गोरखापत्र अनलाइन
काठमाडौं, असार १ गते । राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, विश्वभर संगीत दिवस मनाइरहँदा हामीले हाम्रो आफ्नै भाषा, धर्म, कला संस्कृति र पहिचानलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्न देशभरका कलाकारको जनचेतनामूलक वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौं। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारू कलाकारहरूले प्रस्तुति दिनुहुनेछ। ‘
अध्यक्ष वैद्यका अनुसार कार्यक्रममा ५० बढी मेचीदेखि महाकालीसम्मका थारू कलाकारहरूले थारूको लोक गीत, मौलिक नाँचहरू धुम्रा नाच, झुम्रा, मघौटालगायत थारू सांस्कृति झल्कने प्रकारको प्रस्तुति दिनेछन् । पहिलो दिन सांस्कृतिक कार्यक्रम र दोस्रो दिन वार्षिक साधारणसभा पनि हुने जसमा केही विधान संशोधन हुने जानकारी दिनुभयो ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पहिलो दिन ‘भाषा, कला–संस्कृति हमर शान, पहिचान बचैना हमार अभियान’ मूल नारासहित वृहत्त थारू सांस्कृतिक कार्यक्रम हुन्छ’ उहाँले भन्नुभयो । कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका राज्यमन्त्री अरुणकुमार चौधरीको उपस्थिति हुने उहाँको भनाइ छ ।
कार्यक्रममा थारू परिकारहरूको स्टल, थारू परम्परागत पहिरन, गहना र सांस्कृतिक सामग्रीहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । राष्ट्रिय स्तरमा थारू कलाकारहरूको उपस्थितिमा पहिलो पटक यस्तो बृहत सांस्कृतिक कार्यक्रम गर्न लागेकाले अर्थ व्यवस्थापनका लागि काठमाडौंका विभिन्न ठाउँमा टिकट खुल्ला गरिएको अध्यक्ष वैद्यले बताउनुभयो ।
कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क एक हजार रुपियाँ टिकटको प्रि–बुकिङ खुला भइसकेको र कार्यक्रम स्थलमै टिकट उपलब्ध हुने उहाँले जानकारी दिनुभयो ।