• ३१ चैत २०८१, आइतबार

पर्यटनको प्रचुर सम्भावना बोकेको छेर्चेन ताल ओझेलमा (फोटो फिचर)

blog

कञ्चनजङ्घा क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङमामा रहेको छेर्चेन ताल। तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ३० गते। ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्र नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल (आठ हजार ५८६ मिटर उचाइ) कञ्चनजङ्घा रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लै उपस्थिति हुने गरेको छ।

कञ्चनजङ्घा हिमशृङ्खलासँगै यहाँ रहेका ताल तलैया, घाँसे मैदानलगायत मनमोहक सुन्दर प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याने गर्दछ। यस्तै यस क्षेत्रमा पाइने दुर्लभ तथा लोपोन्मुख हिमचितुवा, रेडपान्डा (हाब्रे), नाउर, कस्तुरी, घोरल, डाँफे, मुनालजस्ता वन्यजन्तुले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यसरी नै पर्यटकलाई आकर्षित गराउनसक्ने प्रचुर सम्भावना बोकेको छेर्चेन ताल भने ओझेलमा परेको पाइएको छ। कञ्चनजङ्घा क्षेत्रभित्रै अर्थात फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङमामा रहेको छेर्चेन ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ। हाल ताल रहेको ठाउँभन्दा केही माथिल्लो भागमा रहेको नाङ्गामा हिम ताल फुटेर आएको पानीले छेर्चेन ताल बनेको स्थानीय बताउँछन्।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप, घुन्सा निवासी मिङ्माडण्डु शेर्पाका अनुसार भोटे भाषाबाट तालको नाम छेर्चेन रहन गएको हो। शेर्पाका अनुसार भोटे भाषामा गोठ बस्ने ठाउँलाई ‘छेर्चेन’ भनिन्छ। पहिले याक तथा चौंरीको गोठ राख्ने ठाउँमा करिव वि.सं २०३५ सालतिर नाङ्गामा ताल फुटेर आएर अर्को ताल (पोखरी) बनेपछि सो तालको नाम छेर्चेन रहन गएको उहाँको भनाइ छ।


समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा मानव बस्ती रहेको याङमा जिल्लाकै उच्च हिमाली बस्ती हो। याङमा बस्तीदेखि नजिक पर्ने चार हजार ४४० मिटरको उचाइमा रहेको छेर्चेन ताल निकै सुन्दर र आकर्षक भएर पनि ओझेल परेको स्थायीय पर्यटन व्यवसायी राजकुमार बानियाँले बताउनुभयो। क्याम्पसका अध्यापकसमेत रहनुभएका बानियाँले छेर्चेन ताल पर्यटनको प्रचुर सम्भावना बोकेको गन्तव्य भएको बताउनुभयो।

बानियाँ सहितको टोलीले छेर्चेन तालको भ्रमण गरेको र आकर्षक गन्तव्य भएर पनि प्रचारप्रसारको कमी भएको आफूहरुले पाएको उहाँले बताउनुभयो। कम्तीमा दुई वर्ग किलोमिटर क्षेत्रफल ओगटेको तालको आवश्यक प्रचारप्रसार र प्रवद्र्धन भएमा आन्तरिक तथा बाह्य पर्यटक केन्द्रित हुने एक आकर्षक पर्यटकीय गन्तव्य हुने बानियाँको भनाइ छ।

छेर्चेन ताललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न फक्ताङ्लुङ गाउँपालिका र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले योजना बनाउन आवश्यक देखिएको उहाँले बताउनुभयो। छेर्चेन ताललाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सके बाह्य तथा आन्तरिक पर्यटक आकर्षित हुने र पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन्। तालसँगै सो क्षेत्रमा पाइने याक तथा चौंरीको गोठ, नाउर (वनभेडा) को प्रत्यक्ष अवलोकन गर्न सकिन्छ।

पर्यटन व्यवसायी बानियाका अनुसार याङ्मा बस्ती एक पर्यटकीय स्थलकै रुपमा रहेको छ। हिमालको काखमा रहेको याङ्मामा एकमात्र भोटे समुदायको बसोबास रहेको छ। त्यहाँका बासिन्दाको मुख्य पेशा याकचौंरी पालन रहेको छ। एकमात्र समुदाय फरक रहनसहनसहित भोटे समुदायको संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गर्दछ। याङ्मादेखि छेर्चेन ताल पुग्नलाई करिव दुई घण्टा पैदल यात्रा गर्नुपर्ने स्थानीयले बताएका छन्। 


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।