डुब्न लागेको घामको प्रकाशमा रङ्गिएको छाललाई हेर्छ प्रभात । कता कता उसले त्यहाँ आमाको प्रतिविम्ब देख्छ । उही बाटुलो मुहार, निधारमा बिन्दुली टीका लगाएको, बुट्टेचोली, गहुनको फरिया पहिरिएको, हातमा चाँदीको बाला लगाएको.... । ‘आमा’ अनायास उसको मुखबाट निस्किन्छ ।
केही महिनाअघि आमालाई यही नदीको किनारमा विसर्जन गरिएको थियो । नदी जस्ती आमा यही नदीमा प्रवाहित भएकी थिइन् । केही क्षणमा आकृति बिलाउन थाल्छ । ‘उफ् दृष्टिभ्रम !’ ऊ पसिना पुछ्न थाल्छ । यो नदी र आमाको गहिरो र सार्वभौमिक सम्बन्ध छ । ऊ किनारैकिनारको बाटो हिँड्दै अतीततर्फ फर्किन्छ ।अक्सर उनी यही नदी किनारको बाटोबाट हाटबजार धाउँथिन् । ढाकरमा भारी बोक्दै, ठाडीको उकालो चढ्दै गीतका गेडाहरू गुनगुनाउँथिन्, ‘ढाकरलाई तोक्मा, के भोग्नु प¥यो यो नरलोकमा’ । केही क्षण ढिस्कोमा बसेर नदीका सुसाइमा हराउँदै पुनः गुनगुनाउँथिन्, ‘कोशी सुसाउने, यो मनको बह कहाँ बिसाउने ।’
हाटबजार पुगेपछि बोकेर ल्याएका सामानहरू अदुवा, टिम्बुर, लामपाते सुर्ती, मौसम अनुसारका फलफूल आदि टाट्नोमा फिँजाउँथिन् । जति बिक्री हुन्थ्यो त्यही पैसाले दैनिक उपभोग्य वस्तु खरिद गर्थिन् । कहिलेकाहीँ दिनभरि घाममा टट्टिँदा पनि सामान बिक्री नभएपछि बर्बराउँथिन्, “यो जुनी यही घाममा सुकेर जाला जस्तो छ छोरो ।”
यतिखेर जुन अनुहार अँध्यारो औँसीको झैँ कालो निलो छ, कुनै समय त्यो अनुहार पुर्णेको जुन झैँ खुलेको थियो । उनी फूलको थुङ्गा झैँ हलुकी, हरिणी झैँ चञ्चल भएर रनवन डुल्थिन् । बाटुलो मोहडाका कारण बाटुलीको नामले चर्चित थिइन् गाउँमा । उनको रूप मात्र होइन, स्वर पनि त्यति नै सुमधुर थियो । गाउँको चौतारो, खोला, खोल्सी, वन, बुट्यान कुनै पनि स्थान थिएन होला; जहाँ उनको मारुनी, सङ्गिनी, हाकपारे, गोठाले गीत नगुन्जिएको होस् । “ओइ बाटुली, बारीमा गोरु पसेर सबै बिउ खाइसक्यो, तँचाहिँ गोठाले गीत गाएर बसिरहनु !” उसको कानमा बुवाको स्वर आउन थाल्यो, “ला गोरुले सबै बिउ खाएछ, ए प्रभातेको बुवा त्यो गोरु धपाइदिनु त !” “लागिरहेछ, तिमीहरू चाहिँ गीत गाएर बस्ने, म चाहिँ गोरु धपाउने,” बुवा रन्थनिन्थे ।प्रभातले एकाएक त्यो भयानक रात सम्झियो ।
भोलि बिहानै बुवा कोइलाखाँद जान तम्तयार भइसकेका थिए । गाउँका सारा तन्नेरीलाई कोइलाखाँद पुगेर रुपियाँ टिपेर ल्याउने हावाले समाइसकेको थियो । तिनीहरू अञ्जान थिए । त्यो बोट नीलकाँडाको बोट हो । रोटे कमिला र अरिङ्गालले गुँड लगाएको बोट । जुन दिनदेखि बुवालाई त्यो विषालु हावाले समायो, पुर्णेको जून झैँ आमाको अनुहारमा औँसीका रेखाहरू प्रवेश गर्न थालिसकेका थिए । आमाको मनमा पहिरो जाने क्रम सुरु भइसकेको थियो । आमा कालोनिलो भइसकेकी थिइन् । दियोमा धिप धिप बत्ती बलिरहेको थियो । चुक पोखिए झैँ अँध्यारो अनुहार लगाउँदै खाना पस्किँदै थिइन् आमा ।
“समुद्रमा डुबिन्छ भन्ने जान्दाजान्दै मान्छे किन फालहाल्छ, भन त बाटुली,” बुवाले निराश मुद्रामा सोधे ।
