• २४ असार २०८१, सोमबार

ज्ञान बढाउन विज्ञान

blog

विज्ञान विषयलाई सदावहार मान्न सकिन्छ । विज्ञान विषय लिएर कक्षा ११ र १२ पूरा गरिसकेपछि उच्च शिक्षामा जुनसुकै विषयमा पनि भर्ना हुन पाइन्छ ।

कक्षा ११ मा भर्नाका लागि तम्तयार भएर बसेका विद्यार्थी अलमलमा पनि पर्न सक्छन्– विज्ञान पढौँ वा व्यवस्थापन वा के विषय लिने होला ? स्वाभाविक हो, कक्षा ११ मा सही विषय छनोट गर्न सहज नहुन पनि सक्छ । आफन्तले भन्छन्– फलानो विषय पढ्नुहोस् । अर्काले सुझाव दिन्छन्– फलानो विषय पढेपछि सबैभन्दा राम्रो हुने छ । अनि साथीले भन्लान्– फलानो विषयको माग बजारमा निकै छ, त्यही पढ्नु पर्छ ल ?

यता जाने कि उता जाने ? सही समयमा सही निर्णय गर्न सके भविष्य पनि सही दिशामा अगाडि बढ्न सक्छ, विषय छनोटमा सही निर्णय गर्न नसक्दा शैक्षिक यात्रा कठिन पनि हुन सक्छ । त्यसैले यो समय निकै सोचविचार गरेर अगाडि बढ्ने समय हो । त्यो भनेको इच्छा, चाहना र माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्राप्त गरिएको स्तरीकृत अङ्क अर्थात् जिपिएमा भर पर्दछ । 

अब हामी चर्चा गरौँ विज्ञानको । विज्ञान पक्कै पनि कठिन विषय हो । हुन त सबै विषय आआफ्नो ठाउँमा कठिन छन् तर तुलनात्मक रूपमा यसलाई अझ बढी कठिन विषयका रूपमा लिइन्छ । त्यसैले कम जिपिए प्राप्त गरेकाहरूले विज्ञान विषय छनोट गर्न आँट गर्दैनन् । कक्षा १२ मा राम्रो जिपिए ल्याउन नसक्ने अवस्था रहन्छ भने कक्षा ११ मा विज्ञान विषय छनोट गर्नु त्यति उपयुक्त हुँदैन भन्ने सुझाव शिक्षाविद्ले दिँदै आएका पनि छन् ।

त्यसैले कक्षा ११ मा विज्ञान विषयमा भर्ना भएकामध्ये केहीले बिचैमा अन्य विषय परिवर्तन गर्ने गरेका पनि छन् । सुरुमा आँट गरिन्छ । भर्ना भइन्छ तर पढ्दै जाँदा पार लगाउन नसकिने अवस्था लाग्न सक्छ र बिचैमा अरू विषय परिवर्तन गर्नुपर्ने बाध्यता सिर्जना हुन सक्छ । समयमा विद्यार्थीले आफ्नो क्षमता बुझ्न सके ठिक हो तर ढिला भइसक्दा काम नलाग्न सक्छ । त्यसैले निकै सावधानीका साथ विषय छनोटमा ध्यान दिनु पर्छ भनिएको हो ।

कक्षा १० र कक्षा ११–१२ को पाठ्यक्रममा निकै अन्तर छ । एसइईमा विज्ञान विषयमा ए प्लस वा ए ल्याउन जति सजिलो छ, त्योभन्दा निकै कठिन कक्षा ११ र १२ मा ए वा ए प्लस प्राप्त गर्न हुने गरेको छ । त्यसैले एसइईमा विज्ञानमा ए ल्याउँदैमा कक्षा ११ र १२ मा पनि उस्तै मेहनतले अब्बल ग्रेड ल्याउन सकिन्छ भन्ने गलत हो । तसर्थ विज्ञान विषय लिन कक्षा १० मा भन्दा बढी मेहनत पर्छ ।

