• १२ असार २०८१, बुधबार

दुई महिनादेखि दुई मानव कङ्काल अलपत्र

blog

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा फेला परेको दुईवटा मानव कङ्काल दुई महिनादेखि अलपत्र परेको छ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा फेला परेको मानव कङ्काल जिल्ला अस्पतालको सव–गृहमा अलपत्र परेको हो । 

गत जेठ पहिलो साता नेपाली सेनाले कञ्चनजङ्घा क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरेको थियो । हिमाल सफाइ अभियानअन्तर्गत फोहोरमैला सङ्कलन गर्ने क्रममा नेपाली सेनाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फेला पारेको मानव कङ्काल अहिलेसम्म अलपत्र अवस्थामा रहेको हो । 

त्यसबेला फेला परेको मानव कङ्काल नेपाली सेनाले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको र कङ्काल प्रहरीमार्फत पोष्टमार्टम तथा पहिचानका लागि जिल्ला अस्पतालको सव–गृहमा राखिएको हो । यता कङ्कालबारे खोजी गर्न कोही पनि नआएको र अहिलेसम्म पहिचानसमेत हुन नसकेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।

प्रनाउ राईका अनुसार कङ्कालको पोष्टमार्टम गर्न जिल्ला अस्पताललाई सुरुमै पत्राचार गरिएको थियो । तत्काल पोष्टमार्टम विवरण सङ्कलन गर्ने दक्ष चिकित्सकको समय उपलब्ध हुन नसक्दा हालसम्म पनि पोष्टमार्टमको कार्य अघि बढ्न नसकेको बताइएको छ । पछिल्लो सयम जिल्ला अस्पतालका चिकित्सकसँग सम्पर्क भएको र दुई÷तीन दिनभित्रै पोष्टमार्टम लगायतका कानुनी प्रक्रिया पूरा गरी कङ्काल अन्त्येष्टिका लागि फुङ्लिङ नगरपालिकालाई बुझाइने प्रनाउ राईले बताउनुभयो ।

मानव कङ्काल हाडहरु (अस्थिपञ्जर) मात्र भएकाले पहिचान गर्नलाई जटिल अवस्था रहेको प्रहरीले जनाएको छ । सव–गृहमा रहेको कङ्काल स्वदेशी वा विदेशी नागरिकको हो र महिला वा पुरुषको हो भन्ने अवस्था पहिचान नै हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।