“मोती टिप्न हो कि होइन, ‘खोइ कुन्नि !” आमाका आँखाबाट आँसु गुड्न थाले । सखारै पालीमा गुँड लगाएर बसेका गौँथली चिर्बिराउनेबित्तिकै बुवा ब्युँझिए । उनले झोला, झाम्टा, बोरा, बिस्तारा तयार पारिसकेका थिए । आमाले दैलामा घडा, पाञ्चायन पूजा गरेर थालीमा दही, अक्षताको टीका तयार पारिसकेकी थिइन् । टीका लगाइदिएपछि गाउँका तन्नेरीसँगै बुवा पहिराको टापुबाट तल झर्न थाले । मूलबाटोको बुढो सिमलको रुखको फेदबाट आमाले निकै बेरसम्म तल तल हेरिरहिन् । सालघारीबाट चलेका हावाको झोकासँगै बुङ्ग छारो उड्दै थिए । तलबाट तन्नेरी स्वर आइरहेका थिए, ‘तिनजुरे डाँडा नि गुराँसे पाखा देउराली काटौँला, नमरी बाँचे दैवले साँचे आउने साल भेटौँला ।’
सुँक्क सुँक्क गर्दै निकै बेरसम्म तल तल हेरिरहिन् आमाले । त्यही दिनबाट उनको अनुहारबाट हाँसो हराउन थालेको हो । अतीतका दृश्यहरू चलचित्रको रिल झैँ उसको मानसपटलमा घुम्न थाल्छ । उनी दिनहुँ सिमलको रुखबाट तल तल हेर्थिन् । सिमलका पातहरू झर्छन् । पलाउँछन् । तीन वर्षा, हिउँद बित्छन् तर बुवा फर्किंदैनन् ।
त्यतिखेर अहिले जस्तो टेलिफोन, मोबाइल, इन्टरनेटको सुविधा पनि थिएन । सारा खबर हुलाकीले नै आवत जावत गराउँथ्यो । जब हुलाकीको पदचाप अगाडि बढ्थ्यो तब गाउँका सारा युवती खरायोको झैँ कान ठाडो पार्दै, घाँस काटेर आएका छन् भने घाँसको भारी बिसाउँदै, दुध दोहिरहेका छन् भने एक सिर्का गबुवामा र एक सिर्का भुइँतिर झार्दै अपलक हुलाकीलाई हेरिरहन्थे । कतै आफ्ना खसमहरूको खबर आएको पो छ कि !
“ए प्रभात बुवाको चिठी आएको रहेछ, पढेर सुनाइदे बाबु !” आमा उत्सुक र प्रफुल्लित मुद्रामा आइन् । प्रभात चिठी पढ्न थाल्यो । ‘प्यारी बाटुली, दुई छोरा प्रभात किरण असीम सम्झना !... म यो कोइलाखाँदमा अत्यन्तै कष्टले जीवन गुजारा गरिरहेछु । म त्यस्तो ठाउँमा बस्न बाध्य छु; जहाँ गोठका गाईबाख्रा पनि बस्न हिचकिचाउँछन् । ठेकेदारले खाना त दुवै छाक खुवाउँछ तर खाना कैदीलाई खुवाइने ‘ख’ श्रेणीको सिदाभन्दा पनि गएगुज्रेको हुन्छ । कहिले राति पनि ड्युटी पर्छ । कोइलाखानीभित्र कोइला निकाल्दा निसासिए झैँ हुन्छु । घरिघरि त लाग्छ, दशा लागेर यहाँ आइपुगेछु तर फेरि तिम्रो उघ्रिएको चोली, चुहिएका जस्तापाताको छाना सम्झिएर मन सम्हाल्छु । यो महिना त्यस्तै भयो, अर्काे महिना धनादेशबाट पैसा पठाऊँला । उही तिमीहरूको अभागी धने ।”
आमाको अनुहारमा भीषण त्रासका बादल मडारिन थाले । मानौँ कि कोइलाखाँदले घरगृहस्थी सबलाई खरानी बनाउँदै छ । हुलाकी आउने जाने क्रम चलिरहन्छ । जब कौवा रुखमाथि बसेर कराउँथ्यो, गाउँका सारा युवतीको एउटै स्वर आउँथ्यो, ‘सुबोल ! सुबोल, दुधभात दिऊँला ।”
मूलबाटोको सिमलको रुखमा बसेर निरन्तर काग कराइरहेको थियो, काँ...काँ... ।
यतिखेरै हुलाकीको चिठी आयो । चिठीको खबरै त्यस्तो थियो जुन प्रभातले पढ्न सकेन । खबर थियो, कोइलाखानीमा आगलागी हुँदा धनबहादुरको जलेर मृत्यु । खबर थाहा पाउनेबित्तिकै आमा कट कट दाह्रा किट्दै मुर्छा परिन् । मानौँ, यतिखेर उनलाई दिउँसै रात परेको छ । उनी विशालकाय अजिङ्गरको मुखभित्र पसेकी छन् । सातै पहाड आएर उनलाई थिचिरहेछ । “नरोऊ नानी, संसारको रीत नै यस्तै हो । अब दुई छोराको मुख हेरेर बस,” छिमेककी काकीले सम्झाइन् ।
