काठमाडौँ, असार १ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढ्न नसकेकोमा चिन्ता प्रकट गर्नुभएको छ ।
मन्त्रालयअन्तर्गतको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।
मन्त्री पौडेलले नागरिकलाई देखिने गरी परिवर्तन दिलाउनु आफ्नो चाहना रहेको र हुटहुटिका साथ काम गरिरहेको भन्दै यसलाई बुझिदिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म पुँजीगत खर्च सोचेजस्तो हुन सकेको छैन । यो गम्भीर प्रश्न हो ।विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो । पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।’’
साथै, मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताउनुभयो ।
कर्मचारीको कार्यसम्पादन गरेर भए पनि पुँजीगत खर्च बढाउनु आवश्यक रहेको उहाँको ठहर छ । नीतिगत सुधार आवश्यक भए सुधार गर्न आफू तयार रहेको मन्त्री पौडेलले जीकिर गर्नुभयो ।
सरकारी अस्पतालमा नागरिकको विश्वास रहेको भन्दै मन्त्री पौडेलले यसलाई टिकाइराख्न आवश्यक सुधार गर्न तयार रहेको र कर्मचारीको साथ आवश्यक रहेको बताउनुभयो ।
अहिलेको चुनौतीपूर्ण अवस्थामा बजेट बढाउन आफूले धेरै मेहनत गरेको भन्दै यसलाई खर्च गर्ने सवालमा गम्भीर भइदिन कर्मचारीसँग मन्त्री पौडेले आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले सरकारी कर्मचारीसहित संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सरकारले नीतिगत बाटो खोलेको भन्दै यसलाई कार्यान्वयनमा साथ दिन अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले स्वास्थ्य बीमामा श्रोत अभाव छ । सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराएमा ४० अर्बसम्म जम्मा हुन सक्छ । यसको कार्यान्वयनमा तपाईंहरुले साथ दिनुहोला ।’’