साहित्यकार बिन्दु अधिकारी ढकाल साहित्यिक फाँटमा निकै चर्चित नाम हो । उहाँका ‘बिन्दुहरू’ (कवितासङ्ग्रह २०७४) र ‘मावली दिदी’ (कथासङ्ग्रह २०७७) प्रकाशित भइसकेका छन् । गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन ‘मुना’ मा देशका प्रतिष्ठित व्यक्तिहरूको बाल्यकालीन अनुभवको सँगालो बालापन स्तम्भदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा समयसान्दर्भिक दर्जनौँ लेखरचना प्रकाशित छन् । विभिन्न सङ्घ संस्थाबाट कदरपत्र तथा सम्मान पाउनुभएकी साहित्यकार ढकालको ‘कोपिलाका सुगन्ध’ ऋषिका ढकालले प्रकाशन गर्नुभएको हो ।
साहित्यकार ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ मा २०७४ सालदेखि २०७९ सम्म ‘मुना’ मासिक पत्रिकामा सानो छँदा समावेश ४९ र स्रष्टा स्वयम्का गरी ५० व्यक्तित्वको बालापनका पे्ररणादायी संस्मरण समावेश छन् । ३०६ पृष्ठमा संरचित यो कृति पढिसक्दा यसबाट पाइने पे्ररणा वास्तवमा अमूल्य भएको अनुभूति हुन्छ । विशिष्ट व्यक्तित्वका बालसंस्मरण समेटिएको प्रस्तुत कृतिको आवरण साजसज्जा निकै आकर्षक छ । कृतिको नाम झैँ संस्मरण सङ्ग्रहमा १४ महिला र ३६ पुरुषका बालापन बास्नादार भएर फक्रिएका सुगन्ध फैलाउने काममा अथक परिश्रम देखिन्छ । एउटा बालकले धर्तीमा आँखा खोलेपछिका स्मरणमा आएका कुरालाई सिलसिलेवार तरिकाले वर्णन गरिएको छ । झन्डै ९० वर्षअघिदेखिको नेपाली समाजको चित्रण यसमा पाइन्छ । नेपालका विभिन्न स्थानमा जन्मिएका पात्रहरूको बालापनले
अन्तर्राष्ट्रिय परिवेशलाई समेत समेटेको छ भने धेरै जसो पात्र सफलताका लागि काठमाडौँकेन्द्रित भएका देखिन्छन् ।
‘कोपिलाका सुगन्ध’ मा पृष्ठ २९ बाट वर्णानुक्रम अनुसार राखिएका सुगन्धित व्यक्तित्वले राष्ट्रलाई विभिन्न क्षेत्रबाट योगदान पु¥याएका छन् । नेपालमा निजामती सेवा, प्रशासन सेवा, हास्यकला, चित्रकला, ललितकला, अभिनय, कानुन तथा न्याय, शिक्षण, चिकित्सा, पत्रकारिता, राजनीति, कलासाधना, समाजसेवा, भाषा, साहित्य, खेलकुद, इन्जिनियरिङ, विज्ञान प्रविधिका क्षेत्रमा आबद्ध विशिष्ट व्यक्तित्वहरूको यथार्थपरक ढङ्गले जीवन्त अनुभूतिको खोजी गरिएको छ । व्यक्तित्वले उत्कृष्ट, अब्बल र सफल हुनका लागि आफैँले बाटो बनाउँदै हिँड्नुपर्ने त्यही सङ्घर्ष नै जीवन भएको, जूनको उज्यालोमा पढेर डबल एमए अध्ययन, प्रत्येक चिज वा विषयवस्तुप्रतिको धारणा सकारात्मक किसिमले विकास गर्न धैर्य, कर्तव्यनिष्ठ र इमानदार रहनुपर्ने, सहरिया गरिबका सङ्घर्षमय बालापन, जीवनका प्रत्येक चुनौतीको सामना गर्न असल मान्छेको सङ्गतसँगै सत्यको बाटो रोजेमा शक्ति प्राप्त गर्न सकिने, हरेक सफलताका लागि अथक प्रयास, मेहनत, प्रतिबद्धता, अभिभावक र गुरुप्रति श्रद्धा र आज्ञाकारिता आवश्यक भएको अभिव्यक्ति पाइन्छ ।
