गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १ गते । बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा दोस्रो पटक निबन्ध र कविता प्रतियोगिता आयोजना गरिएको छ ।
काठमाडौँ महानगरपालिका–२३ ले आयोजना गरेको विद्यालयस्तरीय साहित्य प्रतियोगितामा २३ विद्यालयका ११२ बालबालिकाले सहभागिता जनाए । प्रतियोगितामा नेपाली र नेपाल भाषामा गरी चार विधामा कविता र निबन्ध लेखनमा प्रतिस्पर्धा भएको थियो ।
नेपाल भाषा कवितातर्फ शान्ति निकुञ्जकी शिवानी दास प्रथम, श्रीरत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयकी अपेक्षा अर्याल द्वितीय र हिमालय माध्यमिक विद्यालयकी पद्मिनी डङ्गोल तृतीय हुनुभयो । बालसेवा माध्यमिक विद्यालयकी निशा योगीले सान्त्वना पुरस्कार जित्नुभयो ।
नेपाली भाषा कवितामा बालसेवाकी एन्जल श्रेष्ठले प्रथम, दिव्यज्ञान माध्यमिक विद्यालयकी प्रजिता तामाङले दोस्रो, काठमाडौँ मोडेल स्कुलकी अंशु थापाले तेस्रो र विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी स्नेहा न्यौपानेले सान्त्वना पुरस्कार हासिल गर्नुभयो ।
यसै गरी नेपाल भाषा निबन्धतर्फ जगतसुन्दर ब्वनेकुथिकी सजगता मानन्धर, माउन्ट ग्लोरी स्कुलकी मेघना शाही र समिरा खड्गीले व्रmमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । भानु माध्यमिक विद्यालयकी पल्पसा वज्राचार्यले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । यसै गरी नेपाली भाषाको निबन्धमा विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी सङ्ज्ञा श्रेष्ठले प्रथम, दिव्यज्ञानकी जस्टिन कार्कीले दोस्रो, अन्नपूर्ण मावियाकी रचना बस्नेतले तेस्रो र दिव्यज्ञान मावियाका ऋषभ अर्यालले सान्त्वना पुरस्कार हासिल गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल, भाषा आयोगका सदस्य सुरेश मानन्धर र वडा नं २३ का अध्यक्ष मचराजा महर्जनले विजेताहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । वरिष्ठ लेखक रमेश काजी स्थापितको संयोजकत्वमा कवि नारद वज्राचार्य र पूर्णिमा डङ्गोल शाक्य सम्मिलित निर्णायक मण्डलले विजेता चयन गरेको हो ।