रहेका नेपाली राजदूतावासले साउन १ गतेदेखि मागपत्र प्रमाणीकरण अनिवार्यरुपमा अनलाइनमार्फत् गर्नुपर्नेछ।  

परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो। अनिवार्य रूपमा लागू गर्नु अघि नै नयाँ प्रणालीसँग अभ्यस्त हुनका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ।’’

परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकको खोज, उद्धार, मृतको शव ल्याउने, राहत, क्षतिपूर्ति, गुनासो सम्बोधन लगायतका अनलाइन  सेवालाई सबै नियोगले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न निर्देशन दिनुभयो।