• २४ माघ २०८२, शनिबार

ओ शैलुङ ! आहा आमायाङरी !

blog

उकालो उक्लँदाका सबै कष्ट र थकाइ बिर्साएर आनन्दको वर्षा भएको थियो ! आहा नेपाल ! आहा हिमाल ! तर पल्लो पाखामा देखिएका लाङटाङ हिमक्षेत्रका हिमाल कालापत्थरमा परिणत हुँदै थिए । 

नेपाल सुन्दर छ । स्वदेशी र विदेशी धेरैले भन्ने र लेख्ने गरेको कुरो हो यो । मेरो मौलिकता छैन यसमा, केवल नक्कल, भनौँ चोरी ! तर नेपाल मेरो, उसको वा कसैको मात्र होइन, हाम्रो हो । त्यसैले त हाम्रो नेपाल राम्रो छ, सुन्दर छ । हाम्रो भएकाले नै मैले पनि भन्न सक्छु नेपाल साँच्चिकै सुन्दर छ ! नेपाललाई सुन्दर भन्न कसैका शब्द सापटी लिनु पर्दैन ।

सुन्दरता के हो ? घोत्लिनु पर्छ उत्तरका लागि । सुन्दरता दृष्टिमा भरपर्ने कुरो हो । यो पनि मेरो भनाइ होइन । ‘सुन्दरता हेर्ने व्यक्तिको आँखामा हुन्छ’– दार्शनिक प्लेटोले उहिल्यै भनेका हुन् ।  अर्थात् सुन्दरता वस्तुमा नभई दृष्टिमा हुन्छ । त्यो भनाइलाई कसै कसैले प्लेटोको नभई मार्गरेट उल्फ हङ्गरफोर्डको हो भन्ने गरेका छन् । पश्चिमको मात्र किन कुरा गर्ने ? हाम्रै आनी छोइङ डोल्माको गीत छ नि– 

फूलको आँखामा फुलै संसार

काँढाको आँखामा काँडै संसार

त्यसैले प्लेटो, हङ्गरफोर्ड वा आनी छोइङ जसको भए पनि सुन्दरता बारेको सत्य कथन त्यो हेर्ने आँखामा नै रहन्छ भन्ने हो । भनाइ जस जसको भए पनि सत्यचाहिँ सुन्दरता आँखामा हुने कुरा नै हो । त्यसैले सत्य दृष्टिगोचर हुन्छ अर्थात् सुन्दरताको परख, रसास्वादन र आनन्दानुभूति हुन्छ । कुनै वस्तुलाई काँडा मानेर कि फूल मानेर हेर्ने ? उत्तरमा गुण आरोपित हुन्छ । त्यो वस्तु भनेको तपाईं हामी जो कोही पनि हो ।

यो लेख्दै गर्दा स्वस्थानीको महिना चल्दै छ । स्वस्थानी शब्द ‘स्व+स्थान+ई’ बाट बन्दछ । अर्थात् आफ्नै स्थान, स्वस्थान (नेपाल) की देवीको आराधनाको महिना हो यो । यसै मेसोमा त होइन स्वस्थानी महिनामा नै परेछ नेपालको सुन्दरताको रसास्वादन गरेर आनन्दानुभूति गर्ने हाम्रो यात्रा ।

विश्व मानचित्रमा नेपाल सानो छ तर त्यही नेपाललाई देवकोटाले विशालतम देखेका छन् ‘के नेपाल सानो छ ?’ निबन्धमा । आफ्नै आँखाअगाडिको विशाल नेपालको सुन्दरताको परख हामीले आफ्नै आँखाले गर्न सकेका छैनौँ । यस्तै मेसोमा २०८२ माघ ५ गतेको सोनाम ल्होसारलाई केन्द्रमा राखेर एक एक दिन अघिपछिका दुई दिनको बिदा लिएर काठमाडौँनजिकै प्रकृतिको काखमा रमाउने तीनदिने कार्यक्रम तय भएको थियो ।

साथी मदन तिम्सिना, भाउजू सुशीला, उहाँहरूका सुपुत्र सौम्य र हामी जोडी (शोभा र म) यात्रा टोलीमा । चालकले माघ ५ गते बिहानै हुइँक्याए हामीलाई भक्तपुरको लोकन्थली–गट्ठाघरदेखि सिन्धुपाल्चोकको सुनकोशी हुँदै शैलुङतर्फ । 

सुनकोशीमा खाना खाएर अगाडि बढेका हामी मुढेबाट दायाँ लाग्यौँ । त्यसअघि नै चालकले परका डाँडा देखाउँदै “टावर रहेको भन्दा पल्लो डाँडो शैलुङ हो,” भन्दै चिनाएका थिए । मुढेबाट करिब एक घण्टामा शैलुङको फेदी कालापानीमा पु¥याएर गाडी रोक्दै चालकले भने, “चुचुरोमा त पुग्न सक्नुहुन्न होला । पर्खालमाथिका थुम्कीसम्म पुगेर आउनु होला । म यतै हुन्छु ।”

