• १५ असार २०८१, शनिबार

हिल्सा–सिमकोट सडक चार वर्षमा पनि पुल बनेन

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन ९ गते । कर्णाली कोरिडोरको हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत निर्माणाधीन पक्की पुलको निर्माण कार्य सुस्त भइरहेको छ । सो सडक खण्डमा चारवटा पुल निर्माण भइरहेका छन् ।

सिमकोट गाउँपालिका–७ का प्रकाश शाहीले उत्तरी हुम्लामा पर्ने हिल्सा–सिमकोट सडक खण्डका चारवटा पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँका अनुसार यी पुल चार/पाँच वर्षयता निरन्तर निर्माण भइरहेका छन् । काम भए पनि निकै सुस्त गतिमा भइरहेकाले पुल निर्माण कार्य छिटै सम्पन्न हुनेमा शाहीले शङ्का व्यक्त गर्नुभयो ।

समयमै पुल निर्माण नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ । हेक्पा खोला र ताग्रुु खोलामा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सपना धुलिखेल निर्माण कम्पनीका स्थानीय प्रतिनिधि तेजबहादुर महतले पहिलो वर्ष निर्माण सामग्री व्यवस्थापन गर्न, दोस्रो र तेस्रो वर्ष कोरोनाका कारण काम गर्न नसकिएको दाबी गर्नुभयो । उहाँले हाल काम निरन्तर भइरहेको पनि बताउनुभयो । 

हिल्सा–सिमकोट सडक आयोजनाका योजना प्रमुख वीरेन्द्रकुमार यादवले हालसम्म सम्पन्न हुनुुपर्ने पुलहरूको निर्माण समयमै नभएको स्वीकार गर्नुभयो । उहाँले यी पुल निर्माण गर्न आर्थिक वर्ष ०७५/७६ मा सम्झौता भए पनि हालसम्म पूरा हुन नसकेको बताउनुभयो । आयोजनाले पाँच वर्षको अवधिमा हेक्पा र ताग्रु खोलाको पुलको ३५/४० प्रतिशत  र सल्ली खोलाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ । त्यसैगरी याङ्गार खोलाको पुलका लागि निर्माण सामग्री निर्माण स्थलमा पुगेको भए पनि काम भने सुरु भएको छैन । यी पुलको निर्माण कार्य ढिलो हुनुमा बहुवर्षीय योजना भएकाले पनि बताइएको छ । त्यसैगरी आयोजनाको दक्षिणी क्षेत्रतर्फ पर्ने खार्पुनाथको खार्पुको पुुल निर्माण गर्न निर्माण कम्पनी छनोट भएर सम्झौता भएको भए पनि काम भने सुरु हुन सकेको छैन । काम चाँडो सम्पन्न गर्न आयोजनाले बर्सेनि ताकेता गरे पनि त्यसको खासै प्रभाव भने नपरेको स्थानीय बासिन्दाले बताएका छन् ।