• १३ चैत २०८२, शुक्रबार

शिक्षण संस्थाका विचित्र नाम

blog

तपाईंले पढ्नु भएको विद्यालयको नाम सम्झनुहोस् त ! लामो थियो ? वा छोटो ? कतिपय विद्यालयको नाम निकै लामा छन् । स्थापना हुँदा ती विद्यालयको नाम छोटो नै थिए । चन्दादाता वा विद्यालय स्थापना गर्दा योगदान गरेका वा स्थानीय प्रसिद्ध व्यक्तिको नाम पनि जोड्न थालेपछि नाम लामो हुन पुगेका हुन् । राज्यले नै चन्दा प्रदान गरेपछि दाताको नाम विद्यालयको नामसँग जोड्ने नीति अवलम्बन गरेको छ । यसले गर्दा पनि विद्यालयको नाम लामो हुन पुगेको भन्न सकिन्छ ।

सप्तरीको कल्याणपुरस्थित ‘भवानीप्रसाद सकलप्रसाद रामप्रसाद जनता माध्यमिक विद्यालय’ नाम देख्दा धेरैलाई अनौठो लाग्न सक्छ । पहिले ‘जनता माध्यमिक विद्यालय’ नाम रहेको सो विद्यालयको नामका अगाडि भवानीप्रसाद सकलप्रसाद रामप्रसाद नाम जोडियो ।

खोज्दै जाँदा यस्ता थुप्रै उदाहरण फेला पार्न सकिन्छ । नेपालमा सबैभन्दा बढी विद्यार्थी भएका १० वटा विद्यालयभित्र पर्ने रुपन्देहीको बुटवलमा रहेको ‘नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय’ पनि लामो नाम भएको विद्यालयमा पर्छ । 

पर्साको वीरगन्जमा अवस्थित ‘त्रिजुद्ध महावीरप्रसाद रघुवीर राम माध्यमिक विद्यालय’ पनि लामो नाम रहेको विद्यालयमा गनिन्छ । विसं २००३ मा स्थापित यो विद्यालयको सुरुको नाम ‘त्रिजुद्ध स्कुल’ थियो । 

चितवनको शुक्रनगरमा रहेको ‘जनज्योति पद्मनारायण धर्मकुमारी मल्ल माध्यमिक विद्यालय’ पनि लामो नामधारी विद्यालयका रूपमा चर्चित छ । यसको नामको बीचमा रहेको मानिसको नाममा पछि व्यक्तिको नाम जोडिएको हो भन्ने प्रस्ट हुन्छ ।

गुल्मीको परमानन्द नगरमा रहेको ‘जोहाङ रन्जितप्रसाद लालचन रुद्रावती माध्यमिक विद्यालय’ को नाम पनि लामोमध्येमै पर्छ । लामा नाम रहेका शिक्षण संस्थाको फेहरिस्तमा सिराहाको तलेश्वरमा रहेको ‘सूर्यनारायण सत्यनारायण मरवेता यादव बहुमुखी क्याम्पस’ को नाम पनि छोड्न मिल्दैन ।

धनुषा झटियाहीको ‘मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक’ पनि लामो नाम भएका विद्यालयमध्ये पर्छ । सर्लाही हरिपुरको ‘पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालय’ पनि लामै नाम भएकाको सूचीमा पर्छ ।

धनुषाको ‘सङ्कटमोचन देवशरण रामरती माध्यमिक विद्यालय’, ‘जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय’, सर्लाहीको ‘महेन्द्ररत्न जगरनाथ लक्ष्मीनिया माध्यमिक विद्यालय’, धनुषाको ‘वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालय’, सुनसरीको ‘जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय,’ रुपन्देहीको ‘रामनरेश यादव माध्यमिक विद्यालय’, सर्लाहीको ‘श्रीमती कृष्णदेवी जनता माध्यमिक विद्यालय’, सिराहाको ‘लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय’, पर्साको ‘राधाकृष्ण चौरसिया माध्यमिक विद्यालय’, सिराहाको ‘नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालय’, सिराहाको ‘जनता डोमी चौधरी माध्यमिक विद्यालय’, सिराहाको ‘व्रजमोहन झाम्बुराम जनता माध्यमिक विद्यालय’, डोटीको ‘पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय’, सिराहाको ‘लखन मण्डल जनता माध्यमिक विद्यालय’, बर्दियाको ‘बगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय’ पनि लामो नाम भएका विद्यालयमा पर्छन् ।


