(विसं १९५८ देखि २०१७ सम्मका गोरखापत्रका आधारमा)
१. शील र शैली
शैली शब्द शीलमा ई प्रत्यय लागेर बन्छ । शीलका विभिन्न अर्थमध्ये चरित्र वा व्यवहार एउटा हो । चरित्र व्यक्तिसँग सम्बन्धित हुन्छ भने व्यवहार व्यक्तिबाट बृहत् रूप लिँदै समाजतिर प्रवेश गर्छ । समाज भन्नेबित्तिकै त्यसका विविध आयाम हुन्छन् । त्यस्ता आयाम निर्माण हुन्छन्, व्यवहारमा आउँछन् र हराउन पनि सक्छन् र फेरि पुनरावृत्ति हुन पनि सक्छन् ।
शीलको चरित्रसम्बन्धी अवधारणाले व्यक्तिको गुणलाई मर्ममा राख्दछ । स्वभावतः चरित्र असल र अनुकरणीय हुनु पर्छ तर त्यो नहुन पनि सक्छ । असल चरित्रलाई चाहिँ अरू व्यक्तिले अनुकरण गर्दै व्यवहारमा अपनाउने हुन् । त्यही शीललाई उही व्यक्तिले निरन्तर अवलम्बन गर्दै गयो भने शैली बन्छ । र, भन्ने गरिन्छ, “दाहाल यज्ञनिधिको कविता ‘वाचन गर्ने शैली’ मिठो छ ।” वा “देवकोटाको निबन्ध ‘लेखन शैली’ कवितात्मक छ ।” यसरी व्यक्तिगत विशेषतालाई शैलीको रूप दिँदै सरल शैली, जटिल शैली, तार्किक शैली, आलङ्कारिक शैली जस्ता शैलीका साझा आधार तय हुन्छन् । त्यसरी सिर्जना भएका शैली विभिन्न विषय क्षेत्रका आधारमा अनुकूल र साझा बनाउने प्रचलन रहेको पाइन्छ ।
शैलीलाई चाल, ढङ्ग, रीति, चालचलन, प्रथा, परम्परा, रचनाको तरिका, वर्णनको रीति र लेखनपद्धतिका रूपमा लिइन्छ । यो भनेको ठिकसँग काम गर्ने तरिका हो । कुशलता, सिप, दक्षता, निपूणता शैलीकै विभिन्न आयाम हुन्, यो भनेको अरूका अगाडि उदाहरणीय बन्ने कला हो । त्यही कलालाई अरूले अवलम्बन गर्दै जाँदा साझा शैली निर्माण हुन्छ । अनि त्यसभित्र व्यावसायिक वा पेसागत शैली खोज्न सकिन्छ । जस्तो कि पढाउने शैली, सिकाउने शैली, बोल्ने शैली, लेख्ने शैली, पढ्ने शैली आदि । यस आधारमा शैली व्यक्तिको नैसर्गिक गुण हो र आर्जन गरेको विशेषता पनि हो । यो अरूलाई सिकाउन र अरूबाट सिक्न सकिने वा हस्तान्तरणीय र ग्रहणीय पनि हुन्छ । त्यसैले यो अन्तरवैयक्तिक सञ्चारको कला पनि हो ।
अन्तरवैयक्तिक सञ्चारको महत्वपूर्ण माध्यम भाषा हो । लेख्दा होस् वा बोल्दा त्यही भाषिक शैलीको प्रयोग गरेर सञ्चार हुन्छ । अन्तरवैयक्तिक सञ्चारबाटै सामाजिक सञ्चार हुँदै प्रविधिको प्रयोग गरेर गरिने आमसञ्चारमा पनि त्यस्तै शैलीको प्रयोग हुने गरेको छ ।
२. नेपाली पत्रकारिता र शैलीको खोजी
नेपालमा र नेपाली भाषामा पत्रकारिताको इतिहास लामो छैन । विसं १९५५ सालमा नेपाली भूमिबाट जेठो पत्रिकाका रूपमा मासिक ‘सुधासागर’ प्रकाशन भएको सन्दर्भ पाइन्छ तर पत्रिका फेला परेको छैन । त्यसपछिको अभिलेखसहितको र निरन्तरताका दृष्टिले पनि विसं १९५८ देखि प्रकाशन भइरहेको पत्रिका गोरखापत्र हो । १२५ वर्षको यात्रा तय गर्न लागेको सुरुको ‘गोर्खापत्र’ र अहिलेको गोरखापत्रले कोरेको पत्रकारिताको गोरेटो र अझ त्यसलाई विस्तार गर्दै बनाएको पत्रकारिताको राजमार्गमा अहिलेको नेपाली आमसञ्चार यात्रा गरिरहेको छ ।
