हनुमानढोका भन्नेबित्तिकै काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरू प्रायः ‘नेपाल प्रहरी’ सम्झन्छन् । तथापि पूर्ववत् प्रहरी कार्यालय त्यहाँ छैन, तैपनि जनबोलीमा अझै पनि ‘हनुमानढोका प्रहरी’ झुन्डिएकै छ । प्राचीन कालमा उपत्यकाका पाटन, भक्तपुर दरबारहरूमध्ये हनुमानढोका दरबारलाई शक्तिशाली मानिथ्यो । हाल वसन्तपुर हनुमानढोका दरबार सङ्ग्रहालय रहेको क्षेत्रमा एउटा जीर्ण भवन देखिन्छ । २०७२ सालको भूकम्पले जीर्ण बनेको त्यो भवन उपत्यकामा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानका लागि प्रख्यात थियो ।
उच्च प्रहरी अधिकारी हनुमानढोका प्रहरी प्रमुख भएर काम गर्नुलाई गौरव र शक्तिशाली मान्दथे । पीडितले पीडकलाई हनुमानढोका हिरासतमा थुनाउँदा न्याय पाएको अनुभूति गर्थे । जीर्ण अवस्थाको त्यो तीनतले भवनको भुइँ र पहिलो तलामा हिरासत, तेस्रो तलामा जिल्ला प्रहरी प्रमुखसहितको कार्यालय तथा चौथो तलामा उपत्यका अपराध अनुसन्धान महाशाखा रहेको थियो ।
दुइटै प्रहरी कार्यालय एकै स्थानमा भएकाले पनि काठमाडौँको शान्ति सुरक्षा मात्र नभई उपत्यकाको अपराध अनुसन्धान कार्य प्रभावकारी बनेको थियो । अन्य जिल्लामा बसोबास गर्नेहरूले पनि प्रहरी भनेपछि हनुमानढोकालाई नै सम्झने गर्थे ।
यो दरबारक्षेत्र ऐतिहासिक एवं पुरातात्विक कला, धार्मिक एवं सांस्कृतिक सभ्याताको अद्भुत नमुना मानिन्छ । त्यहाँ करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको शताब्दी पुरानो हनुमानढोका प्रहरी भवन अहिले भने अलपत्र अवस्थामा छ ।
प्रहरी सङ्ग्रहालय कि पोखरी
जीर्ण भवन भत्काएर सुन्दर पोखरी बनाउनेदेखि पुनर्निर्माण गरी सङ्ग्रहालय बनाउनेसम्मको बहस नचलेको होइन । काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारी त्यहाँ कलात्मक शैलीको पोखरी बनाउने कि भनेर छलफल भएको बताउँछन् ।
तर भवन रहेको जग्गा प्रहरी सङ्गठनकै नाममा दर्ता भएकाले त्यो काम अगाडि बढ्न सकेन, उहाँले भन्नुभयो, “मन्दिरै मन्दिरको बिचमा जीर्ण भवन जोखिमसँगै अशोभनीय देखिएको छ । अब व्यवस्थित गर्नु पर्छ ।”
भूकम्प गएको एक दशक पुग्दासम्म यस भवनको अवस्था जस्ताको त्यस्तै छ । यहाँ रहेका ‘जिल्ला प्रहरीपरिसर काठमाडौँ’ भद्रकालीमा र उपत्यका अपराध अनुसन्धान महाशाखा टेकुमा सारिसकेका छन् ।
सडकबिचमा रहेको चर्चित शक्तिपीठ कालभैरव मन्दिरको ठिकअगाडिको त्यो जीर्ण भवनलाई भत्काएर प्रहरी सङ्ग्रहालय बनाउने निर्णय भइसकेको तर बजेट अभावमा काम अगाडि बढ्न नसकेको भनाइ प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेको छ ।
तत्कालीन अवस्थामा विधिको शासन र कानुनी राज्य स्थापित गर्ने कार्यका लागि यो भवन शक्तिशाली नै थियो । प्रजातन्त्रको उदय हुनुअगावै त्यहाँ कोतवाली (राणाकालको प्रहरी) रहेको जानकार बताउँछन् ।
२०१२ सालपछि क्षेत्रीय प्रहरी एकाइ कार्यालय स्थापनापछि हनुमानढोका प्रहरी अधिक चर्चामा रह्यो । राजभण्डारीको भनाइमा यसको ऐतिहासिक एवं पुरातात्विक महत्व नहराउने गरी काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र प्रहरी सङ्गठनको सहकार्यमा प्रहरी सङ्ग्रहालय बन्ने छ ।
कालभैरव जस्तै शक्तिशाली प्रहरी
पहिले हनुमानढोकाबाट फोन जानेबित्तिकै कतिपयले ‘मैले के अपराध गरे छु’ भनेर सोच्न बाध्य हुन्थे । कतिसम्म भने प्रहरी कार्यालयभित्र छिर्नुअगाडि प्रायःले काल भैरवलाई ढोग्ने गर्थे । आफूले गरेको अपराध क्षम्य होस् र प्रहरीको फन्दामा पर्नु नपरोस् भन्ने अपेक्षा उनीहरूको हुन्थ्यो ।
उपत्यकाको तीन वटै जिल्ला हेर्ने क्षेत्रीय प्रहरी एकाइ कार्यालय, त्यसपछि जिल्ला प्रहरी, उपत्यकाका अपराध अनुसन्धान कार्यालय हुँदै, महानगरीय प्रहरीपरिसर काठमाडौँ र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको कार्यालय सोही भवनबाट सञ्चालनमा आएका थिए ।
विगतमा यतिसम्म कि हनुमानढोका प्रहरी कार्यालय प्रमुख भएर जानुलाई आइजिपी भएजत्तिकै शक्तिशाली मानिन्थ्यो । यहाँ हाकिम भएर आउन मरिमेट्नेले शक्ति केन्द्र धाउनेदेखि दानदक्षिणा बुझाउने गरेको टीकाटिप्पणी सुनिने गरेका थिए ।
–देवबहादुर कुँवर