• १२ पुस २०८१, शुक्रबार

टक्सिला अर्थात् त्यो तक्षशिला

blog

गान्धारको भामलामा रहेको स्तूप ।

प्राच्यविद्या अध्ययनको विद्यार्थीका नाताले ‘नेपाल विद्या’ को विधा निर्माण सिद्धान्त तय गर्दा मेरो मनमा प्राचीनतम शिक्षा र सभ्यता अध्ययनको हुटहुटी जागेको थियो । सामग्री खोजीकै क्रममा नाम चलेका केही आधुनिक विश्वविद्यालय र अध्ययन केन्द्रका सामग्री त अध्ययन गर्ने अवसर जुरेको थियो तर प्राच्य अध्ययन परम्पराको केन्द्र रहेका तक्षशिला र नालन्दाको शिक्षा र सभ्यता परम्परा भने नेपाल विद्याको विधा निर्माणको सिद्धान्त खण्डमा समेट्न सकेको थिइनँ । 

प्राचीनतम तक्षशिला (संस्कृत) नगर सभ्यता वा विश्वविद्यालयसँगको नभई तख्खशिला (पाली) सँग प्रगाढ सम्बन्ध रहेको बौद्ध सभ्यतालाई नजानिँदो गरी पछ्याएको रहेछु । नेपाल विद्याको प्रयोग अन्तर्गत ‘लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खनन’ शीर्षकमा गरेको अध्ययनले मेरा पाइला तक्षशिला विश्वविद्यालय रहेको स्थानसम्म पु¥याउन विशेष योगदान दियो । 

तक्षशिला वा तख्खशिलाको खोजीमा टक्सिला पुग्नुपर्ने हुन्थ्यो र त्यही अध्ययनको पाटोले नै मलाई सर्वप्राचीन विश्वविद्यालय अवस्थित टक्सिला भ्रमणको साइत जुरायो । बुद्ध जयन्तीको अवसर पारेर पाकिस्तान सरकारले मनाउन थालेको वैशाख कार्यक्रम अन्तर्गत २०२४ मे २८ देखि ३० सम्म इस्लामाबादमा आयोजित ‘गान्धारबाट विश्वमा’ शीर्षकको कार्यशालामा सहभागी हुने अवसर जु¥यो । त्यसै क्रममा भएको गान्धार क्षेत्रको भ्रमण र त्यसपछिका पनि केही खोजीका आधारमा यो आलेख त्यही प्राचीनतम तक्षशिला विश्वविद्यालयमा समर्पित छ ।

हिमाली देश नेपाल र पाकिस्तान दक्षिण एसियाली क्षेत्रका छिमेकी हुन् । सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भई भारत र पाकिस्तान दुई देश अलग भएयता नेपाल र पाकिस्तानबिचको औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६२ मा स्थापना भएको हो । प्राचीनताका दृष्टिले समान र ऐतिहासिक पुरातात्त्विक  महत्वका धेरै सम्पदा नेपाल र पाकिस्तानमा रहेका छन् । वैदिक, हिन्दु र बौद्ध सभ्यताका धरोहरले नेपाल र पाकिस्तानको सम्बन्धमा थप आयाम ल्याएको छ तथापि त्यसलाई थप उजागर गर्दै दुई देश र बाँकी विश्वले पनि अपेक्षित लाभ लिन सकेको छैन ।