हाल नेपालकै जेठो भएर पनि विसं १९९५ वैशाख २४ देखि गोरखापत्रको सिरानमा ‘दर्ता नं.– ने. ००२’ लेख्न थालियो । यस आधारमा गोरखापत्र नेपालको दोस्रो पत्रिका जस्तो लाग्छ । हुन त गोरखापत्रभन्दा करिब तीन वर्ष जेठो ‘सुधासागर’ का आधारमा गोरखापत्र दोस्रो नै हो तर उक्त पत्रिका बन्द भएको र पत्रिका पनि फेला नपरेका आधारमा ‘गोरखापत्र’ नेपालको दोस्रो तर निरन्तरताका आधारमा जेठो समाचारपत्र हो ।
तत्कालीन सरकारले विसं १९९४ मा पत्रिका दर्ता गर्न थालेपछि विसं १९९१ मा प्रकाशन सुरु भएको ‘शारदा’ मासिक ००१ नम्बरमा दर्ता भएको थियो । त्यसपछि मात्र गोरखापत्रलाई दर्ता गरिँदा यो दोस्रो भएको हो । यसै अनुसार ‘शारदा’ मासिकमा दर्ता नं. ००१ र वर्ष ३८ सङ्ख्या ४ मिति १९९५ साल वैशाख २४ गतेको अङ्कदेखि ‘गोरखापत्र’ साप्ताहिकमा दर्ता नम्बर ००२ तथा वर्ष ३ सङ्ख्या २ मिति १९९५ साल ज्येष्ठ १५ देखिको अङ्कबाट ‘उद्योग’ मासिक दर्ता नम्बर ००३ रही निस्कन थालेको थियो । गोरखापत्र प्रकाशनको ३३ वर्षपछि मात्र ‘शारदा’ (१९९१) साहित्यिक मासिक पत्रिका प्रकाशन हुन थालेको हो ।
यसरी पहिलो पत्रिका भएका नाताले गोरखापत्रले भने शून्यबाट आरम्भ गरेको अखबारी यात्रामा पत्रकारिताका विभिन्न पक्षको प्रयोग गर्दै र मानक निर्धारण गर्दै आफ्नो मात्र होइन, नेपाली पत्रकारिताको नै शैली निर्माण गरेको पाइन्छ । त्यस क्रममा गोर्खापत्र/गोरखापत्रले समाचार लेखन र सम्पादनका विविध आयाम, भाषिक प्रयोग, सुधार र मानकीकरण, फोटोको प्रयोग, साजसज्जा र विषयगत पत्रकारिताका साथै आमसञ्चारको रक्तसञ्चारका रूपमा रहेको विज्ञापनलगायतका विभिन्न पक्षको थालनी र प्रयोग गरेर नेपाली आमसञ्चार वा पत्रकारिताको शैलीगत विकास र विस्तारमा योगदान गरेको छ ।
३. ‘गोर्खापत्र’ को शैली निर्माण
‘गोर्खापत्र’ को शैली निर्माणका क्रममा ‘गोर्खापत्र’ प्रकाशनका लागि जारी भएको सनद, ‘गोर्खापत्र’ प्रकाशनको पहिलो अङ्क र त्यसपछिका अङ्कहरूमा प्रकाशित समाचार सामग्री, एडिटर्को राय÷सम्पादकीय, पाठकपत्र, साहित्य, विशेषाङ्क आदिको योगदान रहेको छ । ‘गोर्खापत्र’ को पहिलो अङ्कमा प्रकाशित छाप्न हुने र नहुने कुराले नेपालको आमसञ्चारको नीति तय गरेको छ । जसमा छाप्न हुने कुरामा “दुनियाँलाई हुने इस्तिहारका कुरा, नयाँ जारी भएका ऐनका विशेषता, कलकत्ता र काठमाडौँको दरभाउ, जङ्गी निजामतीले गरेको असल कामका पुर्खाको समेत वयान, श्री ३ महाराज र मुख्तियारले दिएको भाषण (इस्पिच), अनोठा अनोठा कुरा, अदालतका विषयमा अन्याय भएको प्रमाण पुगेको कुरा, अड्डाखानाका हाकिम अड्डाखानामा नबसेको कुरा पक्का गरेर, कसूर भई हाकिम अदलबदल भएको कुरा, पहाड मधेशमा जुलुम भएको कुरा छपाउन