• १३ असोज २०८१, आइतबार

तातोपानी नाकाबाट २३३ प्रतिशतले राजश्व संकलन बृद्धि

blog

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय । तस्विरः चित्र मिजार

सिन्धुपाल्चोक, साउन ८ गते । आर्थिक बर्ष २०७८/०७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजश्व संकलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकोमा तीन अर्ब ४२ करोड राजश्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । 

यो २३३ प्रतिशत बृद्धिले राजश्व संकलन भएको कार्यालयले जनाएको छ । अघिल्ला आवमा चार अर्ब ५० करोड लक्ष्यमा एक अर्ब दुई करोड संकलन भएको उक्त कार्यालयले जनाएको छ । चालु आवमा चार अर्ब ६२ करोड लक्ष्य लिइएको प्रुमख गौतमले बताउनु भयो । २०७२ बैशाख १२ गतेको भूकम्पपछि आयातमा कमी भएपछि तातोपानी नाकाबाट राजश्वमा गिरावट आईरहेको छ । भूकम्प, भोटेकोशी नदीमा बाढी पहिरो, सडक कटान, कोरोना भाइरस संक्रमण, चीनबाट सामान आयातमा कमी लगायतका समस्याका बाबजुद पनि २०७८/०७९ मा २३३ प्रतिशत राजश्व संकलन गरिएको प्रमुख गौतमले बताउनु भएको छ । 

उक्त राजश्व संकलन हुनुमा चीनबाट सामान आयात, मापदण्डको पालना, ब्यापारी,ब्यवसायीलाई प्रशिक्षण, भन्सारले अवलम्बन गरेको शीघ्र जाँचपास प्रणाली, चुस्त दुरुस्त सेवा लगायतका कारणले तातोपानी नाकाबाट राजश्व संकलनमा सकरात्मक प्रभाव परेको उक्त कार्यालयले जनाएको छ । भूकम्पअघि दैनिक डेढ करोड राजश्व संकलन हुने सो नाकामा अहिले न्यून रुपमा राजश्व संकलन भईरहेको तथ्याङक छ । चीनबाट डेढ सय भन्दा बढी दैनिक मालबाहक कन्टेनर भित्रिने तातोपानी नाकाबाट अहिले मुस्किलले दैनिक ४ देखि ८ कन्टेनर भित्रिने गरेको छ । उक्त नाकाबाट अहिले रोलकपडा, स्याउ, मेशिनरी उपकरण आयात हुदैं आएको छ ।

भुकम्पपछि तातोपानी नाका आँशिक रुपमा मात्रै खुलेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले तातोपानी नाका र रसुवागढी नाकालाई पूर्णरुपमा सञ्चालन गर्न नेपाल सरकार, सम्बन्धित मन्त्री, मन्त्रालय, राजदुत, नेपाल र चीनका वाणिज्य बिभाग, ब्यापारिक संघसंस्था सबैलाई लिखित, मौखिक जानकारी गराउदाँ पनि नाका पूर्णरुपमा संचालनमा आउन नसकेको दुखसो गर्नुभयो ।

Author

चित्र मिजार