शिक्षा र सभ्यता

शिक्षा र सभ्यता मानव विकासका दुई महत्वपूर्ण पक्ष हुन् । हाम्रा पुर्खा जन्मे, हुर्के, बढे र नयाँ सिर्जना वा भएकामा पनि केही थपथाप गरेर नयाँ पुस्तालाई छाड्दै गए । नयाँ सिर्जना भए वा थपथाप गरिएका मात्र होइन कतिपय चाहिँ अन्जानमा वा जानाजान पनि विनाशसमेत गरेर गए । यस्तै सिर्जना र विनाशको सुख र दुःख समेट्दै तक्षशिला, तख्खशिला वा टक्सिलाको इतिहासको ठुलो कालखण्ड अधिकतर भूगर्भमा समाहित छ पाकिस्तानको गान्धार क्षेत्रमा । अझै पनि अधिकतर ढुङ्गा वा माटामुनि रहेको शिक्षा र सभ्यताको केन्द्रका केही स्थानमा उत्खनन गरी संरक्षण गरेर राखिएको पुरातत्वले शिक्षा र सभ्यताको प्राचीनतम धरोहरमार्फत त्यससँगै जोडिएका धर्म र संस्कृतिका साहित्यले हामीलाई अहिलेको गान्धारको टक्सिला हुँदै तख्खशिला र उहिलेको तक्षशिला पुग्न सहयोग गर्दछ ।

गान्धारको जौलियान (जेवालियन) मा रहेको स्तूप । 

तक्षशिलाको नाम सुन्नेबित्तिकै एउटा विम्ब आउँछ, सर्वप्राचीन विश्वविद्यालय तक्षशिलाको । यो नाम नगर सभ्यतासँग पनि जोडिएको र त्यसैका आधारमा विश्वविद्यालयको नाम राखिएको मानिएको छ । त्रेतायुगमा श्रीरामका भाइ भरतका छोरा तक्षले बसाएको नगरलाई तक्षशिला नामकरण गरिएको भन्ने मानिएको छ । इसापूर्व १००० ताकाको मानिएको यो नगर वर्तमान पाकिस्तानको गान्धार क्षेत्रमा छ । पाली भाषामा तख्खशिलाका नामले चर्चित यो नगर सभ्यता अहिले न तक्षशिला छ न त तख्खशिला; बरु केही मात्रामा तिनको विरासत जोगाउँदै टक्सिलामा परिचित छ । टक्सिला चाहिँ ग्रिसेली वा यवनी राजको बेलामा उनीहरूले तक्षशिलाको सहज उच्चारण गर्दै अभिलेखीकरण गरेको नाम हो । यवनी राजमा पूर्वीय र युरोपेली कला संस्कृतिको फ्युजन भई कला सभ्यताको नयाँ र चरमोत्कर्षमा पुगेको थियो ।

तक्षशिला विश्वविद्यालयमा ६० भन्दा बढी विषयमा विश्वका विभिन्न भागबाट १० हजार पाँच सय विद्यार्थी अध्ययन गर्ने गरेको उल्लेख भएको पाइन्छ । इसापूर्व ३२६ मा सिकन्दरले आक्रमण गर्नुअघि त्यो चिकित्साशास्त्र अध्ययन अनुसन्धानको केन्द्र पनि रहेको थियो । विस्तृत भूभागमा फैलिएको तक्षशिलाको केन्द्रीय स्थान भने नरहेको उल्लेख पाइन्छ । अहिले पनि पाकिस्तानको पन्जाब प्रान्त अन्तर्गत रावलपिन्डी र खैबर पाख्तुख्वा प्रदेशको हरिपुर जिल्लामा फैलिएका छन् ।

तीन सभ्यताको केन्द्र

गान्धार गन्धर्वदेशबाट बनेको नाम हो । गान्धार इसापूर्व पहिलो सहस्राब्दीको मध्यदेखि दोस्रो सहस्राब्दीको सुरुसम्म सिन्धु नदीको पश्चिममा अवस्थित थियो; जुन अहिले पाकिस्तानको उत्तरी सिमानामा पर्ने पेसावर, स्वात, दिर, बाजौर, बुनेर, मर्दान र स्वाबीमा पर्दछ । त्योभन्दा पनि बृहत् गान्धारको सिमाना अफगानिस्तानको काबुल उपत्यकाबाट पाकिस्तानको पोथोहर (पोतवार) पठारसम्म फैलिएको छ । अहिले गान्धार क्षेत्रमा पाइने पुरातात्त्विक  सम्पदा बौद्ध धर्ममा आधारित पाइन्छन् ।

