• १७ चैत २०८२, मङ्गलबार

सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना

blog

कार्यालय स्थापनापछि सामुहिक तस्बिर खिचाउँदै सर्लाहीका पत्रकार । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत १६ गते । सदरमुकाम मलङ्गवामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ । नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसर पारेर सोमबार दिउँसो सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो । 

मलङ्गवास्थित जिल्ला समन्वय समिति (साबिकको जिविस) भवनमा कार्यालय स्थापना गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिनुभयो । 

ठाकुरकै अध्यक्षता, कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णको प्रमुख आतिथ्यता र जिल्लाभरका पत्रकारको उपस्थितिमा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको कार्यालय भवन स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय नयाँ भवनमा सरेसँगै कार्यालयले उपलब्ध गराएको कोठामा पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना गरिएको हो । 

कार्यालय स्थापना भएसँगै जिल्लाका पत्रकारलाई छलफल, बैठक, पत्रकार सम्मेलन तथा अन्य कार्यक्रम गर्ने ठाउँको प्रवन्ध मिलेको छ । 

जिल्लाका पत्रकारहरुले स्थापना गरेको उक्त कार्यालयको सोमबार नै प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालगायतले निरीक्षण गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । 

यस्तै नेपाल पत्रकार महासङ्घको ७१ औँ स्थापना दिवसको अवसरमा सोमबार खोलिएको कार्यालयमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो ।