काठमाडौँ, पुस १४ गते । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक कमिटीलाई विवादमा ल्याउने काम सरकार र अदालतबाट भईरहेको बताउनुभएको छ ।
सोमबार एनओसीको २१औँ साधारण सभाको उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले सरकार र ओलम्पिकलाई बुझेका ब्यक्तिले समेत अनावश्यक झमेला गरेर खेलकुदलाई बन्धक बनाईरहेको आरोप लगाउनुभयो । उहाँले ओलम्पिक मुभमेन्टलाई मैदानमा उपयोग गर्न आग्रह पनि गर्नुभयो ।
श्रेष्ठले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गर्नुभयो । ‘‘अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को सहयोगमा बनेको भवनमा बसेर काम गर्न नपाउनु विडम्बना भएको छ । विगतमा ओलम्पिकमा राजनीति हावी भयो । वर्तमान सरकारले त्यसलाई बुझेर सहयोग गरोस्,’’ श्रेष्ठले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सँधै तत्पर रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गर्नुभएको थियो ।
यस्तै आन्तरिक लेखापरिक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को आर्थिक विवरण प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्व गर्दै प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराउनुभयो । त्यसअनुसार अबको वर्षमा चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता रहेका छन् ।
जसमा जापानमा आयोजना हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्स रहेको छ ।
यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।
साधारण सभाको अवसरमा पूर्व खेलाडी तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्ट्स (पीएमसी) गठनका लागि प्रस्ताव गरिएको छ ।
साधारण सभाले जेनजी आन्दोलनमा सहिद हुनेलाई श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियाली खेलकुदमा सहभागी हुन गरेको निर्णयको स्वागत पनि गरेको छ ।
यस्तै साधारण सभाले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम सर्वसम्मत पारित गरेको थियो । साधारण सभामा ओलम्पिकमा आवद्ध २३ राष्ट्रिय खेल सङ्घका प्रतिनिधिको उपस्थिति रहेको थियो ।