गान्धारको भामलामा रहेको बुद्धको ढुङ्गा र माटोको मूर्ति ।

तक्षशिला वैदिक, हिन्दु र बौद्ध सभ्यताको केन्द्रका रूपमा रहेको पाइन्छ । गान्धारको चर्चा ऋग्वेदमा र विशेष गरी तक्षशिलाको उल्लेख हिन्दु सभ्यतामा वाल्मीकि रामायण, कालीदासको रघुवंश तथा बौद्ध जातकहरूमा पाइन्छ । बुद्धका मित्र प्रसेनजितले तक्षशिलामा अध्ययन गरेको उल्लेख पाइन्छ । तेलपत्त, सुसिमजातक, उद्यालक र सेतकेतु जातकमा तक्षशिलाको अवस्थिति र तक्षशिला महाविद्यालयको चर्चा पाइन्छ । 

टोलेमीको ज्योग्राफी ग्रन्थ र जोन हिल्डेसिमको ‘हिस्ट्री अफ थ्री किङ्स’ मा पनि यस स्थानको नाम उल्लेख छ । वराहमिहिरको ज्योतिष ग्रन्थ बृहत् संहिता, रामायण, महाभारत, कौटिल्य ग्रन्थमा यस स्थानको नाम उल्लेख छ ।

बुद्धकालमा कोसल नरेश प्रसेनजित, कुशीनगरका बन्धुलमल्ल, वैशालीका महाली, मगध नरेश बिम्बिसारका प्रसिद्ध राजवैद्य जीवक तथा चाणक्य र वसुबन्ध यही विश्वविद्यालयका छात्र रहेको उल्लेख पाइन्छ । चाणक्य त पछि त्यहीँ आचार्य भएका थिए । पाणिनिको रचना अष्टाध्यायी पनि यहीँ भएको मानिएको छ । 

सर्वप्राचीन तक्षशिलामा वेद–वेदान्त, अष्टादश विद्या, दर्शन, व्याकरण, अर्थशास्त्र, राजनीति, युद्धविद्या, शस्त्रविद्या, ज्योतिष, आयुर्वेद, ललितकला, हस्तविद्या, अश्वविद्या, मन्त्रविद्या, विभिन्न भाषा, शिल्प आदिको अध्ययन अध्यापन हुन्थ्यो । १२ वर्षको अध्ययन गरेपछि स्नातक उपाधि दिइन्थ्यो । 

यो विश्वविद्यालय पूर्व र पश्चिमबाट आउने रेसममार्गमा अवस्थित थियो; जसले सुगमता र समस्या दुवै निम्त्यायो पनि । इसापूर्वको चौथो शताब्दीदेखि यो विश्वविद्यालयलगायत अन्य पनि मठमन्दिर र बौद्धविहारहरूमा आक्रमण हुन थाल्यो । पूर्वबाट आएका फिरन्ते हुणले आक्रमण गरी विध्वंस गरेका थिए । त्यसपछि पनि मुहम्मद विन कासिम, महमुद गजनवी र साहब उद्दिन मुहम्मद गोरीले यस क्षेत्रमा सम्पदाको विनाश गरेका थिए । 

भूमिमा समाहित सम्पदामध्ये केहीको उत्खनन गरेर पाकिस्तानले सम्बन्धित स्थलमा र सङ्ग्रहालयमा समेत संरक्षण गरेको छ । त्यसरी सङ्ग्रह गरिएको टक्सिला म्युजियममा ‘गान्धारको शाब्दिक अर्थ सुगन्धको भूमि’ भनेर चिनाइएको छ । 

