• १० माघ २०८१, बिहिबार

अलैँचीको मूल्य लाख नजिक

blog

भट्टीमा सुकाउनलाई छोडाएर तयार पारिएको अलैँची । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २४ गते । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धिको क्रमसँगै प्रतिमन एक लाख रुपियाँ नजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँची मूल्य मन (४० किलोग्राम) को लाख नजिक अर्थात् ९७ हजार रुपियाँ पुगेको हो । 

स्थानीय व्यवसायी कमल बरालका अनुसार शनिवार प्रतिमन ९७ हजार रुपियाँ सम्ममा कारोबार सुरु भएको छ । व्यवसायी बरालले ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री हुन थालेको जानकारी दिनुभयो ।

सामान्य अर्थात् चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भइरहेको पनि उहाँको भनाइ छ । स्थानीय व्यवसायीका अनुसार शुक्रवारसम्म मनको ९० रुपियाँमा अलैँचीको कारोबार भएको थियो । प्रतिमन एक हजार र एक हजार ५०० रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकै चोटि छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको व्यवसायी बताउँछन् ।

यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि रहेको थियो । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रबीर रेग्मीले जानकारी दिनुभयो । भदौको पहिलो सातादेखि बजारमा निस्कन थालेको अलैँचीको मूल्य यस पटक सामान्य भए पनि निरन्तर बढिरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

अलैँची ताप्लेजुङको प्रमुख नगदे बालीमा पर्दछ भने नेपालकै सबैभन्दा धेरै अलैँची उत्पादन हुने जिल्ला पनि हो । यहाँ करिब चार हजार ५०० बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट करिब तीन हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । यता अलैँचीको मूल्य निरन्तर बढ्दै जाँदा स्थानीय किसान तथा व्यवसायी उत्साहित छन् ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।