• २ असार २०८२, सोमबार

‘धान फल्ने खेत बग्यो, लालपुर्जाले के गर्नु’

blog

मकवानपुरको इन्द्रसरोवर–३ सिस्नेरीका बाढीपीडित किसान । तस्बिरः स्मिता अर्जेल

स्मिता अर्जेल

मकवानपुरगढी, असार १ गते । अब त, केही छैन आफ्नो । बाँकी छ त बाढीले बगाएर लगेको खेतबारीको लालपुर्जा । त्यो कसलाई देखाउनु ? कहिले वडा, कहिले पालिका । फेरि पाउने भनेको आश्वासन मात्र त हो । 

गत असोजमा देशैभर भारी वर्षा भयो । ठाउँ–ठाउँमा पहिरो गयो । कतिको घरबार बगायो । कतिको ज्यानै पुरियो । अन्नपात मासियो, बस्तुभाउ नासिए । गोठका गाईभैँसी ‘ड्वाड्वा’ कराए । 

मकवानपुरको इन्द्रसरोवर–३ सिस्नेरीमा पनि बाढीले उही बितण्डा मच्चायो । अविरल परेको वर्षाले कुलेखानी जलाशय भरिएपछि दुईवटा ढोका खोलिदिँदा सिस्नेरी बजारको ३० घरटहरा बगायो । 

काठमाडौंँदेखि हेटौँडा ओहोरदोहोर गर्दा तरकारी किन्नेदेखि खाजा खान रोकिने विश्रामथलो रहेको सुन्दर सिस्नेरीबजार क्षणभरमै बगर बन्यो । कैंयौ परिवार विस्थापित बन्यो । हारगुहार चल्यो । अन्ततः प्रकृतिको अघि कसैको केही लागेन । 

इन्द्रसरोवर गाउँपालिका वडा–३ को कुनियोटार बस्ती जहाँ तामाङ जातिको बसोवास छ । कुनियोटारका ३० घरपरिवारलाई पनि सोही बाढीले विस्थापित बनायो । बाढीले घरबाली बगाएपछि राहतको पखाईमा रहनुभएकी ५० वर्षीया राधिका तामाङ अपाङ्ग भाइबुहारीको सहायता बन्नुभएको छ । 

उहाँ अविवाहित महिला हुनुहुन्छ । खेती किसानी गरेर भाइ बुहारीको सहायता बनिरहनुभएकी राधिकालाई असोजको बाढीले गरिखाने खेत बगाएपछि बज्रपात आइलागेको छ । “वडामा अनुदान आइपुगेको छ भन्ने त सुनेको छौं । खेतीपाती गरेर घर खर्च चलिरहेको थियो । खेतमा दुई वर्षलाई खान पुग्ने अन्नपात फल्थ्यो । अब यो लालपुर्जाले के गर्ने हो ?” 

“यो पुरै बगर छ । यो पाखो हेर्नुस् त । यी सबै हाम्रो त थियो” हातको इसाराले उहाँ सिमाना मेटिएको बगर देखाउँदै भन्नुभयो । यता, ६० वर्षीय प्रतापसिंह वाइवाको रोदन पनि उस्तै छ । २० मुरी धान फल्ने ५ रोपनी ८ आना खेत आँखै अगाडि बगाउँदा उनीसँग हारगुहारको विकल्प अरु रहेन । गोठका गाईभैँसी ‘ड्वाड्वा’ कराए । फुकाउन समेत पाइएन, उहाँले भन्नुभयो । 

बाढीपीडित चन्द्रबहादुर वाइवा दुई रोपनी ८ आना जग्गा बगाएपछि छोराको घरमा गएर बस्न थाल्नुभयो ।  राहतको नाममा केही बोरा चामल मात्र पाएको उहाँ सुनाउनुहुन्छ । “खोलाको बाँध खोल्ने भनेर सूचना सुनिरहेका थियौं । २०५० सालको बाढीले त केही भएन । अहिलेपनि केही नहोला भनेर ढुक्क बस्यौं । भरे त सबै  बगायो’ उहाँले भन्नुभयो ।

गत वर्ष दशैंको मुखमा घरबारविहीन बनेका उहाँहरूलाई वर्षा याम सुरु भएसँगै फेरि चिन्ता बढेको छ । पुरानो घाउमा मल्हम लागेको छैन । सुरक्षित बसोबास पाएको छैन । राहत कुरेर मानसिक पीडा थपिएको छ । सरकारले आफनो वासस्थान सुरक्षित गरिदिए, एक पेट खान पुग्ने खेतीयोग्य जमिनको व्यवस्था गरिदिए पीडाको घाउ मेटिने उहाँहरूको भनाइ छ ।  

इन्द्रसरोवर गाउँपालिका –३ का वडा अध्यक्ष प्रताप भोम्जनले बाढी विस्थापितका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । “यसवर्ष उहाँहरुको स्थायी बसोवास र जग्गा प्राप्तिका लागि पहल गरेको थिएँ । कार्यविधि नमिलेको भएर यसखवर्ष नहुने भयो । आगामी वर्ष टेन्डर लागेको स्थानमा तटबन्धनसहित खेतबारीको व्यवस्थापन गर्नेतर्फ हाम्रो पहिल रहने छ’ उहाँले भन्नुभयो ।

अहिले उहाँहरूलाई अस्थायी बसोवासको व्यवस्था मिलाइ जसोतसो जीविकोपार्जनमा सहयोग भइरहेको छ । यद्यपि सरकारले पूर्वाधार निर्माणमा जोड दिएर सडक निर्माणको काम धमाधम गराइरहेको छ ।