इपू ३२७ मा अलेक्जेन्डर द ग्रेटको विजयसम्म गान्धार मूल रूपमा अचेमेनिड साम्राज्यको एक प्रान्त थियो । यो क्षेत्र मौर्य साम्राज्य अन्तर्गत चन्द्रगुप्त मौर्यद्वारा प्रख्यात भयो । यहाँ उनका नाति सम्राट् अशोक (इसापूर्व २७३–२३२) ले बौद्ध धर्मको थालनी गरेका थिए । अशोकको पहललाई गान्धाराका मानिसले स्वीकार गरे र बुद्ध धर्मलाई सीमापार, चीन र अन्य क्षेत्रमा पनि फैलाए । अशोकको मृत्युपछि मौर्य साम्राज्यको पतन भयो । त्यसपछिका चार सय वर्षसम्म गान्धार क्रमशः ब्याक्ट्रियन ग्रिक, शक, पार्थियन र कुषाणको अधीनमा रह्यो । 

गान्धारको जौलियान (जेवालियन) मा रहेको भग्न बुद्ध मूर्तिको तल ब्राह्मी लिपिका अक्षर । 

कुषाणकालीन राजा कनिष्कको पालामा बौद्ध धर्म र सम्पदा असाध्यै धेरै विस्तार भएको थियो । अहिले भूगर्भमा पाइएका सम्पदाहरू त्यसै समयमा बनेका हुन् भन्ने विश्वास छ । तर इसाको तेस्रो शताब्दीमा कुषाण साम्राज्यको पतनले गान्धारमाथि नियन्त्रण लिन विभिन्न राजवंशबाट लगातार आक्रमण भइरहे । तिनको पनि पतनपछि गान्धारमा हिन्दु धर्म पुनर्जीवित भयो र बौद्ध गान्धारण सभ्यता समाप्त भयो । 

तक्षशिलादेखि टक्सिलासम्म

भाषिक संरचनाका आधारमा संस्कृत तत्समको ‘तक्षशिला’ ‘तक्ष’ र ‘शिला’ दुई शब्दको समासबाट भएको हो । त्यसैलाई पाली प्राकृत भाषामा तख्खशिला भनियो । बौद्ध साहित्य पाली भाषामा लेखिने हुँदा पाली भाषामा यसको प्रचार तख्खशिलाबाटै भयो । अहिले पनि बौद्ध भिक्षु र अध्येताले तख्खशिलालाई विशेष स्थानका रूपमा लिने गर्दछन् । फा हियानले तक्षशिलालाई चिनियाँ भाषामा ‘चु–च’–शि–लो’ वा ‘छिनालिएको शिर’ भनेर लेखेका छन् । उनका अनुसार यहाँ बोधिसत्वले आफ्नो शिर दान (ब्राह्मण रुद्राक्षलाई) दिएका थिए । 

तक्षशिलाका विभिन्न स्थानको उत्खनन गर्ने पुरातत्वविद् जोन मार्सल (इसाको १८७६–१९५८) का अनुसार टक्सिला ग्रिसेली र रोमेलीद्वारा प्रयोग गरिएको सङ्क्षिप्त रूप थियो । यो नाम युरोपेली लेखकहरूले प्रयोग गरेका थिए । यसको तिब्बती नाम ‘र्दो–हजोग’ हो; जसको अर्थ ‘ताछिएको ढुङ्गा’ भन्ने हुन्छ । यो तक्षक चट्टान हो भन्ने पनि मत छ । तक्षक भनेको नाग हो । 

टक्सिला नाम भने गान्धार क्षेत्रमा ग्रिसेली शासन परम्परादेखि चलाइएको शब्द हो । तक्षशिलाबाट बनेको तख्खशिलालाई ग्रिसेली भाषिक उच्चारण परम्परासँग मिल्ने गरी टक्सिला उच्चारण गरिएको र त्यसैको व्यापक प्रचार हुँदा अहिले उक्त स्थान टक्सिलाकै नामबाट चर्चित छ । पाकिस्तानमा रहेका बौद्ध परम्पराका र त्यसअघिका अरू पनि केही स्थानका नाम परिवर्तन भएका छन्; जसमा पुरुषपुरबाट पेसावर र पुष्कलावतीबाट चरसद्दा बनेका छन् । 

