• १८ असार २०८१, मङ्गलबार

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

blog

अर्थमन्त्री वर्षमान पुन । फाइल तस्बिर

काठमाडौँ, असार १६ गते । अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरू धेरै हेरफेर नगरिएको बताउनुभयो । 

उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रूपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि बेग्लै विधेयक ल्याएको स्पष्ट गर्नुभयो । मन्त्री पुनले भन्सार विन्दुमा सामान आयात गर्दा न्यूनतम भन्सार लिने र क्रमशः मुलुकको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुने अवस्थामा जाने सिद्धान्तका आधारमा विधेयक ल्याइएको बताउनुभयो । छलफलमा सांसद राजेन्द्रकुमार केसीले खाद्यान्न र फलफूलमा महँगो भन्सार शुल्क नलगाउन आग्रह गर्नुभएको थियो । विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । रासस