पोखरी परिसरमा सिमेन्टको प्रयोग गरिएको छैन । बालुवा, इँटा, माटो, सुर्की र चुनाको प्रयोग गरिएको छ । कम पानी सोस्ने गुण भएकाले ठिमीको कालो माटो ल्याइएको छ । पोखरीमा चार इन्च बालुवा राखिएको छ भने त्यसमाथि १० इन्च कालो माटो र त्यसमाथि इँटा छापिएको छ ।
स्मरण गरौँ– विक्रम संवत् १९९० को महाभूकम्प । ललितपुर मङ्गलबजारको कोतमा रहेको पाटन स्कुल (हाल : पाटन मावि) को भवन पनि क्षतिग्रस्त भयो । लगनखेलको पोखरीका डिलमा बाँस र परालको टहरा बनाई स्कुल सारियो । तीन वर्षसम्म त्यसै स्थानमा स्कुल रह्यो । पाटनढोकामा जग्गा प्राप्ति गरी १९९३ सालमा स्कुल स्थानान्तरण गरियो । प्रसङ्ग स्कुल वा भूकम्पको होइन; लगनखेलका दुई पोखरीको हो– सप्तपाताल र कमलपोखरी । त्यतिबेला पाटन स्कुलले अस्थायी रूपमा मात्र पोखरी क्षेत्र अतिक्रमण गरेको थियो ।
लगनखेल अर्थात् नेवारीमा ‘ल गः ख्य’ अर्थात् पानी जम्ने चौर । लगनखेलमा ठुला चार वटा पोखरी थिए–
‘पलेस्वाः पुखु’ अर्थात् कमलपोखरी, त्योसँग जोडिएको अर्को सानो पोखरी, सप्तपातालपोखरी र केही पर ‘न्हुपुखु’ अर्थात् नयाँ पोखरी । लगनखेल चोकबाट नेपाल विद्युत् प्राधिकरणतर्फ जाने बाटोमा देख्न सकिन्छ– न्हुपुखु । न्हुपुखुलाई हात्ती डुब्ने पोखरी पनि भनिन्थ्यो । हाल राजदल गण र पाटन औद्योगिक क्षेत्र रहेको स्थान जोडिएको बडेमानको चौर थियो । ठाउँ ठाउँमा ससाना पोखरी वा खाल्डा थिए । अधिकांश स्थान त नर्कटको झाडी थियो । दिउँसै स्याल कराउँथ्यो । एकान्त भएकाले सातदोबाटो (पुरानो नाम गुल्खुटोल) बाट लगनखेलतर्फ आउँदा दिउँसै डराउँथे मानिस । त्यसमाथि कमलपोखरी र सप्तपाताल पोखरीमा भूत आउँछ भन्ने डर छँदै थियो ।
सिँचाइ विशेषज्ञ प्राडा प्रचण्ड प्रधान भन्नुहुन्छ, “सप्तपातालतिर मानिस जान डराउँथे रे । पोखरीले मानिसलाई तान्छ भन्थे । पोखरीलाई मानिसले हस्तक्षेप नगरून् भनेर पनि त्यसरी त्रास दिइएको होला ।” पानीदेखि डराउने रोग भएका मानिस पोखरीनजिक जाँदा पानीमा खस्ने सम्भावना भएकाले पनि त्यस्तो त्रास दिइएको हुन सक्थ्यो । त्रास पछिसम्म थियो ।
त्रिपद्म, कन्या निकेतनलगायत ललितपुरका स्कुलका आफ्नै खेलमैदान थिएन । स्कुल तहमा विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना भइरहन्थ्यो । स्कुलले हरेक शुक्रबार आफ्ना विद्यार्थीलाई खेलाउन हाल राजदल गण रहेको चौरमा लैजान्थे । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन त्यसबेलाको स्मरण गर्नुहुन्छ, “राजदलले चर्चिनुअघि खेलमैदान थियो । त्रिपद्म स्कुलका हामी विद्यार्थी हरेक शुक्रबार भकुन्डो लिएर जान्थ्यौँ । अन्तरस्कुल खेलकुद प्रतियोगिता त्यहीँ आयोजना हुन्थ्यो । हामी भाग लिन्थ्यौँ ।”
