• १७ असार २०८१, सोमबार

सामुदायिक पुस्तकालयको सम्मेलन सम्पन्न

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १४ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा असार १३ र १४ गते सञ्चालित सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको सो सम्मेलनको उदघाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गर्नु भएको थियो । नेपालमा औपचारिक रूपमा पुस्तकालय स्थापना गर्न कानुन बनेको २१३ वर्ष भइसके पनि हालसम्म कुनै पनि खालका पुस्तकालयको सञ्चालन, व्यवस्थापन र सहजीकरणका लागि कानूनको अभाव भएको भन्दै मन्त्री गिरीले यस क्षेत्रसँग सम्वन्धित कानुन निर्माण गर्ने काममा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सम्मेलनको बन्दसत्रमा वागमती प्रदेशका तीन दर्जनभन्दा बढी पुस्तकालयका प्रतिनिधिले आफ्नो पुस्तकालयको परिचय, हालसम्म गरेका काम तथा भोग्नु परेका समस्या, चुनौतीबारेमा चर्चा गर्नु भएको थियो । सम्मेलनमा गण्डकी, लुम्विनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक तथा प्रतिनिधि पुस्तकालयको समेत उपस्थिति रहेको थियो । 

सम्मेलनमा प्रस्तुतीलाई सहजीकरण गर्न किरण पुस्तकालय तम्घास, गुल्मीका अध्यक्ष शशी पन्थी, नेपाल सामुदायिक पुस्तकालय संघका संस्थापक अध्यक्ष वासुदेव ढुंगाना, निवर्तमान अध्यक्ष केशवराज आचार्य, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयका पूर्व अध्यक्ष इन्दिरा दली, रिड नेपालका पूर्व अध्यक्ष भोलाकुमार श्रेष्ठ, भीम पुस्तकालयका संस्थापक अमरकुमार प्रधानले विभिन्न सत्रको अध्यक्षता गर्नुभएको थियो । 

सम्मेलनमा पुस्तकालयविद् इन्दिरा दलीले पढ्ने बानी विकास गर्नमा बाल पुस्तकालयको भूमिका र प्रा.डा. ध्रुवकुमार घिमिरेले बालबालिकाका उमेरअनुसार के कस्ता साहित्यको छनोट गर्ने भन्ने सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

सम्मेलनको अन्तिम दिन आज सुजाता विष्टको अध्यक्षतामा ७ सदस्यीय नेपाल सामुदायिक पुस्तकालय संघ, वागमती प्रदेश कार्य समिति तथा काठमाडौ उपत्यका सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. गोविन्दप्रसाद पोखरेल संयोजक रहेको ७ सदस्यीय सल्लाहकार समिति गठन गर्दै १५ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ ।

सम्मेलनको समापनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख एवम् डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका सदस्यसचिव यादवचन्द्र निरौलाले मन्त्रीको आश्वाशनले नयाँ आशा पलाएको तथा यसभन्दा अगाडि भएका विभिन्न प्रदेश सम्मेलनले पुस्तकालयको क्षेत्रमा नयाँ बाटो पहिचान गर्न सक्षम भएको कुरा व्यक्त गर्नुभयो ।    

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा नेपाल सामुदायिक पुस्तकालय संघले यसभन्दाअघि ६ वटा प्रदेशमा प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।