इसाको १८३३ मा हजारा जिल्लामा फेला परेको ब्याक्ट्रो पाली शिलालेखमा तख्खशलिा नगरबारे उल्लेख छ । मोगा राजाको ७८ औँ वर्षमा उत्कीर्ण ब्राह्मी पाली शिलालेखबारे अलेक्जेन्डर कनिङ्घम (इसाको १८१४–१८९३) ले इसाको १८६२ मा अध्ययन गरेका थिए र उक्त शिलालेख ब्याक्ट्रियनको शासनकालको इसापूर्व ८५ ताकाको गान्धार क्षेत्रको मानिएको छ । 

गान्धारको जौलियान (जेवालियन) मा रहेको भैषज्य बुद्ध ।   टक्सिला म्युजियममा रहेको बुद्धको अस्थिधातु । 

ग्रिसेली शासनमा चाहिँ तक्षशिलाको महत्व देखाउने गरी पाली भाषामा र ब्राह्मी लिपिमा तख्खशिला उल्लेख भएको अभिलेख हालको भारतको मध्यप्रदेशमा पाइन्छ । तत्कालीन भारतमा ग्रिसेली दूत हेलियोदोरुसको नाममा रहेको मध्यप्रदेशको बेसनगर (विदिशा) मा पाइएको इसापूर्व १०० ताकाको हेलियोदोरुस स्तम्भमा पाइएको तख्खशिलाको उल्लेखले बौद्ध धर्म, पाली भाषा र ब्राह्मी लिपिका साथै तक्षशिलाको क्षेत्र विस्तारलाई जनाएको मानिएको छ । प्रारम्भिक रूपमा गान्धारमा बौद्ध धर्म साम्राट् अशोकद्वारा सुरु गरिएको भए पनि कुषाणको आगमनपछि मात्र यो क्षेत्र बौद्ध धर्म र गान्धार कलाको इतिहासमा चरम सीमामा पुगेको थियो । 

गान्धार सभ्यता सम्पूर्ण बौद्ध जगत्को सेतुका रूपमा रहेको छ । बौद्ध धर्मको महायान सम्प्रदायको उद्भव गान्धार क्षेत्रबाटै विस्तार भएको मानिएको छ । इसाको दोस्रो शताब्दीमा गान्धारका इन्डोसेथियन भिक्षु लोकक्षेमले चिनियाँ भाषामा महायान सूत्तहरू (सूत्र) को अनुवाद गरेको पाइएको छ । 

स्वात उपत्यका (ओडियाना) गुरु पद्मसम्भवको जन्मथलो हो । पद्मसम्भवले वज्रयान बौद्ध परम्पराका संस्थापकका रूपमा चिनिने आचार्य पद्मसम्भव धनकोश तालको टापुमा बहुरङ्गी कमलको फूलमा जन्मिएको र ओडियानका राजा इन्द्रभूतिले पालनपोषण गरेको मानिन्छ । उहाँलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा तिब्बत र हिमाली क्षेत्रका बुद्धका अनुयायीले गुरु रिन्पोछेको नामले चिन्छन् । इसाको आठौँ शताब्दीतिर तिब्बतका राज ठ्रिसोङ देहु चेनको निमन्त्रणामा नेपालको मार्ग हुँदै तिब्बतमा बौद्ध धर्मको रक्षा एवं प्रचारप्रसार गर्न जाँदा नेपालमा पनि उहाँले बौद्ध धर्मको प्रचारप्रसार गर्नुभएको थियो । 

नेपालमा रहँदा पद्मसम्भवले खोटाङको हलेसी मारातिका गुफामा अभितायुष बुद्धको साक्षात् दर्शन गरी अमरत्व सिद्धि प्राप्त गरेको, दक्षिणकालीको फर्पिङमा बुद्धत्व प्राप्त गरेको र दामनको ऋषेश्वर (छुमिक ज्याङ्छुप), काभ्रेको तिमाल (यारी नाग), सङ्खुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङ आदि स्थानमा पनि ध्यान साधना गरेको भोट बौद्ध वाङ्मयमा उल्लेख पाइन्छ ।