कमलपोखरीमा थरी थरीका कमलका फूल हुन्थे । खेलकुदपछि कमलपोखरीमा विद्यार्थी पौडी खेल्थे । महानगर प्रमुख महर्जन सम्झनुहुन्छ, “कमल हिलोमा मात्र फुल्दैन, सफा पानीमा पनि फुल्छ । कमलपोखरी सफा थियो । त्यसमा हामी पौडी खेल्थ्यौँ ।” त्यो बेला सालको पात गाँसेर बनाइएका दुना टपरीको चलन कम हुन्थ्यो । नेवार समुदायमा कमलको पातै प्रयोग हुन्थ्यो । कमलको आधा वा पूरा पातमा खानेकुरा राखेर भोज खाने चलन हुन्थ्यो । ललितपुरका बासिन्दा भोजका लागि कमलपोखरी र नागदहमा सप्रिएका कमलका पात प्रयोग गर्थे । पोडे जातिले सानो डुङ्गामा चढेर कमलको फूल र पात टिप्थे । तिनलाई बिक्री गर्थे । भोज वा पूजाआजामा कमलको पात चल्थ्यो ।
सैनिक इतिहासकार मोहन थापाका अनुसार विसं १९०१ मा राजा राजेन्द्रका बेला राजदल पल्टन स्थापना गरिएको थियो । त्रिपुरेश्वरमा रहेको पल्टनले राणाकालभरि तोपखानाको काम गर्यो । २०१२ सालमा पल्टनको ‘माउन्टेन्ट ब्याट्री’ नामकरण गरियो । २०२३ सालमा पुनः राजदल नामकरण गरियो र २०२६ सालमा त्रिपुरेश्वरबाट लगनखेलमा सारियो । राजदलले त्यहाँको धेरै भूमि चर्चियो । कमलपोखरी पनि आफ्नो हातामा पार्न सफल भएको राजदलले त्यस पोखरीमा कुनै समयमा माछा, हाँस र बङ्गुरपालनसमेत गरेको थियो । कमलपोखरीको क्षेत्रफल ३० रोपनी छ ।
२००८ साल मङ्सिर २१ गते स्थापित मच्छिन्द्र इन्स्टिच्युट (हाल : नमुना मच्छिन्द्र मावि) लाई महाभूकम्पपछि पाटन स्कुल अस्थायी रूपमा राखिएकै स्थानमा राखियो । २०३३ सालताका नमुना मच्छिन्द्र माविसँग जोडिएर नमुना मच्छिन्द्र आवासीय मावि नाम गरेको नयाँ स्कुल पनि खुल्यो । ठ्याक्कै देखिने गरी सप्तपाताल पोखरीको अतिक्रमण त्यहीँबाट सुरु भयो । त्यस स्कुलले १४ रोपनी १० आना जग्गा अतिक्रमण गरी आफ्नो नाममा लालपुर्जा लिन सफल पनि भयो ।
त्यसपछि विभिन्न सरकारी निकाय त्यस क्षेत्रमा ल्याइए । बडेमानका भवन निर्माण गरिए । त्यसबिचमा स्कुलले आयआर्जनका लागि भन्दै सप्तपाताल पोखरीमै पसल निर्माणको योजना अघि सार्यो । लहरै ३३ वटा कोठा निर्माण गर्न पिल्लर उठाइयो । सम्पदाप्रेमीका तर्फबाट सो कार्यको व्यापक विरोध भयो । शिक्षाको विकास भन्दै स्कुल पछाडि हट्नेवाला थिएन । उता स्कुलले २२ करोड रुपियाँमा भवन निर्माण गर्ने भनी नक्सा तयार गर्यो । ललितपुर महानगरपालिकाले भवन निर्माणका लागि नक्सासमेत स्वीकृत गरिदियो ।
सप्तपाताल साँच्चिकै पातालमा पुग्ने स्थितिलाई कसैले रोक्न सक्नेवाला थिएन । ठिक त्यसैबेला स्थानीय बासिन्दा पूर्ण स्थापितले विरोधको आवाज उठाउन थाल्नुभयो । लगनखेल वातावरण सुधार संस्था स्थापना गर्नुभयो । सार्वजनिक जग्गा अतिक्रमण हुनबाट रोक्न उहाँ सर्वाेच्च अदालतको ढोका ढकढक्याउन पुग्नुभयो । उहाँले ऐतिहासिक तथा सांस्कृतिक पोखरी भएकाले स्कुलले तयार पारेको नक्सा बदर गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा २०६१ सालमा रिट दायर गर्नुभयो । सुरुमा स्थानीय हरेक घरधुरीबाट एक हजार रुपियाँ उठाउनुभयो ।