यस्तै सिराहाको ‘रमा महन्थी यादव जनता माध्यमिक विद्यालय’, रौतहटको ‘विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय’, सर्लाहीको ‘राम सखी मोहित सिंह जनता माध्यमिक विद्यालय’, कपिलवस्तुको ‘छत्रपाली तीर्था देवी माध्यमिक विद्यालय’, बाराको ‘फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय’, धनुषाको ‘जगरूप साह रामपुकार साह माध्यमिक विद्यालय’, सिराहाको ‘गोपाल सरयुग नायक जनता माध्यमिक विद्यालय’, सर्लाहीको ‘सरस्वती अमरेश बाबुनन्दन सिंह माध्यमिक विद्यालय’, रुपन्देहीको ‘मसिना बाबा नरेन्द्र पुरी मोगलाहा माध्यमिक विद्यालय’, पर्साको ‘महानन्दप्रसाद उपाध्याय माध्यमिक विद्यालय’, कपिलवस्तुको ‘लौटन राम दौपदी देवी माध्यमिक विद्यालय’, चितवनको ‘हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय’, सप्तरीको ‘ईश्वरी हिया सुरैत जलेबी जनता माध्यमिक विद्यालय’, सप्तरीको ‘राजजी तुलसीलाल जोन्छे जनता माध्यमिक विद्यालय’ समेत लामा नाम भएका विद्यालय हुन् ।

शिक्षा नियमावलीमा समाज तथा राष्ट्रलाई उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न सकिने स्पष्ट उल्लेख छ तर यसबीचमा कतिपयले विदेशी वा अङ्ग्रेजीबाट पनि विद्यालयको नामकरण गरे । दुई वर्षअघि काठमाडौँ महानगरपालिकाले विदेशी नाम हटाउन उर्दी नै दिएको थियो । त्यसबीचमा कतिपयले त्यस्ता नाम परिवर्तन गरी नेपालीपन झल्किने नामकरण गरे तर  त्यसरी विगतमा सच्याएकाले पुनः पुरानै नाम कायम गरेको पाइएको छ ।

शिक्षा नियमावलीले विद्यालयको नामकरण आफ्नो नामबाट गर्न चाहेको व्यक्तिले रकम वा घर वा जग्गा विद्यालयलाई सहयोग गरेमा सो अनुसार गर्न मिल्ने व्यवस्था पनि गरेको छ । 

नियमावलीले माध्यमिक विद्यालयका लागि ३५ लाख रुपियाँ वा सो बराबरको घर वा जग्गा, निम्न माध्यमिक विद्यालयका लागि २० लाख रुपियाँ वा सो बराबरको घर वा जग्गा र प्राथमिक विद्यालयको लागि १० लाख रुपियाँ वा सो बराबरको घर वा जग्गा दिनुपर्ने स्पष्ट गरेको छ । 

महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयले माथि उल्लेखित रकम वा सम्पत्तिको दोब्बर रकम वा सो बराबरको घर वा जग्गा तथा नगरपालिका क्षेत्रभित्रका विद्यालयले २५ प्रतिशत थप रकम वा सो बराबरको घर वा जग्गा विद्यालयलाई सहयोग गर्नुपर्ने व्यवस्था रहेको छ ।

एउटै परिवार वा छुट्टाछुट्टै परिवारका एकभन्दा बढी व्यक्तिले रकम वा घर वा जग्गा विद्यालयलाई प्रदान गरेमा बढीमा दुई जनासम्मको नामबाट विद्यालयको नामकरण गर्न सकिने व्यवस्था रहेको छ तर कुनै व्यक्ति, स्मारक वा ऐतिहासिक चिजवस्तुको नामबाट विद्यालयको नामकरण भएको विद्यालयलाई रकम वा घर वा जग्गा सहयोग गरे पनि नाम परिवर्तन गर्न नमिल्ने व्यवस्था शिक्षा नियमावलीले गरेको छ । विद्यालयको नामकरणको निर्णय जिल्ला शिक्षा समितिको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने व्यवस्था छ । 

–युवामञ्च