• १९ असार २०८१, बुधबार

खुल्यो मोनालिसाको रहस्य

blog

मोनालिसा विश्वकै प्रसिद्ध चित्रकला हो । यो चित्र कहाँ बनाइएको थियो भन्ने विषय लामो समयसम्म रहस्यमा रह्यो । पाँच सय वर्षपछि यसको रहस्योद्घाटन भएको छ ।

कलाकार लिओनार्दो दा भिन्चीले बनाएको यो चित्र मोनालिसाको रहस्यमय मुस्कानका लागि परिचित छ । भूगर्भविद् तथा पुनर्जागरणकालीन कलासम्बन्धी इतिहासकार एन पिज्जोरुस्सोले यो चित्र कहाँ बनाइएको थियो भन्ने रहस्य आफूले पत्ता लगाएको दाबी गरेकी छन् ।

चित्रमा अङ्कित भूदृश्य चिन्न उनले आफ्नो विशेषज्ञता प्रयोग गरेकी छन् । चित्रमा चौधौँ शताब्दीको पुल देखिन्छ । त्यसले यो चित्र लम्बार्डी क्षेत्रको कमो तालको किनारामा अवस्थित इटालेली शहर लेक्कोको पृष्ठभूमिमा बनाइएको सङ्केत गर्छ ।

उनले लियोनार्दोलाई कलाकारका रूपमा मात्र नभई एक महान् भूगर्भविद्का रूपमा पनि अथ्र्याएकी छन् । “तपाईंले उनका कुनै पनि चित्र हेर्नुभयो भने त्यहाँ चट्टान वा वनस्पतिविज्ञान पाउनुहुन्छ । ती पूर्ण रूपमा प्राकृतिक छन् । तिनलाई पूर्ण रूपमा चिन्न सकिन्छ । त्यो उनको विशेषता हो,” उनी भन्छिन् ।

पिज्जोरुस्सोले लियोनार्दोका पाइला पछ्याउँदै उनी पाँच सय वर्षअघि गएका स्थानहरू पत्ता लगाइएको बताइन् । वर्षौंदेखि कलासम्बन्धी इतिहासकारहरूले मोनालिसाको चित्रमा रहेको पुलको पहिचान गर्ने प्रयास गरिरहेका छन् । इटलीका धेरै शहरमा त्यस्ता पुल थिए । पिज्जोरुस्सोले मोनालिसाको भौगोलिक विशेषतालाई उत्तरी इटलीको कमो तालको किनारमा रहेको शहर लेक्कोसँग दाँजेर विश्वप्रसिद्ध चित्रकला त्यहाँ बनाइएको दाबी गरिन् ।