• १७ असार २०८१, सोमबार

अबको साता बढी वर्षा हुने

blog

काठमाडौँ, असार १५ गते । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताउनुभयो । 

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान सुरु भइसकेको छ । 

विगत १२ घण्टामा सर्लाही क्षेत्रमा १४५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । महाशाखाले जनाए अनुसार गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको छ । 

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । सहरी तथा तराई क्षेत्रमा डुबान हुँदा बस्तीहरू उच्च जोखिममा रहनुका साथै ठुला तथा साना नदीनाला र खोलामा बहावको सतह बढ्ने हुँदा आवश्यक सतर्क रहन सुझाइएको छ ।  

सो क्रममा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि सरोकारवाला निकायहरूलाई अनुरोध गरिएको छ । 

वर्षाको क्रमसँगै नेपालका सानाठुला नदीको बहाव उच्च बन्ने भएकाले नदी तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ । सो क्षेत्रमा भौतिक पूर्वाधारका काम भइरहेको भए रोक्न अपिल गरिएको छ । नदीमा बहाव बढ्ने भएकाले डुबान, कटान तथा बस्तीमा पस्न सक्ने क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

सरकारको तयारी तीव्र

मनसुनी वर्षाबाट आइपर्ने विपत्बाट जनधनको क्षति रोक्न गृह मन्त्रालय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च रूपमा तयारी थालेको छ । जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्न प्रदेश सरकारसँग समन्वय भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।