यस भनाइले हामीलाई केही निराश बनायो तैपनि झोला र लाठी तयार पारेर लाग्यौँ ग्रेटवालका खुड्किला नाप्न । सबैको हिँडाइ एकनास कहाँ हुन्थ्यो र ! पहिलो खुड्किलामा सँगै पाइला राखेका हामी अलि माथि पुग्दा नै कोही देखिने र कोही नदेखिने गरी अघिपछि भइसकेका थियौँ । अलि माथिबाट पर देखिने गौरीशङ्कर हिमालले हामीलाई फेरि नजिक्याउन चिसो हिउँबाट आएको सिरेटोको न्यानो स्पर्श गरायो । हामी गौरीशङ्करलाई आँखाका नानीबाट मन मस्तिष्कमा सजाउँदै मोबाइलमा प्रमाण भण्डार ग¥यौँ । करिब २० मिनेटको हिँडाइपछि सकिए सुन्दर सिँढी र सुरु भयो जङ्गल । पाइला सुस्त, मास्तिर सार्न अलि गारो तर माथि चढ्दै जाँदा कोणधारी रुख हुँदै चलेको सिरेटोले हामीलाई त्राण दिँदै गयो । अनि देखिन थाले शैलुङका थुम्का । उक्लिने र तल भर्नेको दोहोरीलत्त, झर्नेले उक्लनेलाई सान्त्वना दिँदै थिए, “जानुस्, अब त रमाइलो नै रमाइलो !”

हुन पनि थुम्कैथुम्काका टुप्पामा देखिएको मन्दिर, चैत्य र दर्शनटुप्पो (भ्यु टावर) ले हामीलाई ‘चाँडो आओ है’ भन्दै बोलाउँदै थिए । नागीमा मान्छेका झुन्ड यत्रतत्र छरिएर रमाउँदै थिए । चुचुरोमा पुग्ने बाटो खोच खोचबाट थियो । हामीले भने पहिलो थुम्कोको चुचुरो पार गर्ने विचार गरेर चढ्दै गयौँ, बढ्दै गयौँ । तलबाट नदेखिएका महादेव, ठुलो घन्ट र त्रिशूलले पो त्यस थुम्काको टुप्पोबाट दर्शन दिए अचानक । महादेवको दर्शन गरेर फेरि पनि गौरीशङ्करलाई साक्षी राख्दै फोटो खिचेर थुम्कोबाट तल झर्दै खोचैखोच मास्तिर लाग्यौँ हामी ।

अलिमाथि गएपछि भीमसेनको तरबार रहेछ तर चिन्नै मुस्किल । ढुङ्गामा तरबारको जस्तो देखिने चिनो, एउटा मिथक मात्र । हेर्दै, फोटा खिच्दै, मकैभटमास चपाउँदै हामी उक्लिँदै गयौँ, दायाँबायाँका थुम्का तल पार्दै । अन्ततः शैलुङ्गेश्वरीको मुख्य चुचुरोको फेदमा पुगियो । पश्चिमबाट चलेको जोडसँगको हावाले बडो आनन्द ! ३,१४५ मिटरको उचाइको चुचुरोमा रहेकी शैलुङ्गेश्वरीको दर्शन गरेर चैत्यको फेरो लगाउँदै हामीले ३६० डिग्रीमा घुम्दै रमणीय आनन्द लियौँ, अवर्णनीय ! लाग्यो सुनेर र पढेर शैलुङलाई बुझ्न र अनुभूति गर्न सकिँदैन रहेछ । शैलुङ हाम्रा लागि पक्कै नयाँ थियो तर अन्जान र अज्ञात भने थिएन । कुन्ती मोक्तानले गीतमार्फत चिनाएको र अरूले लेखेको पढेको, सुनाएको सुनेको शैलुङ थियो । त्यसैले शैलुङलाई आफँै अनुभूत गर्ने लक्ष्य हाम्रो थियो । हामीले जानेको शैलुङ गुनगुनायौँ–

माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई

गीतमार्फत शैलुङ चिनाउन कुन्तीको नाम अग्रणी छ । यो गीत सुनेर शैलुङ चिन्नेलाई कुन्ती नै सर्वेसर्वा, वास्तविकता भने एकल तथ्यमा आधारित हुँदैन । गीत अनुसार दोलखाको शैलुङका १०८ थुम्कामा चर्ने चौँरी, फुल्ने गुराँस, बज्ने बिनायो, नाच्ने तामाङसेलो र सुन्दरता दिने रानी मालिङ्गो तथा डाँफे मुनाललाई यसरी गीतमा उन्ने काम त भोजपुरका श्रवण मुकारुङले गर्नुभएको हो । उहाँले लेखेको गीतमा शिलाबहादुर मोक्तानले सङ्गीत भरेपछि मात्र कुन्तीले त्यसमा स्वर दिनुभएको हो । अर्थात् त्यस गीतको समग्रतामा तीन जनाको उत्तिकै योगदान छ । त्यसको पूर्णताको श्रेयका हकदार तिनै जना हुन् ।

