गजेन्द्र गुरुङ
खजुरा, मङ्सिर १७ गते । लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा विनोदप्रसाद ढकालले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा बुधबारदेखि कोहलपुरको खुला मैदानमा सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्राडा ढकालले यस्तो बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्राडा ढकालले विद्यालयहरुले विद्यार्थीलाई अध्ययन गराउनुका अलावा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “खेलकुदमा क्रियाशील हुँदा विद्यार्थीहरुको नकारात्मकतालाई हटाएर सकारात्मक कुरा जागृत गराउन सहयोग गर्छ, जसले उनीहरुको जीवनमा अनुशासित बनाउँछ ।”
उपकुलपति प्राडा ढकालले विद्यार्थीहरुलाई अनुशासित भएर खेलकुद प्रतियोगितामा प्रदर्शन गर्न पनि सुझाव दिनुभयो । उहाँले खेलकुद प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक अवस्था क्रियाशील हुनुका साथै यस्ता प्रतियोगिताले देशकै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्न मद्दत पुर्याउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका परीक्षा नियन्त्रक जेन्टिल गौतम, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारी, कोहलपुर नगरपालिका वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बुधबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्याब्सनमा आबद्ध कोहलपुरका २८ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
“कोहलपुर प्याब्सनमा आबद्ध १९ वटा माध्यमिक र ९ वटा आधारभूत गरी २८ वटा विद्यालयले प्रतियोगितामा भाग लिएका छन्, आधारभूत र माध्यमिक तहबीच प्रतिस्पर्धा हुनेछ ,” उहाँले भन्नुभयो ।
अध्यक्ष केसीका अनुसार माध्यमिक तह (९–१२)को एथ्लेटिक्स र छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछन् । आधारभूत तह (१–८) का १५ वर्ष पूरा नभएका छात्र/छात्राबीच एथ्लेटिक्स र फुटसल प्रतियोगिता सञ्चालन गरिनेछ । यसैगरी, आधारभूत तह (नर्सरी–३)का १० वर्ष पूरा नभएका छात्र/छात्राबीच खेल हुनेछन् ।
माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तह (१–८)मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३)तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाउनेछन् । प्रतियोगितामा कुल १ हजार ८ सय ३४ जना विद्यार्थीको सहभागिता रहनेछ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले शिल्ड, प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नेछन् । माध्यमिक तहतर्फ १८ वटा गोल्ड मेडल र आधारभूततर्फ १२ वटा गोल्ड मेडल रहेका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
बुधबार बिहान कोहलपुरको रामजानकी चोकबाट प्याब्सनमा आबद्ध २८ विद्यालयहरुको बृहत् ¥याली सुरु भएको थियो । र्याली साझा चोक हुँदै खेल मैदानमा पुगेको थियो । खेलकुद मैदानमा पुगेपछि विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास प्रदर्शन गरेका थिए ।