“सप्तपाताल पोखरीको अस्तित्वलाई स्कुलले निर्माण गर्न लागेको डिपार्टमेन्ट स्टोरले सक्ने भयो भन्ने लाग्यो । स्कुलले भवन बनाउन शिलान्यास गरेकै दिन त्यहाँ पोखरी नै राख्नु पर्छ भन्ने मेरो मनमा विचार उब्जियो,” स्थानीय पूर्ण स्थापित भन्नुहुन्छ, “टोलवासीलाई जगाएँ । चन्दा उठाएर मुद्दामामिला गर्नु पर्छ भन्ने ठहर गरेँ । थोरै रकम स्थानीय बासिन्दाबाट उठाएँ । पछि त १० जना वकिललाई पारिश्रमिक उपलब्ध गराउन आफैँले खर्च गरेँ । लाखौँ लाख रुपियाँ व्यक्तिगत खर्च गरेँ ।”
अदालतले २०७६ असार ३ गते स्थानीयको पक्षमा फैसला गरिदियो । अन्ततः लामो समयदेखिको लडाइँको अन्त्य भयो । महानगर प्रमुख महर्जनले रिटकर्ता स्थापितलाई कार्यालयमा बोलाएर भन्नुभयो, “यत्तिका वर्षसम्म लड्नुभयो, जिताउनुभयो, धन्यवाद । अब तपाईं आराम गर्नुहोस्, संरक्षणका बाँकी काम हामी गर्छौं ।” उहाँले योजना बनाउन थाल्नुभयो । बन्यो । कार्यान्वयन सुरु गरियो । यस क्रममा उहाँले नेपाली सेनाका तत्कालीन प्रमुख पूर्णचन्द्र थापासँग कमलपोखरी क्षेत्र आफूहरूलाई हस्तान्तरण गर्न माग गर्नुभयो । सेनाले उहाँको अनुरोधलाई सहजै स्विकार्यो ।
सप्तपाताल र कमलपोखरी कहिले निर्माण भएका हुन् भन्न सकिँदैन । राजा अशोक भारतबाट लुम्बिनी आएका बखत चार वटा स्तूप पाटन सहरको बाहिर बनाइएका थिए । ती सबै ललितपुरमा छन् । वरपरको जमिनबाट माटो झिकी लगनखेलको अशोक स्तूप निर्माण गरियो । सम्भवतः माटो झिक्दा बनेको खाल्डोमा पछि पानी जमेर पोखरी बनेको हुनु पर्छ भन्ने मत पनि छ । पछि त्यहाँ टीकाभैरव मुहानबाट राजकुलो निर्माण गरी पानी ल्याइयो । ऊबेला पाटन सहरभित्र र बाहिर गरी करिब १२ वटा पोखरी थिए । जावलाखेलको सदर चिडियाखानाभित्रको पोखरी, कुमारीपाटीको पोखरी, पुल्चोकका तीन वटा पोखरी, पूर्णचण्डीको पोखरी, पिम्बहालको पोखरी, प्रयागपोखरीलगायत राजकुलोमै निर्भर थिए । ती पोखरीको पानीको मुख्य स्रोत कमलपोखरी, सप्तपाताल पोखरी र न्हु पोखरी थिए । पाटन क्षेत्रमा थुप्रै ढुङ्गेधारा निर्माण गरिए । ती धाराका स्रोत ती पोखरी थिए । सिँचाइ विशेषज्ञ डा. प्रचण्ड प्रधानका अनुसार टीकाभैरवको पानी सप्तपाताल र कमलपोखरीसम्म ल्याइन्थ्यो । त्यहाँ जम्मा भएको पानी सहरका अन्य पोखरी र ती पोखरी हुँदै ढुङ्गेधारामा रिचार्जको व्यवस्था मिलाइएको थियो । ललितपुरको दक्षिणतर्फ अग्लो र उत्तरतर्फ होचो भूमि छ । सहरका पोखरीमा भरिएका पानी सिँचाइका लागि बखुण्डोल, कुपण्डोल, ज्वागल, चाकुपाटलगायत स्थानमा पुर्याइन्थे ।
अशोक स्तूप निर्माण भएको करिब एक हजार वर्षपछि रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको जात्रा सकिएपछि मान्साहुटी यज्ञ गर्ने चलन चलाइयो । अशोक स्तूपको ठिक सामुन्नेको बटुक भैरव मन्दिरमा गोप्य विधिबाट यज्ञ गर्ने चलन यद्यपि छ । त्यहाँ एक जोडी भँगेरालाई आकाशमा छोडिन्छ । स्थानीय किरणकुमार स्थापितका अनुसार भँगेरामार्फत रातो मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी इन्द्रलोकसम्म पुर्याउने परम्परा रहँदै आएको छ ।
सो यज्ञलगत्तै लावालस्करसहित पानेजु आदि सप्तपाताल पोखरीमा आई एक जोडी जीवित माछा छोडिन्छ । रातो मच्छिन्द्रनाथको जात्रा सकिएको सन्देश पाताल लोकमा पुर्याउन माछालाई छोडिएको किंवदन्ती छ । केही वर्षअघिसम्म सप्तपाताल पोखरी सुकिसकेको थियो । माछा छाड्नुअघि खाल्डोमा परिणत भएको सप्तपाताल पोखरी रहेको स्थानमा ट्याङ्करबाट पानी हालिन्थ्यो । त्यसरी हालिएको पानी केही दिनमै सुकिसक्थ्यो ।
राजकुलो मर्मत प्रयास
राणाकालमा जनताले कुलो प्रयोग गरेबापत दस्तुर बुझाउनुपर्ने चलन थियो । कसैले घाँसको भारी राणा शासकको तबेलामा पुर्याउनुपथ्र्याे, कसैले दाउरा । टीकाभैरवदेखि कुलो बाँधेर ल्याइएको लिच्छविकालीन राजकुलोवरपरका बासिन्दाले दस्तुरबापत कुलोको सरसफाइ गर्नुपथ्र्याे । यस्तो कार्य प्रायः समूहलाई जिम्मा लगाइएको हुन्थ्यो । अर्थात् गुठीले सफाइलगायतको व्यवस्थापनको जिम्मा लिन्थ्यो ।
सप्तपाताल क्षेत्र अतिक्रमणले साँघुरिएपछि पाटनमा भूमिगत पानी वितरण प्रणाली तथा भूमिगत जलभण्डारको खानी पूर्णतः प्रभावित हुन पुग्यो । थुप्रै ढुङ्गेधारा सुके । पोखरी पनि मासिए । नासिए । २०१४ सालतिर सिँचाइ विभागले राजकुलो सुधारको काम गरेको थियो । त्यो बेला भारत सरकारले छ लाख ५० हजार रुपियाँ उपलब्ध गराएको थियो । चक्रपथ निर्माण गर्दा सातदोबाटोमा राजकुलो थुनिन पुग्यो । सडकमुनिबाट पानीको निकास त बनाइयो तर त्यो धेरै समयसम्म टिकाउ हुन सकेन । टीकाभैरवबाट बगेको पानी लगनखेलसम्म पुग्नै सकेन । २०६१ सालमा पनि भारतीय दूतवासको करिब तीन करोड रुपियाँको आर्थिक सहयोगमा राजकुलो मर्मत कार्य अघि बढाइएको थियो ।
ललितपुरका पुराना राजनीतिज्ञ सागरशमशेर राणाका अनुसार भारतीय दूतावासको सहयोगमा ठेचोसम्म राजकुलो मर्मत भएको थियो । सुनाकोठीसम्म ल्याउने योजना पूरा हुन सकेन । रकम सकियो । त्यसपछि राजनीति पनि हुन थाल्यो । स्थानीयस्तरमा समस्या उत्पन्न भयो । राजकुलो मर्मतले निरन्तरता पाएन ।
वातावरण तथा सम्पदा संरक्षण नेपाल नामक संस्थाको नेतृत्व सम्हाल्दा राजकुलो जीर्णोद्धारको अगुवाइ गर्नुभएका राणाका अनुसार ललितपुरका ४४ मध्ये ३६ वटा ढुङ्गेधाराको पानीको स्रोत टीकाभैरवकै राजकुलो हो । राजकुलो डेढ मिटर चौडा थियो । त्यो बेला हरिसिद्धिभन्दा माथि कोड्कुखोलामा पनि सिँचाइको व्यवस्था थियो । त्यसले इमाडोल र मटारसम्म सिँचाइ गथ्र्याे । त्यो बेला मुहानमा बाँसको घोचा, रुखका हाँगा र पात राखेर झालापाता तथा ढुङ्गाको प्रयोग गरी बाँध बाँधिन्थ्यो । बेलाबखतमा बाढीले दुःख दिन्थ्यो । राजदलका सैनिकले समेत बाँध बाँध्न सघाउँथे । ढिला खेती गर्दा मौसम प्रतिकूल हुने भएकाले घण्टाकर्णका दिनसम्म मात्र धान रोपाइँ गरिन्थ्यो । बाढीलगायतका कारण सिँचाइ सुविधा पुग्न नसक्दा रोपाइँ हुन नसक्दा राजदलले स्थानीय बासिन्दालाई केराउ दिने गरेको थियो । किसानले त्यही केराउ खेती गर्थे ।
