• १५ असार २०८१, शनिबार

गाउँपालिकाद्वारा वडासहित कर्मचारी सम्मानित

blog

रमेश विश्वकर्मा

गुल्मी, असार १२ गते । गुल्मीको मदाने गाउँपालिकाबाट एक वडा र कर्मचारी सम्मानित भएका छन् । यस गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा र पालिकामा कार्यरत कर्मचारीलाई सम्मान गरिएको छ ।

पालिकामा सबैभन्दा छिटो योजना कार्यान्वयन गर्ने वडाका रुपमा वडा नम्बर-१ अग्लुङ्गलाई सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो । यस वडाले चालू आर्थिक वर्षको वैशाखसम्म वडाका सबै योजनाहरु सम्पन्न गरी भुक्तानी लगेको आधारमा पालिकाको नीति अनुसार सम्मान गरिएको हो ।

त्यस्तै, पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन कर्मचारी सम्मान गरेको छ । वडा नम्बर-१, अग्लुङ्गका वडा सचिव पशुपति चन्द, कृषि शाखा प्रमुख हुमबहादुर थापा र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायणप्रसाद पन्थी सम्मानित हुनुभएको छ । तीनै जनालाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान पत्र, टीका र खादाले सम्मान गरिएको हो ।

गाउँपालिकाले प्रत्येक वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने वडा तथा कर्मचारीलाई सम्मान गर्दै आएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो । सम्मानले कार्य सम्पादनमा थप प्रभावकारिता हुने भन्दै उहाँले आगामी दिनमा अन्य वडा तथा कर्मचारीले पनि उत्कृष्ट कार्य सम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।