साङ्गीतिक फाँटका शिखर व्यक्तित्वले आफ्नै परिवार तथा गुरुवर्गबाट पाएको माया, हौसला अमूल्य छन् । गलाको कलाले छोटो अवधिमा लोकप्रिय बनेकी गायिकाको आर्थिक अवस्था कमजोर भएर साँघुरा, छोटा र पुराना लुगाफाटा पाउँदा धागो अडिएसम्म सिलाएर धोइपखाली लगाउँदा चन्द्रमा छोइसकेको अनुभूति भएका सङ्घर्ष निकै मार्मिक छन् । बालबालिका कुमालेको काँचो माटो झैँ हुने भएकाले त्यसलाई आकारमा ढाल्ने शिक्षाले हो । यस पुस्तकमा रुचि र क्षमता अनुसारका कर्म गर्दा सही गन्तव्यमा पु¥याएका जीवनका यथार्थ भोगाइ पाउन सकिन्छ । शैक्षिक क्षेत्रका प्रेरणापुञ्जले खन्यु, ऐँसेलु, बारीका केराउ खाँदा पाएको रामधुलाइका प्रसङ्ग निकै रोचक छन् । त्यसै गरी व्यक्ति असल भएपछि राष्ट्र निर्माणमा बल पुग्ने र विश्वमा महान् बन्न सकिने प्रेरणा, व्यक्ति सही र गलत पहिचान गर्न सक्षम र स्वावलम्बी हुनुपर्नेलगायत जीवनको सफलता भौतिक सुखसुविधा मात्र नभएर पाठ्यक्रमका विषयवस्तुबाहेक आध्यात्मिक चेतनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सन्देश प्रवाह भएका छन् । कानुनी विद्यार्थीका प्रेरणापुञ्जको कर्मप्रतिको लगाव, राष्ट्रिय गानका रचनाकार आफैँले लेखेका कविता पढेर धेरै पटक आफैँ रोएकाले विषम परिस्थितिको उपज ‘व्याकुल’ लेखेका प्रसङ्ग, निर्भीकता र साहसले प्रधान न्यायाधीश पदमा पुग्न सफल नारीका सङ्घर्ष र चुनौतीलाई नजिकबाट बुझ्न सकिन्छ ।
नेपालका लोकप्रिय कलाकार बाध्यता र आवश्यकताको भुमरीमा परेर उब्जाएको सङ्घर्ष, व्यक्ति ठुलो होइन असल भएर संसार हल्लाउन सकिने प्रेरणा, हँसाउने पावरको कारखाना भएका कलाकारको अधिक सङ्घर्ष र अनेकौँ दुःखकष्टपूर्ण जीवन, कमजोर आर्थिक अवस्थाले निम्त्याएका आरोहअवरोहपछि जाँगर र धैर्यले पाएको सफलता, स्वर्गको ढोका खोल्न जन्मिए पनि असफलता नै सफलताको सूत्र ठान्ने कला र अभिनयले उच्च सफलता पाएका बहुप्रतिभाशाली व्यक्तित्वका हृदयस्पर्शी बालसंस्मरण यसमा सजिएका छन् ।
