• १५ असार २०८१, शनिबार

गण्डकी प्रदेशमा पहिरोले सात जनाको मृत्यु

blog

रमेश पौडेल

पोखरा, असार १२ गते । पहिरोले कास्की र लम्जुङमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका-५ चितेपानीकी १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको हो । 

रानाभाटसँगै सुत्नुभएकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते हुनुभएको छ । त्यस्तै, पोखरा-७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ भने उनकी आमा रितु सुनार घाइते हुनुभएकाे छ । उहाँकाे गण्डकी मेडिकल कलेज उपचार भइरहेको छ ।

त्यसैगरी लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराेले तीन घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए । पहिराेमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ, ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको गण्डकी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका छन् ।

लमजुङकै दोर्दी गाउँपालिका–९ मा मंगलबार राति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चपागाईंका अनुसार १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । दुवै जनालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएकोमा विकलको उपचारकाे क्रममा मृत्यु भएको हो । 

यसैगरी लमजुङ राइनास–९ का ३८ वर्षीय रामचन्द्र अधिकारी र तीनपिप्लेका ७१ वर्षीय चन्द्रमान श्रेष्ठ चट्याङ लागेर घाइते हुनुभएको छ । उहाँहरुको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले घाइतेहरुको तत्काल उद्धार गरी उपचार भइरहेको र मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल २५ हजार नगदसहित अन्य उद्धार सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।