• १७ मङ्सिर २०८२, बुधबार

एनपिएल : ब्याटिङमा विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

blog

मङ्गलबार कर्णाली याक्सविरुद्ध शतक प्रहार गर्नुभएका एडम म्याथ्यू रोसिङ्टन । एनपिएल

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ । 

पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन् । नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन् । जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक प्रहार गरे ।

कर्णाली याक्सविरुद्धको उक्त खेलमा उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उक्त खेलमा ५८ बल खेलेका उनी १०८ रनमा अविजित रहे । कर्णालीलाई ३४ रनले हराएको यो खेलमा एडम प्लेयर अफ दी म्याचसमेत घोषित भए । एडम इङ्ल्याण्डका हुन् ।

यस्तै कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा शतक हिर्काउने पहिलो खेलाडी हुन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४१ बलमा शतक बनाएका थिए ।

उक्त खेलमा ४४ बल खेलेका वाट ११४ रनमा अविजित रहे । यो खेल कर्णालीले ९ विकेटले जितेको थियो । वाट प्लेयर अफ दी म्याचसमेत चुनिए । एनपिएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने र एकै खेलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि वाट नै हुन् ।

एनपिएलको पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउसको नाममा छ । पोखराको टिममा आबद्ध गोउसले लुम्बिनीका विरुद्ध शतक जोडेका थिए  । गोउसले ५४ बलम शतक पूरा गरेका थिए । उक्त खेलमा उनले अविजित १०४ रन बनाए । 

अर्धशतकमा पनि विदेशीकै दबदबा

जारी प्रतियोगितामा हालसम्म २२ खेलाडीले  २६ अर्धशतक प्रहार गरेका छन् । यसमा १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् । नौ अर्धशतक मात्रै नेपाली खेलाडीले प्रहार गर्न सकेका छन् । 

अर्धशतक हिर्काउने विदेशी खेलाडीमा चितवन राइनोजका रवि बोपरा (तीन), कर्णाली याक्सका प्रियाङ्क पञ्चाल (दुई) तथा जनकपुर  बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति र  माज सदाकत, सुदूरपश्चिम रोयल्सका जोश ब्राउन र हरमित सिंह,  पोखराका सुमित बर्मा, जिमी निशम र एडम रोसिङ्टन, विराटनगर किंग्सका मार्टिन गुप्टिल, चितवनका डेविड मलान, कर्णालीका मार्क वाट तथा काठमान्डू  गोर्खाजका जोन सिम्प्सन (एक/एक)  छन् । 

अद्र्धशतक प्रहार गर्ने नेपाली खेलाडीमा पोखरा एभेन्जर्सका कप्तान  कुशल भुर्तेल (दुई) तथा सुदूरपश्चिमका  विनोद भण्डारी र ईशान पाण्डे, विराटनगर किंग्सका  लोकेश बम र बसिर अहमद,  चितवनका  अर्जुन  साउँद, जनकपुरका  अनिल शाह र  आशिफ शेखले (एक/एक) रहेका छन् । 

सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै रहेका छन् । एक्काइस खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा  पोखराका एडम रोसिङ्टन पहिलो नम्बरमा रहेका छन् । उनले हालसम्म पाँच खेलमा २५३ रन हिर्काएका छन् । 

दोस्रो नम्बरमा ६ खेलमा २४२ रन बनाएका कर्णालीका मार्क वाट, तेस्रोमा पाँच खेलमा २०७ रनसहित चितवनका रवी बोपरा, छ खेलमा १८१ रन जोडेका कर्णालीका प्रियाङ्क पञ्चाल चौथोमा तथा पाँचौँ नम्बरमा पाँच खेल खेलेका लुम्बिनीका कप्तानसमेत रहेका रोहितकुमार पौडेल (१७४ रन) छन् । 

बलिङमा नेपाली खेलाडी अब्बल

सर्वाधिक रन र व्यक्तिगत स्कोरमा विदेशी  खेलाडीको वर्चश्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन् । सुदूरपश्चिमका अभिनाश बोहरा सबैभन्दा बढी विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले हालसम्म पाँच खेलमा ११ विकेट लिइसकेका छन् । 

विराटनगर किङ्ग्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा काठमान्डूमा  आबद्ध विदेशी खेलाडी मिलिन्द कुमार र चौथोमा काठमान्डूका कप्तान करण केसी  छन् ।

मिलिन्द र करणले ६ खेलमा दश÷दश विकेट छन् । यस्तै पाँच खेलमा नौ विकेट लिएर पाँचौँ स्थानमा सुदूरपश्चिममा आबद्ध विदेशी खेलाडी हर्मित सिंह छन् । 

एनपिएलम विराटनगर र पोखराको उच्च स्कोर

 एनपिएल इतिहासमै उच्च स्कोर बनाउने टोली विराटनगर किङ्ग्स बनेको छ । विराटनगरले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो । यो हालसम्मकै उच्च स्कोर हो । दोस्रो उच्च स्कोर बनाउने टोली पोखरा छ । पोखराले कर्णालीका विरुद्ध २०१ रन जोडेको थियो । 

यो संस्करणमा सबैभन्दा कम स्कोर बनाउने टोली चितवन  छ । चितवनले  काठमान्डू  गोर्खाजविरुद्ध ८९ रन बनाएको थियो । यही मङ्सिर १ गतेदेखि सुरु भएको एनपिएलको दोस्रो संस्करणमा आठ टोली सहभागी छन् ।

हालसम्म सुदूरपश्चिम मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ । अन्य टोलीको छिनोफानो हुन बाँकी छ । प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ । रासस