आए मानिसको सहीछाप गराएर, खेतीपाती, इलम, धर्म, उन्नतिको असल कामका किताव उल्था गरेर, श्री ५ को सरकारको ठूलो ठूलो उत्सवको कुरा, स्वर्गवासी श्री ३ को तारिफ, बाबुले कमाएको धन जुवा रण्डीबाज बदनियत गरी खर्च गर्नेको, सिकारमा गोर्खालीले गरेको बहादुरी, ग्याजेट प्रोग्राम, बैङ्कटेश्वर बङ्गवारी छापाका असल असल कुरा उल्था गरेर र दुनियाँको बद्चलन फतुरा खर्चबाट दिल हटाउने कुरा” रहेका छन् ।
त्यस्तै छाप्न नहुनेमा “श्री ५/३ सरकारका दरबारिभत्रका स्वास्नीमानिसको विषय, फौजको विषय हात हतियारको विषय, राजकाजको विषय, सरकारका आम्दानी खर्च विषय, भोटको र हाम्रो सेवा नाका बिक्ट बाटाको बयान, सुनखानीका धाउ पायाको कुरा र अनेत्र पन्च राज्ये विषयलाई तारिफ हुने कुरा” रहेका छन् । यी ‘गोर्खापत्र’ हुँदै नेपाली पत्रकारिताको शैली विकासमा कोसेढुङ्गा थिए ।
त्यही जगमा निर्माण हुँदै विकास भएको शैलीलाई हाल गोरखापत्रले ‘गोरखापत्र प्रकाशन शैली, २०८१’ का नामबाट व्यवहार गर्दै आएको छ । त्यसअघि २०५५ सालमा पनि ‘गोरखापत्र शैली पुस्तिका’ प्रकाशनमा आएको थियो । हाल प्रचलनमा रहेको गोरखापत्र प्रकाशन शैली त्यही २०५५ को शैली पुस्तिकाको समृद्ध रूप हो । यसमा नेपालको राजनीतिक परिवर्तन र त्यसले पत्रकारितामा पारेको प्रभाव तथा त्यस अनुकूलको पत्रकारिताको शैलीगत आचरण, सूचना तथा सञ्चार प्रविधिमा आएको फड्कोलगायतका विषयलाई समेटिएको छ । गोरखापत्रले बेहोरेका आरोहअवरोह शैलीगत मानकीकरणका पक्षमा पनि देखिन्छ ।
पत्रकारिता, प्राविधिक र भाषिक पक्ष समेटिएको २०५५ को शैली पुस्तक प्रचलनमा रहेकै बखत २०६९ मा नेपाली भाषाको हिज्जे विवाद रहेका बेला भाषिक पक्षलाई मात्र समेटेर नयाँ शैली पुस्तिका तय गरियो र २०६९ भदौ असोजका ‘मधुपर्क’ मा छापियो तर उक्त शैली लागु भने भएन । २०५५ सालको शैली पुस्तिकाको तुलनामा २०६९ को शैली पुस्तिका अधुरो र अपूरो रहेको शैली पुस्तिकाका कतिपय पाटातिर ध्यान नदिएको तथा अघिल्लो शैली पुस्तिकाको स्वामित्व ग्रहण नगरेको भनी टिप्पणी गरिएको पाइन्छ ।
अघिल्लो शैली पुस्तिकाको मूलपाठ १५५ पृष्ठमा विस्तारित रहेकामा पछिल्लो ३४ पृष्ठमा खुम्चिएको र मुद्रित पुस्तकको रूप लिन पनि नपाई कम्प्युटर प्रिन्टआउट निकालेर ‘टेप बाइन्डिङ’ गरी सीमित प्रति तयार पारियो र वितरण गरियो । खासमा २०६९ को शैली पुस्तिका भाषिक विवादको पक्षमा कुनै एक पक्षको समर्थन गर्न निकालिएको थियो । त्यसलाई गोरखापत्र संस्थानमा नै औपचारिक कार्यव्रmम गरी मदन पुरस्कार गुठीका प्रतिनिधिलाई बुझाई त्यसको प्रयोजन पूर्ति गरिएको थियो । २०८१ को प्रकाशन शैली भने ती दुई शैलीलाई आधार मान्दै पुनर्लेखन गरिएको हो । यो शैली मुख्य रूपमा गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका अन्य नेपाली प्रकाशनका लागि हो ।
३.१ अध्ययनको उद्देश्य
यो अध्ययन गोरखापत्र दैनिकका ती शैली पुस्तकहरूको निर्माणमा गोरखापत्र दैनिक सुरु हुनुअघिका ‘गोर्खापत्र’ का साप्ताहिक, अर्धसाप्ताहिक र हप्ताको तीन दिन प्रकाशन भएका तथा अन्य सान्दर्भिक प्रकाशनको पनि के कस्तो योगदान रहेको छ भन्ने लेखाजोखा गर्नु रहेको छ ।
३.२ अध्ययनको औचित्य
नेपालमा पत्रकारिताको थालनी र विकासमा गोरखापत्रको योगदान उच्च रहेको छ तर त्यस हिसाबले पत्रकारिताको विकासमा यसले गरेका योगदानको अध्ययन कमै मात्र भएको छ । सो अभाव पूर्ति गर्नका लागि ‘गोर्खापत्र’ कै पाना केलाएर अध्ययन गरी नेपाली पत्रकारितामा यसको योगदान देखाउनु आवश्यक रहेको छ ।
३.३ अध्ययनको सीमा
दैनिक समाचारपत्रका रूपमा गोरखापत्रको यात्रा २०१७ फागुन ७ गतेदेखि सुरु भएको हो । दैनिक पत्रिका लागि आवश्यक पर्ने संरचनागत र शैलीगत सबै पूर्वाधारमा त्यसअघिका गोरखापत्रको योगदानलाई अवमूल्यन गर्न हुँदैन । त्यसैले २०१७ फागुन ७ यताको दैनिक गोरखापत्रले शैलीगत मानकीकरणमा शैली पुस्तक तयार पारेको पृष्ठभूमिका रूपमा यहाँ यो अध्ययन गरिएको छ । त्यसका लागि गोरखापत्र दैनिक हुनुपूर्वका गोर्खापत्र-गोरखापत्र साप्ताहिक र द्विसाप्ताहिक र सातामा तीनदिने प्रकाशनको अध्ययन गरिएको छ । त्यसै आधारमा गोरखापत्र दैनिक हुनुअघि साप्ताहिक, अर्धसाप्ताहिक-द्विसाप्ताहिक र हप्ताको दुईदिने प्रकाशनका आधारमा कालगत रूपमा शैलीगत विकासका विविध आयामलाई केलाइएको छ तथापि उक्त अवधिका सबै प्रति नपाइएको र पाइएका पनि कतिपय पढ्न नसकिने अवस्थामा रहेका कारण यस अध्ययनका सीमा पनि छन् । पछिल्ला खोजीमा त्यसलाई सच्याउने ठाउँ खुला रहेको छ ।
४. गोर्खापत्र/गोरखापत्र
गोरखापत्र नेपालमा प्रकाशन हुँदै गरेका पत्रपत्रिकाहरूमध्ये सबैभन्दा जेठो समाचारपत्र हो । यसको प्रकाशन संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबार (विसं १९५८ वैशाख २४ गते तदनुसार सन् १९०१ मे ६) देखि ‘गोर्खापत्र’ का नामबाट थालिएको हो । यसको प्रकाशन साप्ताहिक समाचारपत्रका रूपमा थालिएको थियो ।
त्यो समय नेपालमा राणाकाल थियो तर श्री ३ महाराज वा प्रधानमन्त्री भने उदार व्यक्ति देवशमशेर थिए । उनैका पहलमा ‘गोर्खापत्र’ प्रकाशन भएको हो । त्यसैले यसको जन्म राज्यको पत्रिकाका रूपमा भएको हो । त्यसमा स्वतन्त्र पत्रकारिताको अभिलाषा थियो । त्यसलाई ‘गोर्खापत्र’ ले पहिलो अङ्कमा नै लेखेको छ :
“जुन देश्मा अखवार वढ दै गयाको छ ति ति देश्मा रोजवरोज् उन्नति पनि बढदै गयाको देखिन्छ. हुनपनि यस्संसार मा सबैभंदा मुख्य कुरो खबरै (शब्द) छ ... संसारमा उन्नति गराउने र, मनुष्य मा सभ्यता बढाउने खबरदेखि दोश्रो पदार्थ आर्को केहिछैन, तेसैकारणले शास्त्र मापनि “शब्दब्रह्म” शब्द भनेको खबर ब्रह्म भनेको ईश्वर हो भन्ने सिद्धान्त हो.”
