• १६ वैशाख २०८१, आइतबार

अलपत्र शिक्षा पदक

blog

काठमाडौँ, फागुन १३ गते । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वाेत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा भदौ ३१ गते ९६२ जनालाई विभिन्न पदकबाट विभूषित गर्न नाम सार्वजनिक गरिएको थियो । मन्त्रालयले पदक निर्माण गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो तर ती पदक तयार गर्न करिब चार करोड रुपियाँ पर्ने भएपछि आर्थिक समस्याले पदक निर्माणको काम अगाडि बढेको छैन । यस पटकबाट नयाँ डिजाइन बनाइएको छ । डिजाइनको नमुना मन्त्रालयको दराजभित्र कागजमा सीमित छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भन्नुभयो, “बजेट खोज्दै छौँ ।” 

मन्त्रालयले आफ्नो वेबसाइटमा गत असोज २ गते राष्ट्रिय शिक्षा दिवसका दिन पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो । त्यस बेला तत्काल पदक तयार गर्न समय अभावले सम्भव नभएकाले फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरेर वितरण गर्ने भनी पुरस्कृत भएकालाई मौखिक जानकारी दिइएको थियो । मन्त्रालयले बजेट छिटै उपलब्ध भइसक्ने र पदक तयार गर्दा बढीमा दुई महिना लाग्ने अनुमानका भरमा फागुनमा पुरस्कार वितरण गर्ने सोच बनाएको थियो । 

यतिबेला पदकका लागि नाम सार्वजनिक भएकाले दैनिक जसो मन्त्रालयका पदाधिकारीलाई फोन गर्दै जिज्ञासा राख्ने गरेका छन् । मन्त्रालयका एक अधिकारीले दैनिक आउने गरेका फोनको जवाफ दिँदा दिँदा आफूहरू हैरान भइसकेको भन्दै उनीहरूलाई मन्त्रालयसँग रकम नभएको भन्न पनि कठिन भइरहेको बताए ।

२०३१ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७९ सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो ।

नेपाल विद्याभूषण (क, ख र ग), नेपाल प्रविधि विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक (क र ख) बाट पुरस्कृत हुनेको नामावली सार्वजनिक गरिएको हो । विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्टहुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण यस वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ । 

मन्त्रालयका अनुसार नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा भइसकेको छ ।

पदक तयार गर्न रकम नभएपछि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग रकम उपलब्ध गराइदिन अनुरोध गरेको थियो । अर्थ मन्त्रालयले रकम उपलब्ध गराउन नसकिने भएकाले विनियोजित बजेटमध्येबाट व्यवस्थापन गर्न भनेको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले विश्वविद्यालय अनुदान आयोगमा खर्च गर्न नसकिने रकम रहेको थाहा पाएका छौँ भन्दै थप्नुभयो, “आयोगसँग पदक तयार गर्दा लाग्ने जति रकम रहेछ । आयोगले रकम दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ । त्यहाँबाट रकम ल्याएर पदक तयार गर्न लगाउने छौँ ।”

उहाँले आगामी वैशाखसम्ममा पदक तयार गरेर उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले यस वर्ष पाठ सिकियो भन्दै आगामी वर्ष रकम अभाव नहुन दिन व्यवस्थापन गरिने बताउनुभयो ।

पदक तयारीका सन्दर्भमा मन्त्रालयले ललितपुरको लगनखेलस्थित घरेलु तथा साना उद्योग कार्यालयसँग समन्वय गरेको थियो । विगतमा सोही कार्यालयले नै तयार गरिदिँदै आएकोमा केही वर्षअघिदेखि नेपाली सेनाको आर्सनलमा बनाउन थालिएको थियो । यस वर्ष पुनः सोही कार्यालयमा तयार गर्नका लागि कुराकानी भएको थियो । 

कार्यालयका उद्योग अधिकृत यादवनाथ आचार्यले यस सम्बन्धमा शिक्षा मन्त्रालयका पदाधिकारीले सोधपुछ गरेको बताउँदै भन्नुभयो, “त्यतिका सङ्ख्यामा पदक तयार गर्न करिब दुई महिना लाग्छ । हातले तयार गर्नुपर्ने भएकाले फिनिसिङमा समय लाग्छ । हतार गर्दा राम्रो बन्दैन ।” 

सरकारले संविधान दिवसमा घोषणा गर्ने गरेको मानपदवी पनि सोही कार्यालयले तयार गर्ने गरेको छ । यस वर्ष मानपदवी रोकिएकाले कार्यालयले मानपदवी तयार गर्नु परेको छैन । “गृह मन्त्रालयबाट मानपदवी बनाउन भनेको भए हामी त्यसैमा व्यस्त हुने थियौँ । 

शिक्षा मन्त्रालयले शिक्षा पदक बनाउन भनेमा भ्याउने अवस्था छ तर मानपदवी तयार गर्नुपर्ने बेला अर्डर आएमा अन्य पदक तयार गर्न भ्याइँदैन,” उहाँले भन्नुभयो ।  घरेलु कार्यालयले शिक्षा मन्त्रालयलाई प्रतिशिक्षा पदक तयार गर्दा दुई हजार पाँच सय रुपियाँ ज्याला लाग्ने जानकारी दिएको छ । त्यस्तै प्रति पदक १५ देखि २२ हजार रुपियाँ खर्च हुने अनुमानित लागत दिइएको छ । 

नेपाल विद्याभूषण ‘क’ मा ४२ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ख’ मा ३१ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ग’ मा २२ ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘क’ मा ३० ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘ख’ मा ३० ग्राम शुद्ध चाँदी र नेपाल प्रविधि विद्याभूषणमा ३१ ग्राम शुद्ध चाँदी प्रयोग हुन्छ भने सबै पदकमा एक ग्राम सुन लेपन गरिने कार्यविधिमा नै उल्लेख छ ।

मन्त्रालयका अनुसार यसअघि नेपाल विद्याभूषण ‘क’ तीन हजार ६६४ जनाले, नेपाल विद्याभूषण ‘ख’ एक हजार ९६० जनाले, नेपाल विद्याभूषण ‘ग’ एक हजार २१९ जनाले, नेपाल छात्रा विद्यापदक ‘क’ ५१७ जनाले र नेपाल छात्रा विद्यापदक ‘ख’ ३३५ जनाले पाइसकेका छन् ।