दोब्बर राजस्व सङ्कलन
आर्थिक वर्ष २०७८/७९ मा तातोपानी नाकाबाट लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन भएको छ । एक अर्ब ४६ करोड लक्ष्य राखिएकामा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो । अघिल्ला आर्थिक वर्षमा चार अर्ब ५० करोड लक्ष्यमा एक अर्ब दुई करोड सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा चार अर्ब ६२ करोड लक्ष्य लिइएको प्रमुख गौतमले बताउनुभयो । २०७२ वैशाख १२ गतेको भूकम्पपछि आयातमा कमी आएपछि तातोपानी नाकाबाट राजस्व सङ्कलनमा कमी आइरहेको छ ।
शुक्लागण्डकी नगरपालिकामा जग्गा नापजाँच सुरु
तनहुँको शुक्लागण्डकी नगरपालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको छ । राष्ट्रिय भूमि आयोगले शुक्लागण्डकी नगरपालिका–७ बाट आजदेखि जग्गाको नापजाँच सुरु गरेको हो ।
दुई महिनादेखि दुई मानव कङ्काल अलपत्र
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा फेला परेको दुईवटा मानव कङ्काल दुई महिनादेखि अलपत्र परेको छ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा फेला परेको मानव कङ्काल जिल्ला अस्पतालको सव–गृहमा अलपत्र परेको हो ।
हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन
कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् । सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार यी पुल चार/पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गर्नुभयो ।
पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै खनाखत
पाल्पाको रिब्दीकोट–२, लघुवामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भएको छ । आइतबार बेलुकी साढे ४ बजेतिर भएको बस दुर्घटना हुँदा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।
महुरे–फोक्सिङटार सडक कालोपत्रको काम अन्यौलमा
सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ९४९ किलोमिटर० सडक कालोपत्रको काम अलपत्र परेको छ । दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्र ठेकेदार कम्पनीको लापर्बाहीले अलपत्र परेको हो ।
‘छोरी र ज्वाइँले घर न घाटको बनाए’
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६, फुलकाहा बस्ने ७५ वर्षीया सागरदेवी यादव आफ्नै छोरी र ज्वाइँले आफूलाई घर न घाटको बनाएको भन्दै न्यायका लागि भौँतारिरहनुभएको छ। उहाँले आफूलाई छोरा नभएकोले बुढेसकालमा छोरी र ज्वाइँले सेवा गर्लान् भनेको उनीहरूले नै उठिबास लगाएको बिलौना गर्दै दोषीलाई कारबाही गरी न्यायका लागि सबैलाई गुहार्नुभएको छ।
नियमित हवाई उडानबारे छलफल
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।उहाँहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा
गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयोे ।