काठमाडौँ, असार १ गते । नेपाली कलाबारे सार्वसाधारणमा जनचेतना र चासो बढ्दै गइरहेको छ । बर्सेनि नेपाल ललितकला प्रतिष्ठानले गर्दै आएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ ले कलालाई चिनाउने काम मात्र गरेको छैन यसले नयाँ नयाँ कलाकारलाई कलामार्फत पहिचान गराउन मद्दत पनि गरेको छ । कुनैबेला प्रदर्शनीका लागि सबै प्रदेश वा जिल्लाका कलाकारका कलाको सहभागिता हुन्थ्यो ।
जिल्लाका कलाकारले आफ्ना कला सिधै महोत्सवका लागि पठाउनुपर्ने हुन्थ्यो र ती कलाको छनोट प्रतिष्ठानमै हुन्थ्यो । अहिले त्यो अवस्था छैन । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीका अनुसार अहिले सात प्रदेशको कलाको वस्तुस्थिति के कस्तो छ भन्ने कुरा प्रदर्शनीबाट थाहा पाउन सकिन्छ ।
सुदूरपश्चिमको कला कस्तो छ र त्यहाँ के के कला छन् भन्ने कुरा प्रतिकात्मक रूपमा प्रदर्शनी पाउन सकिन्छ । उहाँले भन्नुभयो, “हामीले सबै समेट्न नसके पनि केही मात्रामा भने अवश्य जान्न सकिन्छ । त्यहाँको लोक, शिल्प, हस्त, परम्परागत, चित्र, मूर्ति, वास्तुकलालगायत नयाँ अभ्यास के के छन्, हामीले प्रदर्शनीमा समेट्ने प्रयत्न गरेका छौँ ।”
कर्णाली, मधेश, बागमती, गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा के के कला अभ्यासमा छन् भन्ने कुरा प्रदर्शनीमा राखिएका थिए । नेपालमा अभ्यास भएका कला त्यसमा विभिन्न समुदाय, जातजाति राउटेदेखि लिएर डोम समुदायसम्मका कला महोत्सवमा प्रदर्शन गरिएको थियो । प्रदर्शनी गर्नुभनेको मौलिकताको जगेर्ना गर्नु पनि भएको थुम्केलीले बताउनुभयो । मिथिला, भोजपुरी, थारू, अवधी, पर्वते, नेवार, तामाङ कलालगायत विभिन्न समुदायका कला प्रदर्शनीमा देख्न सकिन्थ्यो । ललितकला भनेको चेतना निर्माण गर्ने कला पनि हो र अर्को हाम्रो दैनिक जीवनमा उपयोगिताको ढङ्गले हेर्ने अथवा प्रयोग गर्ने चिज पनि प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । अघिल्लो वर्षभन्दा यस पटक प्रदर्शनीमा कलाको सङ्ख्या र विधा दुवै बढेको उहाँको भनाइ थियो ।
केही वर्षअघि प्रदर्शनी केन्द्रीकृत थियो भने अहिले सात वटै प्रदेशमा प्रदेशस्तरीय प्रदर्शनी हुने हुनाले यहाँका कलाकारमा उत्सुकता झन् झन् बढ्दै गएको लुम्बिनी प्रदेशका कलाकार दिलीप रसाइली बताउनुहुन्छ । उहाँका अनुसार यो भनेको कुनाकाप्चामा रहेका कलाकारको बाहिर आउने मौका पनि हो । पहिलो राष्ट्रिय प्रदर्शनीमा कलाकारको चारदेखि पाँच वटा कलाकृति छनोट हुन्थे भने अहिले समग्रमा लुम्बिनी प्रदेशका कलाकारका छुट्टै कलाकृति राखिनु गर्वको कुरा भएको उहाँले बताउनुभयो । यसले कला के हो भन्ने बुझ्न धेरै सजिलो बनाएको उहाँको भनाइ थियो ।
हस्तकला महसङ्घका अध्यक्ष रवीन्द्र शाक्य भन्नुहुन्छ, “सातै प्रदेशको कलाकृति प्रदर्शनीमा राखिनु एकदमै सराहनीय हो ।” फराकिलो दायराबाट उत्साहपूर्व गरिएको प्रदर्शनीमा विभिन्न विविधता देखिएको उहाँको भनाइ थियो । अघिल्लो वर्षभन्दा यस वर्षको प्रदर्शनीमा केही कुरामा परिवर्तन देखिएको महसुस भएको शाक्यले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “हस्तकला महासङ्घले ३६ विधाका कलाकृति प्रदर्शनीमा राखिएका छन् भन्ने आकलन गरेको थियो त्यो सबै समेट्न नसक्नु एउटा त्रृटि थियो । ३६ विधा नै सबै देखाउन पाएको भए हस्तकलाको विविधता अझ राम्रो हुन्थ्यो होला,” उहाँले भन्नुभयो । प्रदर्शनीमा ६५ जिल्लाका ६०६ कलाकारका छ सयभन्दा बढी कलाकृति राखिएको थियो । जेठ १५ बाट सुरु भएको प्रदर्शनी शनिबार समापन गरिएको थियो ।