• १७ असार २०८१, सोमबार

काँचुली फेरियो केशर महलको

blog

काठमाडौँ, जेठ २१ गते । उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । त्यहाँ गई निःशुल्क थरी थरीका तस्बिर र भिडियो मज्जाले खिच्न पाइने छ । हो, केशर महलको पुनर्निर्माण पूरा भएको छ । यसको स्वरूप परिवर्तन भएर भव्य, सुन्दर र आकर्षक बनेको छ । त्यहाँ पुग्ने जोकोहीले पनि तस्बिर नखिची फर्किंदैनन् । 

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त भएको केशर महलले पुनर्निर्माण थालिएको साढे तीन वर्षमा काँचुली फेरेको छ । त्यसका लागि करिब ५९ करोड रुपियाँ खर्च भएको छ । यतिबेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम सुरु भएको छ । गत वैशाख १२ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका तत्कालीन सचिव डा. गणेशप्रसाद पाण्डेय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारी, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का आयोजना निर्देशक कोषनाथ अधिकारीको संयुक्त बैठकले ती तीन निकायलाई केशर महल प्रयोग गर्न दिने निर्णय गरेको थियो ।

निर्णय अनुसार केशर महलको पूर्व र दक्षिणतर्फ केशर पुस्तकालय, पश्चिमतर्फ सार्वजनिक खरिद अनुगमन कार्यालय र उत्तरतर्फ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उपलब्ध गराइएको छ । सो अनुसार ती निकायले विभिन्न कक्ष तयार गरिरहेका छन् । 

केशर महल पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जेडसिजिआई–खानी जेभीका आयोजना व्यवस्थापक नरकान्त सापकोटाले भन्नुभयो, “पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य पूरा भएको छ । अब सरसफाइ मात्र बाँकी छ । सरसफाइको कार्य भइरहेको छ ।”

सरकारले गत २०७७ मङ्सिर २८ गते दुई वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सरकारले समयमा भवन खाली नगरिदिएकाले निर्माण कार्यले गति लिन सकेन र तीन पटकसम्म म्याद थप गरिएको थियो । अन्तिम म्याद गत चैत ३० गतेसम्म थियो । मुख्य भवन प्रबलीकरण गरिएको हो भने बगैँचा, चमेनागृह, सुरक्षाकर्मी भवन र पेभिलियन नयाँ निर्माण गरिएको हो । 


परामर्शदाता कम्पनी जेएसए पिरामिड जेभीका इन्जिनियर आकाशकुमार शाहले नियमित रूपमा मर्मत सम्भार गरिएमा भवनको आयु एक सय वर्षभन्दा बढी हुने दाबी गर्दै भन्नुभयो, “भित्तामा आठदेखि १६ मिलिमिटरका फलामे पाता, कार्बन फाइबर र कार्बन लेमिनेटको प्रयोग गरेर निकै बलियो भवन बनेको छ । नयाँ प्रविधिले भवनको आयु बढाएको छ । तर बेलाबखतमा मर्मतसम्भार गरिएन भने आयु घट्न सक्छ ।” केशर महलको भित्र चोकमा दुई वटा फलामे भ¥याङ थप गरिएको छ ।  

आपत्कालीन अवस्थामा प्रयोग गर्न यी भ¥याङ निर्माण गरिएका हुन् । हरेक कोठामा बिजुलीका तार भित्ताभित्रबाट लगिएको छ । पहिले तार भित्ता बाहिर थियो । आगलागी भएमा केशर महलका हरेक कोठामा रहेका मानिसलाई तत्काल सूचना दिन फायर अलार्म प्रणाली जडान गरिएको छ । 


भित्र सिसिटिभी क्यामरा जडान गरिएको छ । बगैँचाभरि इटलीबाट आयात गरिएका आधुनिक बिजुलीबत्ती जडान गरिएको छ । सवारी पार्किङमा ढुङ्गा छापेर व्यवस्थित बनाइएको छ । छतमा फल्ससिलिङ जडान गर्न भने बाँकी नै छ । पुराना फल्ससिलिङ खिया लागेर काम नलाग्ने अवस्थामा थिए । यसका लागि नयाँ ठेक्का गरिएको छ ।

केशर महलको निर्माण १९७० सालमा गरिएको थियो । ११० वर्ष पुरानो सो भवन तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएका थिए । चन्द्रशमशेरले आफ्ना साहिँला छोरा केशर शमशेरलाई सो भवन हस्तान्तरण गरेपछि केशर महल नामकरण गरिएको थियो । केशरशमशेरको निधनपछि उहाँका परिवारले केशर पुस्तकालयसहित सो भवन सरकारलाई हस्तान्तरण गरेको थियो । त्यहाँ लामो समयसम्म शिक्षा मन्त्रालय रहेको थियो ।