अभिभावकले आफ्ना छोराछोरी चिकित्सक वा इन्जिनियर बनून् भन्ने चाहन्छन् । हुन त अहिले तीभन्दा अन्य क्षेत्र पनि आकर्षक बनेका छन् तैपनि चिकित्सा र इन्जिनियरिङ क्षेत्रको आकर्षण उत्तिकै छ । त्यसैले प्रायः अभिभावक एसइईमा जिपिए ३.० भन्दा माथि प्राप्त गरेका आफ्ना छोराछोरी विज्ञान विषय नै लिएर पढून् भन्ने चाहन्छन् । अभिभावकको दबाबमा विज्ञान विषय पढ्नु हुँदैन । आफ्नो क्षमता आफैँलाई थाहा हुन्छ । अभिभावकका लागि विज्ञान पढिदिने होइन, आफ्ना लागि पढ्ने हो । विज्ञान पढ्न कठिन लाग्ने देखिएमा अभिभावकलाई कारणका बारेमा खुलस्त भनिदिनु पर्छ । अभिभावकलाई ‘कन्भिन्स’ गर्नु पर्छ । रुचिका साथै क्षमताप्रति पनि उत्तिकै हेक्का राख्नुपर्छ । सक्छु भन्ने लागेमा विज्ञान धेरै नै राम्रो विषय हो । विज्ञान विषय लिएकाले पछिसम्म पनि राम्रो प्रगति गरेका छन् । यस विषयले विद्यार्थीलाई निकै मेहनत गर्न सिकाउँछ । कक्षा ११ र १२ मा मेहनत गर्ने बानीले पछिसम्म पनि मेहनत गर्न प्रेरित गरिरहन्छ । त्यस्ता विद्यार्थीमा खोज, अनुसन्धान गर्ने बानी पनि बस्छ । सोच नै फरक हुन्छ । बौद्धिक क्षमता अन्यभन्दा फरक हुन सक्छ । 

विज्ञान विषयलाई सदावहार मान्न सकिन्छ । विज्ञान विषय लिएर कक्षा ११ र १२ पूरा गरिसकेपछि उच्च शिक्षामा जुनसुकै विषयमा पनि भर्ना लिन पाइन्छ । कुनैका लागि पनि बाटो बन्द हुँदैन तर अन्य विषय लिएकाले उच्च शिक्षामा विज्ञान विषय लिन भने पाउँदैनन् । तसर्थ विज्ञानको फाइदा यसलाई पनि मान्न सकिन्छ । कक्षा १२ पूरा गरेपछि चिकित्सा वा इन्जिनियरिङ वा बिएस्सीलगायतका विषय अध्ययन गर्न नचाहने भए व्यवस्थापन, शिक्षा, कानुन आदि विषयमा ‘जम्प’ गर्न मजाले सकिन्छ । विद्यालय तह अर्थात् कक्षा १२ पछि विज्ञान विषय छाडेर अन्यमा ‘जम्प’ गरी प्रगति गरेकाहरू थुप्रै छन् । 

उच्च शिक्षामा बिएस्सी, बिटेक (फुड), बिएस्सी कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी, बिएस्सी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट, न्युट्रिसन एन्ड डाइटेटिक्स, हर्टिकल्चर एन्ड फ्लोरिकल्चर म्यानेजमेन्ट, केमेस्ट्री, बोटोनी, जुलोजी, जियोलोजी, हाइड्रोलोजी एन्ड मेटेरोलोजी, माइक्रोबायोलोजी, इन्भाइरोमेन्ट साइन्स, स्ट्याटिक्टिस, बायो टेक्नोलोजी, हुमन बायोलोजीलगायतका विषय अध्ययन गर्नुपरेमा कक्षा १२ मा विज्ञान विषय लिएकै हुनु पर्छ । कक्षा १२ का जीव समूहका विद्यार्थीले उच्च शिक्षामा बोटोनी, जुलोजी र माइक्रोबायोलोजी तथा भौतिक समूहकाले भौतिकशास्त्र, गणित र तथ्याङ्कशास्त्र विषय लिन सक्छन् । हुन त अहिले समूहको व्यवस्था नभए पनि पम्परादेखि यसै गरी बुझिँदै आएको छ ।