ब्रह्म अर्थात् ईश्वर सत्य र जगत् अर्थात् संसार झुटो हो भन्ने वेदान्त दर्शनको आदर्श अनुरूप खबरलाई सत्यको रूप मानेर खबर ब्रह्मका रूपमा समाचार दिइने कथन यसमा पाइन्छ । तर, यसलाई सुविचरित वा खंब्रह्मको मुद्राराक्षसी वा छापामा हुने प्राविधिक गल्ती हो कि भन्ने आशङ्का गरी अध्ययन गर्ने गरिएको पनि पाइन्छ तर पनि केही अस्पष्टताका बिच पनि गोरखापत्र प्रकाशनको उद्देश्य चाहिँ स्पष्ट रहेको भन्ने निष्कर्ष निकाल्ने गरिएको छ ।
‘गोर्खापत्र’ प्रकाशनको तयारी छोटो समयमा तर राम्रै गरी गरिएको देखिन्छ । विसं १९५७ फागुन १५ मा देवशमशेर प्रधानमन्त्री तथा श्री ३ महाराज भएका थिए । त्यसको दुई महिना पनि नबित्दै विसं १९५८ साल वैशाख वदी ११ रोज २ (१९५८ साल वैशाख ३ गते सोमबार) का दिन गोरखापत्र प्रकाशन गर्ने उर्दी सनद जारी भएको थियो । सो उर्दी सनदमा भनिएको छ ः
“पंडित नरदेव पाण्डेले पुर्जि हेरी गोर्खाली अखवार हप्तावारी जम्मा १००० थान छापा गरी जारी गर्ने काम तिम्रा तालुकमा राखी बक्स्याको हुनाले सो कामलाई मद्दतसमेत गर्न टायप छापाखाना लेथोग्राफ छापाखाना समेत गाभी तपसीलबमोजिम उर्दि सवाल गरी बक्स्याको छ सोबमोजिमको रीत पु¥याई कामकाज गर,”
यस दस्तबेजले जिम्मेवार व्यक्ति, अखबारको नामको सङ्केत, प्राविधिक पक्ष र प्रकाशन हुने अन्तराल र प्रकाशन हुने प्रति तथा छपाइ हुने छापाखानासमेतको मोटामोटी खाका दिएको छ । यसमा पुर्जी हेर्ने अधिकार पण्डित नरदेवलाई दिइएको छ । त्यसैले पण्डित नरदेवलाई अखबारको सम्पादन र व्यवस्थापनको मुख्य व्यक्तिका रूपमा हेर्ने गरिएको छ तर सम्पादक भनिएको छैन । प्रकाशन भएको ‘समाचारपत्र’ ‘गोर्खापत्र’ छ तर यसमा ‘गोर्खाली अखबार’ नामले सङ्केत गरिएको छ । नरदेवलाई सम्पादकको जिम्मेवारी दिइएको देखिन्न र प्रकाशित पत्रिकामा पनि सम्पादकको नाम लामो समयसम्म छैन तर समाचारपत्र र अभिव्यक्ति स्वतन्त्रताको प्राणका रूपमा मानिने सम्पादकीयलाई ‘एडिटर्को राय’ का रूपमा पहिलो अङ्कदेखि नै दिइएको छ ।
४.१ ‘गोर्खापत्र’ को नामकरण
‘गोर्खापत्र’ ले प्रकाशन सुरु गर्दा आफ्नो नामकरणको औचित्य देखाएको छ । पहिलो अङ्कमा नै यसले लेखेको छ ः
“जस्का सम्बन्धले हामीहरू गोर्खालि कहियेका छौं उनै गोरक्ष कालीहरूको समझना गरी यो अखबारको प्रारम्भ गर्दछौं,”
गोर्खाको व्युत्पादन गो+रक्षा अर्थात् ‘गो’ को ‘रक्षा’ गर्ने र त्यसको काम पत्र वा समाचारका मार्फत हुने अर्थ गोरखापत्रले केलाउने गरेको देखिन्छ । सुरु सुरुमा हामी यति वर्षका भयौँ भनेर लेख्दै आएको गोर्खापत्र-गोरखापत्रले समयव्रmममा आफ्नै जन्ममिति बिर्सेको पाइन्छ । विसं २०१३ पुस २६ गते मात्र सम्पादकीयमा आफ्नो वास्तविक जन्ममिति फेला परेको जानकारी पाठकलाई दिएको छ र त्यसको श्रेय कमलमणि दीक्षितलाई दिइएको छ । नामको औचित्यका लागि ‘गो’ का १६ वटा अर्थ रहेको सन्दर्भ पनि यसले दिने गरेको पाइन्छ । विष्णुको वाहन गरुड र पत्रको अर्थ पखेँटाका आधारमा सन्देशवाहक पत्र भनिएको छ ।
‘गोर्खापत्र’ ले आफ्नो नामबारे पाठकलाई पनि चिन्तन गराएको देखिन्छ । पत्रिका र पाठकबिच सम्बन्ध स्थापना गर्न आरम्भिक कालदेखि नै विभिन्न स्तम्भ राखेको ‘गोर्खापत्र’ ले १९५९ माघ वदि ६ सोमवारको अङ्कमा समस्यापूर्ति प्रस्तुत गरी “पैला र दोश्राले पुरातन राजधानिको नाउँ बन्दछ । तेश्रा र चौथाले पातको नाउ हुन्छ, चारै अक्षरले कोही एक सुभ सूचककको नाउ हुन्छ,” भनी ‘पण्डित चिरञ्जीवी पौड्यालले दियाको समस्यापूर्ति’ को जवाफमा १९५९ माघ वदी १३ सोमबार “पण्डित भद्रध्वज आचार्यले दिएको १२ लम्बरको जवाफ (गोर्खापत्र) हो,” भनी लेखेको छ ।
४.२ ‘गोर्खापत्र’ को पर्याय गोरखापत्र
‘गोर्खापत्र’ नामबाट प्रकाशन सुरु भएको पत्रिका अहिले गोरखापत्र नामबाट प्रकाशन भइरहेको छ । विसं १९५८ वैशाख २४ गतेदेखि ‘गोर्खापत्र’, भाग २६ सङ्ख्या ५ विसं १९८३ जेठ ४ गते सोमबारदेखि ‘गोरखापत्र’, विसं २०६२ असार २३ देखि फेरि ‘गोर्खापत्र’ र २०६३ वैशाख १८ देखि पुनः ‘गोरखापत्र’ नामबाट हाल प्रकाशन भइरहेको छ । यसको यात्रा पनि बेग्लै छ ।
देवनागरी लिपिमा नेपाली भाषाको लेखनमा आदिकवि भानुभक्त आचार्यको लेखन अनुसार हलन्त प्रयोग गर्ने अथवा शब्दमा वर्णको उच्चारण अनुसार आधाका लागि खुट्टा काट्ने वा नकाटी सग्लो लेख्ने भन्ने बहस थियो । छापाखानामा प्रयोग हुने अक्षरकुञ्जीमा खुट्टा काट्नसमेत थप प्रयोग गर्नुपर्ने हुँदा त्यो हटाउने अभियान राममणि आदीले चलाएका थिए । राममणि आदी (१९६५) ले ‘माधवी’ पत्रिकामा उनी आफैँले चलाएको हलन्त बहिष्कार आन्दोलनबारे चर्चा गरेका छन् । मूलतः छापाखानाका व्यवसायी राममणिले नेपाली भाषामा पुस्तक छपाइ गर्दा हलन्तका कुञ्जी (अक्षर) कम गर्न मितव्ययिताका लागि र देवनागरी लिपिमा लेखिने अन्य भाषासरह नेपाली लेख्य भाषाको पनि प्रयोगमा यो अभियान चलाएका हुन् । यसो हुँदा लगानी कम हुन्थ्यो । त्यही धार हुँदै गोरखापत्र नभनी हलन्त रूपको ‘गोर्खापत्र’ प्रचलनमा आएको हुने सम्भावना देखिन्छ । तर, हलन्त बहिष्कारको प्रभाव ‘गोर्खापत्र’ मा बढ्दै गएको यसको नामको प्रयोगले देखिन्छ । १९७१ वैशाख १५ सोमबार ‘गोर्खापत्र’ ले आफ्नो नाममा पहिलो पटक ‘गोरखापत्र’ प्रयोग गरेको छ तर कवितामा प्रयोग भएको पदका रूपमा । ‘हे प्रिय महाशय हो !’ शीर्षकको कविताको छैटौँ पाउमा लेखिएको छ :
दिइकन रुपिञा चार्किन्नुहोस् येसलाई
टहल खुप तपाञीलाई गर्ला रमाइ ।
बुझिकन शुभचिन्तक “गोरखापत्र”लाई
नजर गरनुहोला यै छ आशा मलाई ।
तर ‘गोर्खापत्र’ का म्यानेजर डि. उपेन्द्रबहादुर बस्न्यात्ले लेखेको कविताको यस श्लोकमा हलन्त प्रयोग भएको ‘चार्किन्नुहोस्’ (चार् किन्नुहोस्) र ‘बस्न्यात्’ परेका छन् । ‘गर्ला’ र ‘गरनुहोला’ एउटै धातुको व्रिmयामा हलन्तसिहत र रहितको प्रयोग देखिन्छ । ठेगानामा ‘नक्साल’ र ‘नेपाल्’ पनि त्यस्तै छन् ।