आधुनिक टक्सिला

अहिलेको गान्धार क्षेत्रको टक्सिला नै प्राचीन तक्षशिला हो । त्यही तक्षशिला र तख्खशिला विशाल क्षेत्रमा फैलिए पनि ती सम्पदा नियाल्न हामीलाई दुई पुरातात्त्विक  स्थल (१) जौलियान (जेवालियन) र (२) भामला तथा टक्सिला म्युजियम लगिएको थियो ।

इन्सायक्लो पिडिया ब्रिटानिकाको अनलाइन संस्करण अनुसार इसाको १८६३–६४ मा र १८७२–७३ मा अलेक्जेन्डर कनिङ्घमले सराइकलामा प्राचीन तक्षशिला/टक्सिला रहेको पत्ता लगाए । सुरु गरेको तक्षशिलाको खोजीले लामो समय निरन्तरता पाउन सकेन । इसाको १९१३ देखि १९३४ सम्म सर जोन मार्सलले विभिन्न ठाउँमा उत्खनन गरेर भूगर्भमा रहेका तक्षशिला÷तख्खशिलाका केही सम्पदा प्राप्त गरे । ती सम्पदाका केही संरचना सर्वप्राचीन विश्वविद्यालयकै मानिएको पनि छ । पुरातत्वविद्हरूका अनुसार सोही स्थानमा बनेका बौद्धविहारका नै अहिले उत्खननमा पाइएका हुन् । हुएन साङले उक्त क्षेत्रमा पाँच सयको हाराहारीमा त्यस्ता बौद्धविहारका  भग्नावशेष रहेका उल्लेख गरेका छन् । तीमध्ये उत्खनन गरिएका दुई पुरातात्त्विक  सम्पदाबारे छोटो चर्चा यहाँ गरिएको छ :

(१) जौलियान (जेवालियन) 

करिब ३००० फिटको उचाइको पहाडी शिरमा अवस्थित बौद्धविहारको भग्नावशेष र अन्य मूर्तिकला जौलियानका विशेषता हुन् । यहाँ भैषज्य बुद्धको मूर्ति विशेष महत्वको छ । अरू पनि ससाता चैत्य, बुद्धमूर्ति आदि सामग्री त्यहाँ रहेका छन् । बुद्धको मूर्तिमा ब्राह्मी अक्षर कुँदिएको पनि देख्न सकिन्छ । मुख्य विहारको बाहिरपट्टि पाकशाला, पुष्करिणी (पोखरी) भण्डार जस्ता संरचना रहेका छन् । पोखरीको वरिपरि रहेका कोठामा जूनको प्रकाश पोखरीबाट परावर्तन भई कोठामा उज्यालो पुग्ने गरी संरचना गरिएको पाइन्छ । 

हामीलाई देखाउने पुरातत्वका अधिकारीले उक्त स्थान सर्वप्राचीन तक्षशिलाकै अवशेषयुक्त रहेको जानकारी दिइन् । तक्षशिला १८ पुरातात्त्विक  स्थल मिलेर बनेको छ । तीमध्ये गान्धारका पन्जाब प्रान्त र खैबर पख्तुनख्वा प्रान्तमा मात्र आठ वटा रहेका छन् ।

(२) भामला

भामला गान्धारको अर्को बौद्ध सम्पदा रहेको छ । यस स्थानको उत्खनन विदेशीले नभई पाकिस्तानकै पुरातत्वविद्हरूले गरेका थिए । बुद्धको महापरिनिर्वाणलाई देखाउने गरी यहाँ संरचना गरिएको माटा र ढुङ्गाको मूर्ति विशालकाय छ । त्यसका अतिरिक्त स्तूप र विहारमा बुद्धका अन्य मूर्ति पनि कुनै कुनै मात्र सग्लो पारेर राखिएका छन् । 

