• १७ मङ्सिर २०८२, बुधबार

‘झोङ्ग’गुफा

पुरातात्विक महत्वका वस्तु जोगाउनै मुस्किल

blog

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१,छोसेरमा रहेको ‘सिजा झोङ्ग’गुफा तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १७ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा वडा सदस्य छिरिङ युटिन गुरुङले दुई हजार वर्ष अगाडी तिब्वती अतिवादीबाट जोगिन पहाडमा मानवनिर्मित‘सिजा झोङ्ग’गुफा भित्रबाट पुरातात्विक महत्वमा बस्तु हराउन थालेपछि चिन्तित हुनुहुन्छ । 

पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन । 

समुन्द्रि सतहदेखि ३ हजार ७ सय ८५ मिटर उचाइमा अवस्थित गुफाभित्र रहेका १ सय ८ कोठाहरूमा रहेका सिक्का, भाडाकुँडा, स्थानीय पहिरन, झाङ्ग्रा लगायत चिया पकाउने माटोका भाँडा, चिया खाने कप लगायत स्थानीय प्रविधिबाट निर्मित सयौं सामग्रीहरू हराएको ६० वर्षीया स्थानीय पुन्चो गुरूङले बताउनुभयो । 

गुरूङ भन्नुहुन्छ, ‘‘लुकिछिपी लैजान्छन्, जोगाउनै मुस्किल भएको छ, अब पनि संरक्षणको पहल नभए गुफामात्रै हुन्छ ।’’ गुफाभित्र तेस्रो र पाँचौ तलामा रहेका पूराना बस्तु हराउन थालेपछि सामग्री भएको कोठामा बाहिरबाट मात्रै अवलोकन गर्न मिल्ने गरी संरचना बनाउन अनुरोध गरिएको गुरूङको भनाइ छ । गुफाभित्र हाल काठ र माटोले बनेका केही भाँडाकुँडा र अन्य सामान एउटा कोठामा सिसाभित्र सुरक्षित राखिएका छन् । 

हाल गुफाभित्र रहेको बस्तु तथा सामग्री वडा सदस्य छिरिङ युटिन गुरुङले पुराना सामानहरू जोगाउन सकेको भए अहिले प्राचिनकालको एउटा मिनी सङ्ग्राहलय नै बनाउन सकिने अवस्था रहेको बताउनुभयो । गुफाभित्र पर्यटक प्रवेशगर्दा झोला सहित अन्य सामान लिएर जान नपाउने र प्रवेशद्धारमा सिसी क्यामेरा जडान गरेर भएपनि संरक्षणका लागि पहल भइरहेको वडा सदस्य गुरूङको भनाइ छ । हाल गुफाभित्र करिब ५० वटा कोठाको अवलोकन गर्न सकिन्छ । कोठाभित्र सिकार खेल्न प्रयोग हुने सामान र धागो बुन्ने सामान, तत्कालिन समयमा घरायसी मदिरा बनाएर प्रयोग गर्ने सामान, छ्याङ राख्न प्रयोग गर्ने काठको भाँडा, पुराना जुत्ता समेत छन् ।

गुफामा भएका बस्तुको संरक्षण तथा पर्यटकलाई थप आर्कषित गर्न छोसेरमा स्थानीयसँग रहेका सयौंबर्ष पूराना समग्रीलाई समेत अवलोकन गर्न मिल्ने गरी संरचना बनाउन स्थानीयले विभिन्न निकायमा अनुरोध समेत गरेका छन् । भुइँसहित ६ तला रहेको गुफामा तलैपिच्छे झ्याङ चढेर जान सकिन्छ ।


परापूर्वकालमा दुस्मनबाट जिउधन जोगाउन बनाएको गुफा अहिले स्थानीय समुदायको आम्दानीको माध्यम बनेको अवस्थामा पूराना सामान जोगाउन नसक्दा चिन्तित भएको स्थानीय अगुवा तामदिङ गुरूङको भनाइ छ । गुम्बा अवलोकनका लागि पुरातात्विक अवलोकन प्रवेश ब्यवस्थापन समितिमार्फत नेपालीलाई रू १ सय रुपियाँ र विदेशी पर्यटकलाई १ हजार शुल्क लिने गरिन्छ । 

समितिमार्फत यस वर्ष स्थानीय लाप्पा टास्सीले २३ लाख लागतमा टेन्डर हालेर लो गर्फु गुम्बा र लो निफु गुम्बालाई २५ प्रतिशत चेन्पा कोन्ँछोक्लिङ गुम्बालाई १८ प्रतिशत, सिजा जोङ गुम्बालाई २३ प्रतिशत मर्मतसम्भारमा खर्च हुन्छ भने केही स्थानीय यूवा क्लव,आमा समुहलाई समेत सहयोग गर्ने गरिएको छ । पर्यटकको शुल्क बाहे गाउँपालिका,विभिन्न संघसंस्थाले समेत गुफाको मर्मत गर्ने गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा करिब एक हजार सानो–ठूलो गुफा रहेको अनुमान गरिन्छ ।