“गाउँ नै उजाड पार्ने भयो कोइलाखाँदले,” ढुङ्गेघरे काजीबाले सम्झाए, “यो तिम्रो मात्र व्यथा होइन, यस्तै ताल हो भने गाउँमा मलामी हुने छैनन् । वृद्धवृद्धालाई दागबत्ती दिने कोही हुने छैनन्, आफूलाई सम्हाल दुलही ! यो तिम्रो मात्र व्यथा होइन, सिङ्गो गाउँको व्यथा हो ।”
प्रभात स्मृतिबाट वर्तमानमा फर्किन्छ । “आमा,” ऊ बर्बराउँछ । ठाडीको उकालो चढ्दै पुनः स्मृतिमा डुब्छ । पहाडमा टिक्न नसक्ने वातावरण नभएपछि आमा उसको भाइलाई लिएर मैदानतिर झरिन् तर दुःखीलाई जताततै दुखैदुःख । उनले आफ्ना दुई छोराको पालनपोषणका निम्ति रोडा बोकिन्, गिट्टी कुटिन् । बालुवा चालिन् । दुनियाँको छिः छिः दुरदुर, अपमान तिरस्कार सहिन् । उसले पुनः अर्काे भयानक रात सम्झियो । रातभरि सानो भाइलाई झाडाबान्ता लाग्यो । बिहानै मिस्त्री काकाको सहयोगमा अस्पताल पु¥याइयो । सायद झुत्रे, झाम्रे, गरिब, मजदुर आमाको छोरा भएर होला; अस्पतालमा त्यति वास्ता गरिएन । “छिः छिः बच्चा त कति सारो गन्हाएको,” नर्सले नाक थुनी । “बिरामी नगन्हाए को गन्हाउँछ त,” मिस्त्री काका झनक्क रिसाए । अस्पतालमा उपचार गर्न ढिलासुस्ती भइरहेको थियो । भाइ निरन्तर बान्ता गरिरहेको थियो । “लौन ईश्वर के गर्ने होला ! म दुःखीलाई मात्र बारम्बार किन यस्तो हुन्छ ? मैले के बिराम गरिदिएको छु तिम्रो ?” आमा अत्तालिन थालिन् । “नआत्तिऊ बहिनी, सबै ठिक हुन्छ,” मिस्त्री काकाले सम्झाए ।
“भरे आऊँला बहिनी, वर्कसप नगई चुलो बल्दैन । साहु एकदम हरामी छ । एक दिन गएन भने पनि कामबाट निकालिदिन्छ” भन्दै काका वर्कसपतिर लागे ।
अस्पतालको वार्डमा मधुर प्रकाश छाइरहेको थियो तर यतिखेरसम्म पनि भाइको उपचारमा तदारुकता देखाइएको थिएन । भाइको अनुहार पहेँलिँदै गइसकेको थियो । आँखा धसिइसकेका थिए । बोली बन्द भइसकेको थियो । हातगोडा चिसिँदै गइरहेका थिए । “तिमीहरू उपचार गर्न बसेको कि तमासा हेर्न बसेको ?” मिस्त्री काका जङ्गिए । “मेरो भाइ प्रहरी छ, उपचार गर्छाै कि भाइलाई लिएर आऊँ, तिमीहरूलाई ज्यानमारा पारिदिऊँ ?” काकाको कुरा वार्डमा घुमिरहेका डाक्टरले सुनेपछि सिस्टरलाई आइसियुमा लिएर जान उसले आदेश दियो । उसलाई अक्सिजन र स्लाइन चढाइयो । विडम्बना ! स्लाइन नसाबाट पास भएन ।
“ढिलो भयो, भाइरसको सङ्क्रमण दिमागमा पुगिसक्यो,” डाक्टर निराश मुद्रामा आयो । भाइ फुस्रा आँखा पल्टाउन थाल्यो । “प्रभात ।” आमाले उसलाई अँगालो हालिन् । “अब तिमीबाहेक मेरो कोही छैन ।”
“साने, तँ कति राम्रो चित्र कोर्थिस् । तैँले बनाउन खोजेको मिठुको चित्र अब कसले पूरा गर्छ,” प्रभात पनि हिक्क हिक्क गर्न थाल्यो । प्रभात अतीतबाट वर्तमानमा फर्किन्छ । चौतारामा पुगेर पहाडलाई हेर्दै सोच्छ– मेरी आमा पनि पहाड थिइन् । दुःखको पहाड । कष्टको पहाड ।घरमा पुगेपछि आमाको पुरानो सन्दुक खोल्छ । श्यामश्वेत तस्बिर हेर्न थाल्छ । प्रायः सबै तस्बिरमा आमाको उदास र निराश तस्बिर मात्र देख्छ । खै कहिले हाँसिछिन् त आमा ? ऊ आमा हाँसेका पलहरू सम्झिने कोसिस गर्छ ।
गाउँबाट सहर फर्किन्छ । अचम्म ! उसले त्यहाँ आमा हाँसेको देख्छ, जहाँ उसकी छोरी हाँसिरहेकी हुन्छे ।तर कति दिन रहला आमाको हाँसो ? ऊ पुनः अतीततर्फ फर्किन्छ ।