इन्जिनियरिङ विषयमा उच्च शिक्षा आर्जन गर्न कक्षा ११ र १२ मा विज्ञान विषय नै लिएको हुनु पर्छ । इन्जिनियरिङको उच्च शिक्षामा सिभिल, मेकानिकल, कम्प्युटर, एरोनटिकल, बायोमेडिकल, इलेक्ट्रिकल, केमिकल, कम्युनिकेसन, आर्किटेक्ट, जियोम्याटिक्स, हाइड्रोपावर, क्लाइमेट चेन्ज, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एन्ड म्यानेजमेन्टलगायतका विषय इन्जिनियरिङ अन्तर्गत अध्ययन गर्न सकिन्छ ।

चिकित्साशास्त्र अहिले पनि उत्तिकै आकर्षणको विषय हो । जति आकर्षक छ त्योभन्दा बढी मेहनत पर्छ । पहिले जस्तो एमबिबिएस अध्ययन गरेर मात्र पुग्दैन, अब त एमडी पनि आवश्यक परिसकेको छ । तसर्थ चिकित्साशास्त्र विषय अध्ययन गर्न चाहनेले एमडी पनि गर्नु पर्छ भन्ने सोच अहिलेदेखि बनाउँदा हुन्छ । यो शिक्षा तुलनात्मक रूपमा निकै महँगो र खर्चिलो पनि छ । एमबिबिएस पूरा गर्न छात्रवृत्तिबाहेककाले कम्तीमा ५० लाख रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । चिकित्साशास्त्र विषय अन्तर्गत एमबिबिएस, बिपिएच, बिअप्टन, बिएस्सी एमएलएल, बिएस्सी एमआइटी, बिप्याथोलोजी, बिफर्मा, बिएस्सी हुमन बाइलोजीका साथै स्नातकोत्तर तहमा २५ भन्दा बढी विषयमा एमडी र एमएस अध्ययन गर्न सक्ने व्यवस्था छ । त्यसबाहेक नर्सिङ र आयुर्वेदको उच्च शिक्षा आर्जन गर्न पाउँछन् । 

वनविज्ञान विषय अध्ययन गर्ने चाहना राख्नेले कक्षा ११ र १२ मा विज्ञान विषय नै लिएको हुनु पर्दछ । बिएस्सी फरेस्ट्रीका साथै स्नातकोत्तरमा नेचुरल रिसोर्स म्यानेजमेन्ट, वाटरसेड म्यानेजमेन्ट, फरेस्ट्री म्यानेजमेन्टलगायतका विषय अध्ययन गर्न सकिन्छ । उच्च शिक्षामा कृषिविज्ञान विषय लिने चाहना राख्ने विद्यार्थीले पनि कक्षा ११ मा विज्ञान विषय अनिवार्य लिएको हुनु पर्दछ । बिएस्सी एजी, बिएस्सी भेटेरिनरी साइन्स एन्ड हजबेन्डरी (बिभिएस्सी एन्ड एएच), डेरी टेक्नोलोजी, एमएस्सी इन एनिमल साइन्सलगायतका विषय अध्ययन गर्न सकिन्छ । 

अहिले विमानचालक (पाइलट) प्रतिको आकर्षण पनि खासै घटेको छैन । धेरैअगाडि जुनसुकै विषय लिएर विमान चालकको तालिम लिन पाइन्थ्यो तर अब त्यस्तो छैन । विज्ञान विषय नै लिएको हुनुपर्ने नियम छ । यो पनि महँगो शिक्षा भए पनि यसको आकर्षण निकै छ । आम्दानीजत्तिकै जोखिम र रोजगारीको समस्या पनि छ । पछिल्ला वर्षमा सूचना प्रविधिको आकर्षण ह्वात्तै बढेको पाइन्छ । यसको रोजगारी अवस्था पनि राम्रो छ । सूचना प्रविधि विषय लिएर उच्च शिक्षा अध्ययन गर्न चाहनेले कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्नुपर्ने हुन्छ ।