यसरी हलन्तबिनाको ‘गोरखापत्र’ मानक मान्न थालेको ‘गोर्खापत्र’ अन्ततः विसं १९८३ वैशाख ७ सोमबारदेखि मास्टहेड र प्रथम पृष्ठ परिवर्तन गर्दै पहिले ‘गोर्खापत्र’ को नियम लेखिनेमा ‘गोरखापत्र’ को नियम लेख्न थालेको पाइन्छ । प्रकाशनको २५ वर्षमा गोरखापत्रको पनि विशेषता बढ्दै आएको “अखबार भनेको यस्तो हो” भन्ने मानक स्थापित गरेको कुरा लेखेको छ ।
‘गोर्खापत्र’ ले पहिलो पेज र कहिलेकाहीँ अरू पेजमा पनि ‘गोर्खापत्र’ का नियम छाप्ने गरेको पाइन्छ । त्यसमा ‘गोर्खापत्र’ नै नाम प्रयोग हुने गरेकामा विसं १९८३ वैशाख ७ देखि गोरखापत्रको नियम भनी पहिलो पटक छापेको छ ।
यसरी भाग २६ सङ्ख्या ५ मिति १९८३ जेठ ४ गते सोमबारदेखि भने पत्रिकाको नाम नै ‘गोरखापत्र’ भनी मास्टहेडमा छापेको छ । त्यसको १० वर्षपछि विसं १९९३ मा माधवप्रसाद घिमिरेले लेखेको ‘गोरखापत्र’ शीर्षकको कविता यसको प्रथम पृष्ठमा प्रकाशित छ :
गोरखापत्र
गोरखापत्र हो हाम्रो जीवनाधार निश्चल
यस्को वियोगले हाम्रो हुने छ जीवनै चल
१
स्वदेशी भाई हो यस्मा धराप्रेम सनातन
यसैको हाल नै हेरी बिताउँ शुभजीवन
२
घरै बसी बसी सारा देशको हाल यादभै
गोरखापत्रले तान्छ मन उन्नति मार्गमै
३
यसैको उन्नती मात्र चाहना गरी दिन्दिन
दिई सहाय येसैमा पारौँ सफल जीवन
४
यसैको उन्नती मात्र मनले चाहना गरोस्
यस्कै हाल लिइ सारा उन्नती मार्गमा चलोस्
५
माधव प्रसाद
प. ३ नं लम्जुङ् पुस्तुन
५. गोर्खापत्र/गोरखापत्रको कालगत अध्ययन
५.१ काल निर्धारणका आधार
कुनै पनि ऐतिहासिक विषयको काल निर्धारणका लागि विभिन्न मापदण्ड प्रयोगमा ल्याउने गरिन्छ । तीमध्ये समयको विभाजक एकाइका आधारमा, योगदानका आधारमा, ऐतिहासिक रूपमा भएका अन्य विषयगत वर्गीकरणका आधारमा वा राजनीतिक आधारमा पनि हुन सक्छ । गोरखापत्रको १२४ वर्षको इतिहासलाई पनि विभिन्न यस्तै विभिन्न आधार (जस्तै : प्रकाशनको संरचनाका आधारमा (साप्ताहिक, द्विसाप्ताहिक वा अर्धसाप्ताहिक, सातामा तीनदिने प्रकाशन र दैनिक), शासकीय आधारमा (राणा काल, प्रजातन्त्र काल, पञ्चायत काल, प्रजातन्त्रको पुनर्स्थापना काल, अन्तरिम काल र गणतन्त्र काल) र भाषिक प्रयोगको आधार) मा विभाजन गर्न सकिन्छ ।
यहाँ भने गोरखापत्र प्रकाशनको संरचनागत आधारमा (१) साप्ताहिक काल, (२) द्विसाप्ताहिक वा अर्धसाप्ताहिक काल, (३) हप्तामा तीनदिने प्रकाशन काल र (४) दैनिक दैनिक कालका आधारमा वर्गीकरण गरी त्यसै अनुरूप शैलीगत विकासको अध्ययन गरिएको छ । यसमा पनि दैनिकका लागि शैली पुस्तकको पुस्तकाकार रूप रहेकाले त्यसको विकासमा साप्ताहिक काल, द्विसाप्ताहिक काल र हप्तामा तीनदिने प्रकाशन कालको मात्र अध्ययन गरिएको छ ।
