• १३ असोज २०८१, आइतबार

‘छोरी र ज्वाइँले घर न घाटको बनाए’

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, साउन ९ गते ।  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–६, फुलकाहा बस्ने ७५ वर्षीया सागरदेवी यादव आफ्नै छोरी र ज्वाइँले आफूलाई घर न घाटको बनाएको भन्दै न्यायका लागि भौँतारिरहनुभएको छ। उहाँले आफूलाई छोरा नभएकोले बुढेसकालमा छोरी र ज्वाइँले सेवा गर्लान् भनेको उनीहरूले नै उठिबास लगाएको बिलौना गर्दै दोषीलाई कारबाही गरी न्यायका लागि सबैलाई गुहार्नुभएको छ। 

कान्छी छोरी जिल्लाको सोनमा गाउँपालिका–२ बस्ने आशादेवी र ज्वाइँ श्यामकुमार यादवले आफूलाई ठगेर कपाली तमसुक बनाई अदालतमा समेत मुद्दा दिएर आफूलाई दुःख दिइरहेको भन्दै उहाँले आइतबार गौशालाको न्यायिक समितिमा उजुरी दर्ता गराउनुभएको छ। छोरी र ज्वाइँ मिलेर बिरामी अवस्थामा सेवा गर्नुको साटो बेहोस हुने औषधि खुवाएर २६ लाख पाँच सयको कपाली तमसुक बनाएर अदालतमा समेत मुद्दा दर्ता गराएको बताउनुभयो। उहाँले दुवैलाई न्यायिक समितिमा झिकाइ सत्यतथ्य पत्ता लगाएर न्याय दिन निवेदन दर्ता गराएको जानकारी दिनुभयो। 

तीन वर्ष अगाडि बिरामी भएको बेला छोरी र ज्वाइँ मिलेर जनकपुरमा उपचार गराउने बहानामा लगेर राति कोठामा बेहोस पारी कपाली तमसुक बनाएको बताउँदै भन्नुभयो, “मलाई यससम्बन्धी केही थाहा थिएन तर केही महिनापछि जिल्ला अदालत महोत्तरीबाट पत्र आएपछि मात्रै आफूलाई छोरी र ज्वाइँ मिलेर यस्तो काम गरेको थाहा पाए।”

आफूले उनीहरूसँग एक सुको पनि नलिएको तर अदालतबाट यति ठूलो रकमका बारेमा जानकारी आएपछि आश्चर्य भएको बताउँदै उहाँले छरछिमेकी र समाजको सहयोगले आफू यस्तो कार्यविरुद्ध कानुनी रूपमै लड्न लागेको जानकारी दिनुभयो। 

पतिको डेढ दशकअघि मृत्यु भएको र दुई छोरीको सामाजिक परम्पराअनुसार बिहेबारी गरेको बताउँदै उहाँले छोरा नभएकोले जायजेथा जे भए पनि दुवै छोरीलाई बाँडेर दिने मनस्थितिमा रहेको बेला कान्छी छोरी र ज्वाइँको यस्तो व्यवहारले दुखित भएको बताउनुभयो।  उहाँले सामाजिक रूपमा पटक–पटक यस विषयमा छलफल भए पनि छोरी र ज्वाइँले नमानेको बिलौना गर्दै उहाँले आफूसँग त्यत्ति रकम तिर्ने हैसियत समेत नभएकोले सबैलाई न्यायको लागि सहयोग गरिदिन आग्रह गर्नुभयो।