टक्सिला म्युजियम

उत्खनन गरिएका स्थलहरूबाट निकालिएका धेरै पुरातात्त्विक  सामग्री टक्सिला म्युजियममा राखिएका छन् । ब्रिटिस इन्डिया सरकारकै पालामा स्थापना भएको म्युजियममा बुद्धको अस्थिधातु पनि रहेको छ ।

यसरी इसापूर्व १००० वर्षअघिको सम्पदा राज्य, शासक र धर्म परिवर्तन हुँदा कहिले चरमोत्कर्षमा पुग्ने र कहिले ध्वस्त हुने स्थिति बन्यो । अरब तुर्क मुस्लिमको आक्रमणमा परी तक्षशिला विश्वविद्यालय र नगर ध्वस्त बनाइयो । त्यसपछि उठेको बौद्ध सभ्यता र सम्पदा पनि इसाको १२ औँ शताब्दीमा पाल शासन समाप्तिपछि बौद्ध धर्ममा राज्यको संरक्षण हट्यो । बख्तियार खिलजीले ती संरचना फेरि विनाश गरे । अहिले पाकिस्तान इस्लामिक गणतन्त्र भए पनि ती सम्पदाको उत्खनन र संरक्षणको कार्य भइरहेको छ । तक्षशिलाको व्यवस्थापन र संरक्षणको जिम्मेवारी पन्जाब प्रान्त र खैबर पख्तुनख्वा सरकारमा छ । सम्पदाहरू युनेस्कोको विश्व सम्पदा सूचीमा दर्ता भएका छन् । खोजी र अनुसन्धान जारी छ । विश्वका हिन्दु र बौद्ध धर्मावलम्बीका लागि आस्थाको केन्द्र जाग्न लागेको छ । 

लुम्बिनीसँगको नाता

पाकिस्तानमा पाइने जति पनि बौद्ध सम्पदाहरू छन्; तिनमा संसारकै बौद्ध धर्म र दर्शनमा आस्था राख्ने शान्तिप्रेमीको साइनो जोडिएको छ । नेपालको लुम्बिनीमा गौतम बुद्धबाट प्रतिपादन भएको धर्मदर्शन विश्वका अन्य क्षेत्र र देशमा फैलिएको हो । त्यसैले बुद्धको जीवनको आरम्भ भएको लुम्बिनीबाटै यसको यात्रा सुरु भएको मान्न सकिन्छ । 

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसाक डार बुद्धको उपदेश एसियाभर फैलाउन गान्धार सभ्यता महत्वपूर्ण रहेको बताउनुहुन्छ । एसिया र युरोपका समेत प्रतिनिधि रहेको सम्मेलनमा उहाँले उक्त कार्यको संयुक्त पहल गर्न पाकिस्तान तयार रहेको बताउनुभयो । 

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पाकिस्तान र नेपालका बौद्ध सम्पदाबिच सम्बन्ध स्थापना गरी जोड्न संस्थागत पहल भइरहेको बताउनुभयो । उहाँले त्यसका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको र पुरातत्व एवं बौद्ध धर्मदर्शनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरी धार्मिक पर्यटनलाई बढावा दिन खोजिएको स्पष्ट पार्नुभयो । त्यस क्रममा जनचेतना बढाउन तीन वर्षदेखि वैशाख महोत्सव आयोजना गरिएको र पूर्वाधार विकासका लागि पनि पहल गरिएको जानकारी दिनुभयो । 

अहिलेको अवस्थामा यस्ता सम्पदासँग नेपालको लुम्बिनीसँग पाकिस्तानको गान्धार सभ्यता मात्र नभई अन्य पनि बौद्ध सम्पदालाई धार्मिक तथा आस्थाको पर्यटनका माध्यमबाट जोड्न सके सबैको हित हुने छ ।