• १० माघ २०८१, बिहिबार

लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान

blog

चासोक तङ्नामका अवसरमा सम्मानित सञ्चारकर्मीहरू । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङका स्थानीय रेडियोहरूमा लिम्बू भाषा (आनि पान) मा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको छ । लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरमा लिम्बू भाषामा समाचार वाचन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको हो ।

चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमकाबिच लिम्बू भाषामा समाचार वाचन गर्ने आधा दर्जन बढी सञ्चारकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा रेडियो स्थापना भएदेखि हालसम्म लिम्बू भाषामा समाचार वाचन गर्ने तथा लिम्बू भाषाको कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।

चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोका अनुसार लिम्बू भाषामा समाचार वाचन गर्ने र कार्यक्रम सञ्चालन गर्ने पत्रकार तथा सञ्चारकर्मीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित हुनेमा हाल स्थानीय रेडियो तमोरमा कार्यरत गङ्गा लिङ्खिम लिम्बू, मनमाया माबो रहनुभएको छ । यस्तै रेडियो ताप्लेजुङमा माला पालुङवालाई सम्मान गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।

उहाँका अनुसार रेडियो काबेलीमा कार्यरत साहारा लङ्वा लिम्बू र पवित्रा साउदेन लिम्बूलाई सम्मान गरिएको छ । यसैगरी, स्थानीय रेडियोमा लिम्बू भाषामा समाचार वाचन गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने पूर्व–सञ्चारकर्मी अस्मिता साँवा लिम्बू, मोहनचन्द्र साँवा लिम्बू, धनराशि नाल्बो लिम्बू, राधा मास्वा लिम्बू, रोमाकुमारी माबो, अमृता थलङ लिम्बू, ज्ञानु फुरुम्बो लिम्बू (चरपे), मनकुमारी मेन्याङ्बो लिम्बूलाई पनि सम्मान गरिएको छ ।

लिम्बू (याक्थुङ) जातिको आनिपान (भाषा) संरक्षण साथै प्रवद्र्धनमा योगदान पुर्याएकोभन्दै कियाचुले सञ्चारकर्मीहरूलाई सम्मान गरेको जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीहरूलाई कियाचुका प्रदेश समिति अध्यक्ष मधुराज केरुङ, जिल्ला अध्यक्ष मेन्याङ्बो लगायतले सम्मान गर्नुभएको थियो ।

यता लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) सदरमुकाम फुङ्लिङसहित गाउँगाउँमा विविध कार्यक्रम आयोजना गरी मनाएका छन् । शुभकामना आदानप्रदानसँगै आफ्नो मौलिक संस्कार तथा संस्कृतिको उजागर गर्न च्याब्रुङ नाच (केःलाङ), धान नाच (याःलाङ), हाक्पारे, ख्यालीलगायत लिम्बू संस्कृतिमा आधारित प्रस्तुति तथा गतिविधि गरेर पर्व मनाइएको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।