तत्कालीन समयमा छोरीले पढ्नु पर्छ भन्ने सकारात्मक चेतनाले मान, सम्मान, प्रतिष्ठा र इज्जत पाउने शिक्षा नै हो भनी १४ महिलाको अथक मेहनत र लगनशीलताले पाएको उच्च सफलता र भोगाइ, सहरिया बालविवाहका कुरा, कर्मलाई पूजा मानेर आफ्नो अस्तित्व पहिचानका लागि खरो उत्रने जीवन सङ्घर्षका कुरा यसमा समेटिएका छन् । व्यक्ति धैर्य र लगनशील हुनुपर्ने, बाँचेर मर्नुभन्दा मरेर बाँच्न मानव जीवनको सार्थकता मानिने प्रसङ्ग, कक्षा ७ मा पढ्दासम्म कुनै दिन कलमले कापीमा नलेखेका, वर्षमा छ/सात पटक भात खान पाउँदा असाध्यै खुसी र आनन्दित हुने युवा वैज्ञानिक जसले एक डल्लो भात खानका लागि अर्काको जुठो भाँडा माझेर हिँडेको संस्मरणले पाठकलाई भावुक बनाउँछ ।
परिश्रमको फल मिठो हुन्छ । आआफ्ना क्षेत्रमा अहोरात्र खटिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउनु चानचुने कुरा होइन । शिक्षाको उज्यालो नभएको जीवन के जीवन ? प्रत्येक व्यक्तिमा चेतना उम्रिन विद्या आवश्यक पर्ने, संस्कारसहितको शिक्षा नभए संस्कृति कसरी बचाउने ? सादा जीवन उच्च विचारको मूल मन्त्र नै पढाइ भएको प्रसङ्ग आएका छन् । सङ्घर्षले नै व्यक्तिको जीवन सार्थक बनाउँछ भन्ने सार्थक उदाहरण भएको यो पुस्तक युवाका लागि प्रेरणाको खानी हो । मानिसलाई सम्पत्तिले होइन, मेहनत र कर्मप्रतिको लगावले मानव बनाउँछ । असफलताको त्रास र सफलताको भोकले जन्माएका विशिष्ट व्यक्तित्वको बालसंस्मरणले बालबालिकालाई प्रेरणा त दिन्छ नै, अभिभावकका लागि समेत यसले अभिभावकत्व बोधका निम्ति मार्गनिर्देश गर्छ । व्यक्तिले आफ्ना इच्छालाई शक्तिमा बदल्न आफू र आफ्नो व्यवहार बदल्न सक्नु पर्छ भन्ने सन्देश ‘कोपिलाका सुगन्ध’ ले दिएको छ ।
पुस्तकको आकार बृहत् देखिए पनि यसभित्र समेटिएका संस्मरण एकै बसाइमा पढ्न सकिने भएकाले एकपछि अर्काे व्यक्तित्वको जानकारी लिन आतुर बनाउँछ । लेखकले निकै सावधानी र आफ्नो बालसाहित्यप्रतिको लगावमा निखारता ल्याउन गरेको नवीन प्रयोगले लाखौँ पाठकवर्गलाई सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिन्छ । पात्रले बताएका अनगन्ती कथाव्यथालाई कलात्मक ढङ्गले व्यक्त गर्न सिपालु ढकालमा आफ्नै प्रकारको दृष्टि र अनुभवशीलता देखिन्छ । यस क्रममा लेखकीय प्रभाव र अनुभवको गहिराइले बालसंस्मरणलाई उहाँले कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । भाषामा राम्ररी खेल्न सक्ने खुबी भएकी साहित्यकारको यस सङ्ग्रहमा आत्मपरक अभिव्यक्ति पाइन्छ । प्रेरणाका रूपमा सङ्कलित सबै जसो बालसंस्मरण छोटा, स्पष्ट र सार्थक शीर्षकले कृतिको गहनता व्यक्त गर्छ । स्रष्टाको आशा, विश्वास र भरोसा बोकेको यो कृति इन्टरनेटको दुनियाँमा हराइरहेका र भावी पुस्ताका बालबालिकालाई सङ्घर्ष, अनुशासन, नैतिकता र कर्तव्यबोध गराउन सहयोगी सिद्ध हुने छ ।