यस आधारमा गोरखापत्रको काल विभाजन यस प्रकार हुन्छ :
१. साप्ताहिक काल विसं १९५८ देखि २०००
२. द्विसाप्ताहिक वा अर्धसाप्ताहिक काल विसं २००० देखि २००३
३. हप्तामा तीनदिने प्रकाशन काल विसं २००३ देखि २०१७
४. दैनिक काल विसं २०१७ देखि हालसम्म
सुरुमा ‘गोर्खापत्र’ हरेक हप्ता सोमबार छापिन्थ्यो । विसं १९९० को भूकम्पका कारण गोरखापत्र छापाखानासमेत क्षतिग्रस्त भयो । विसं १९९१ साल वैशाख ४–११ को अङ्क सोमबार छापिए पनि त्यसपछिका सबै अङ्क शुव्रmबार छापिन थाले । विसं २००० साल असोज २९ देखि गोरखापत्रलाई अर्धसाप्ताहिक बनाइयो र मङ्गलबार तथा शुक्रबार छाप्न थालियो । सिरानमा अर्धसाप्ताहिक भनेर उल्लेख गरिएको हुन्थ्यो । २००३ साल पुस ८ देखि हप्तामा तीन पटक सोमबार, बुधबार र शुक्रबार छापियो । बेला बेलामा यसका अतिरिक्ताङ्क र विशेषाङ्क पनि प्रकाशन भएका पाइन्छन् ।
५.१.१. साप्ताहिक काल विसं १९५८ देखि २००० (सुरुमा सोमबार र विसं १९९१ वैशाख २९ गतेदेखि शुक्रबार)
यस कालमा साप्ताहिक समाचारपत्रका रूपमा ‘गोर्खापत्र’ प्रकाशन सुरु (विसं १९५८ वैशाख २४ गते सोमबार) भएदेखि द्विसाप्ताहिक वा अर्धसाप्ताहिक रूपमा प्रकाशन सुरु नहुँदा (विसं २००० असोज २२ गते शुव्रmबार) सम्मको करिब साढे ४२ वर्षको अवधि पर्छ । यस काललाई नेपालमा समाचारपत्रको स्थापना र विकासका यावत् विषयको आधार निर्माण र प्रयोग कालका रूपमा उपविभाजन गरेर पनि अध्ययन गर्न सकिन्छ । त्यस्ता विषयमा समाचार सामग्रीको चयन र प्रस्तुति, भाषिक प्रयोग, साजसज्जा, विज्ञापन, अनुवाद, देशविदेशका समाचार, भुलसुधारलगायतका विषय पर्छन् ।
‘गोर्खापत्र’ प्रकाशनका लागि शैलीगत आधार भने ‘गोर्खापत्र’ प्रकाशन सुरु हुनुअघि विसं १९५८ वैशाख वदी ११ रोज २ (विसं १९५८ वैशाख ३ गते सोमबार) जारी भएको सनद (उर्दी सवाल) मा पाइन्छ । सनद अनुसार पण्डित नरदेव पाण्डे पत्रिकाको व्यवस्थापक रहेको, अखबार हप्तामा जम्मा एक हजार थान छापिने, टायप छापाखाना लेथोग्राफ छापाखानासमेत गाभी छापाखानाको प्रबन्ध गरिएको थियो । त्यसका साथै पत्रकार आचारसंहिताको खाका पनि छाप्न हुने र नहुने विषयमा उल्लेख थियो ।
‘गोर्खापत्र’ प्रकाशन आफैँमा शैली निर्धारणको प्रस्थान विन्दु थियो भने हालको सम्पादकीयका रूपमा रहेको एडिटर्को राय, देश समाचार, देसान्तर समाचार हिन्दुस्तान समाचार, बजारको भाउ, समालोचना विज्ञापन, दिनचर्या, रातचर्या, भुलसुधार जस्ता विषय प्रकाशनको पहिलो वर्षमा नै प्रमुखतासाथ प्रकाशित भएका पाइन्छन् ।
गोरखापत्र दैनिक हुनुअघिको शैली निर्माण विस्तृतमा यहाँ पीडिएफमा हेर्न सक्नुहुनेछ ।
लेखक गोरखापत्रका निमित्त कार्यकारी सम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ गोरखापत्र दैनिक हुनुअघिको शैली निर्माण’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                