फुल्ने छ कमल
टीकाभैरवदेखि सप्तपातालसम्मको राजकुलोको लम्बाइ १४.२ किलोमिटर छ । ललितपुर महानगरपालिकाले टीकाभैरवदेखि नै पानी सप्तपाताल पोखरी र कमलपोखरीसम्म ल्याउँदै छ । अशोक स्तुप र सेनाको पेट्रोलपम्पको बिचको खाल्डोमा ‘ट्रिटमेन्ट प्लान्ट’ स्थापना गरिँदै छ । टीकाभैरवदेखि ल्याइएको पानीलाई सुरुमा ‘ट्रिटमेन्ट प्लान्ट’ मा खसालिने छ । त्यसपछि कमलपोखरी र सप्तपाताल पोखरीमा पुर्याइने छ । विभिन्न संरचना निर्माण भएकाले अब पहिले जस्तो खुला रूपमा राजकुलो निर्माण सम्भव छैन । त्यसैले ‘ट्रिटमेन्ट प्लान्ट’ देखि ३.४४ किलोमिटरसम्म नौ इन्चको पाइप मुख्य सडकको बिचमा बिछ्याइसकिएको छ । त्यहाँदेखि बाङ्गेधारासम्म १.९७ किलोमिटर पाइप बिछ्याइँदै छ । त्यसपछिको क्षेत्र गोदावरी नगरपालिका पर्ने भएकाले बाँकी स्थानमा पाइप बिछ्याउने कार्य सो नगरपालिकालाई दिइएको छ । यसका लागि आवश्यक रकम ललितपुर महानगरपालिकाले गोदावरी नगरपालिकालाई उपलब्ध गराइसकेको छ ।
सप्तपाताल र कमलपोखरीमा पानीको व्यवस्था गर्ने, कमल फूल फुलाउने र हरियालीयुक्त बनाउन ललितपुर महानगरपालिकाले ‘ग्रिन एन्ड ब्लु फ्युजन प्रोजेक्ट’ अघि बढाएको छ । हरियालीलाई ‘ग्रिन’ र पानीलाई ‘ब्लु’ संज्ञा दिइएको छ । यो ४४ रोपनी क्षेत्रमा ६६७ मिटर पारदर्शी फलामे बार लगाइसकिएको छ । परियोजना सम्पन्न गर्दा करिब १३ करोड रुपियाँ खर्च हुने छ । पोखरीवरपर एकैप्रकारका रुख रोप्ने योजना छ । तीन वटा पाटी निर्माण गरिने छ । गुणस्तरमा समस्या नहोस् भनेर त्यहाँ प्रयोग भइरहेका हरेक सामग्रीको नियमित गुणस्तर परीक्षण गर्ने गरिएको छ । सप्तपाताल पोखरी वातावरण र प्रकृतिमैत्री बनाइँदै छ । उभयचर प्राणीलाई पोखरीभित्र र बाहिर आउजाउ गर्न सजिलो होस् भनेर भिरालो बनाइएको छ । पोखरी परिसरमा सिमेन्टको प्रयोग गरिएको छैन । बालुवा, इँटा, माटो, सुर्की र चुना प्रयोग गरिएको छ । कम पानी सोस्ने गुण भएकाले ठिमीको कालो माटो ल्याइएको छ । पोखरीमा चार इन्च बालुवा राखिएको छ भने त्यसमाथि १० इन्च कालो माटो र त्यसमाथि इँटा छापिएको छ । हाल इँटा छाप्ने काम भइरहेको सप्तपाताल पोखरीको निर्माण सम्पन्न भइसकेपछि दक्षिणतर्फ मानिसलाई आउजाउ गर्न दिइने छैन । स्थानीय किरणकुमारका अनुसार उभयचर प्राणीलाई ‘डिस्टर्ब’ नहोस् भनेर दक्षिणतर्फ जान पाइने छैन ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको योजना यस्तो छ, “अब हामी यहाँ चराको कुकु आवाज र जूनकीरीलाई फिर्ता ल्याउने छौँ । मेरो कार्यकाल सकिँदासम्ममा कमलको फूल फुलिसकेको हुने छ । भक्तपुरबाट कमलको बिरुवा ल्याइने छ । भक्तपुरका नगर प्रमुखसँग कमलको फूल माग गरिसकिएको छ ।”