भोजपुरमा जन्मेर हुर्केको मेरा लागि श्रवणको योगदान बेग्लै महत्वको रह्यो । श्रवणको, मेरो र हाम्रो भोजपुरमा पनि शैलुङ जस्ता धेरै स्थान छन् तर मैले यसबेला नढाँटी भन्नै पर्छ, त्यहाँ म पुगेको छैन । छाँगे झरना, सिलिचुङ चुचुरो, ट्याम्केडाँडा, मैयुङडाँडालगायतका स्थानले मलाई बोलाइरहेका छन् । योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध सिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, चुलाचुली गुफा, दोस्रो हलेसी भनेर चिनिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायतले धेरै पर्यटक तान्दा म भने शैलुङतिर पो हानिएँ !

शैलुङ चुचुरोतर्फ लम्कँदै गर्दा सौम्यले मलाई प्रश्न गरेका थिए, “गौतम बुद्धभन्दा अघि पनि बुद्ध थिए, ती को थिए अङ्कल ?” मैले गौतम बुद्धअघिका एक मात्र होइन धेरै बुद्ध थिए भनेर उनलाई जवाफ दिएँ । स्वयम्भू पुराणका अनुसार शाक्यमुनि बुद्ध अर्थात् गौतम बुद्धअघिका बुद्धहरूमा विपश्वी बुद्ध, शिखी बुद्ध, विश्वम्भू बुद्ध, व्रmकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र काश्यप बुद्ध हुन् । हाम्रो ज्ञानको स्रोतले गौतम बुद्धलाई मात्र बुद्धका रूपमा सीमित बनाइदिएको छ । यस्तो हुँदा शैलुङमा श्रवण र शिलाबहादुर कुन्तीको ओझेलमा किन नपरून् त ?

बुद्धबारेको मात्र होइन योगमाया र कालु पाँडेबारेको सौम्यको प्रश्नमा पनि मैले जानेजति जवाफ दिएँ । कालु पाँडेबारे नजानेको कुरा यसमा पाइन्छ भनेर क्युआर कोड पठाइदिएँ । सौम्यलाई के लाग्यो कुन्नि ? भने, “अङ्कल त ‘कौन बनेगा करोडपति ?’ मा जानुपर्ने ।” सौम्यको नाम जस्तै व्यवहारलाई मैले केही नभनेरै टारेँ किनभने मलाई मात्र थाहा छ मेरो ज्ञानको सीमा । म मात्र होइन हरेक ‘म’ लाई उसको आफ्नो ‘म’ को ज्ञानको सीमा थाहा हुन्छ । ती ‘म’ हरू कति सीमाभित्रै रहन्छन् त कति सीमा नाघेर ‘अजासु’ हुन्छन्– कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि !

शैलुङ यात्राको हाम्रो वासस्थान मुढेस्थित रिसोर्ट थियो तर कुन भन्ने थाहा थिएन । लापर्बाहीको हद थियो यो मेरो । हामी फिर्दा अलि चाँडै भएकाले चालकलाई खरीढुङ्गासम्म लगिदिन आग्रह ग¥यौँ । उनले नाइनास्ती नगरी लगिदिए । लगिदिए मात्र पनि होइन उनले यस्तो सुनौलो समयमा लगिदिए कि त्यसबेला देखिने क्षितिज पूरै सुनौलो थियो । सूर्य दिनलाई बिदा गर्दै हाम्रो दृष्टिबाट ओझेलमा पर्दै थिए । सूर्यास्तको सुन्दरतामा हामी फोसामा रमायौँ ।

फर्काएर चालकले हामी बस्ने रिसोर्टमा लगिदिए । त्यहाँ पुगेपछि पो थाहा भयो ‘हर्स सु रिसोर्ट’ नाम गरेको त्यो रिसोर्ट मेरा लागि नौलो रहेन छ, पहिले पनि एकरात हामीलाई न्यानो सेवा दिइसकेको । त्यही रिसोर्टका व्यवसायीको दुःखदायी घटना पनि स्मृतिमा आउँदा मन खिन्न भयो । माओवादी सशस्त्र द्वन्द्व चरम बनेका बेला उनी रिसोर्टबाट नै लघारिँदै मारिएका थिए । दोस्रो दिनको सिन्धुपाल्चोकको मेलम्ची हुँदै तार्केघ्याङसम्मको यात्रा सम्झँदै खाना खाएर बिस्तरातिर लाग्यौँ । यात्राको चरमोत्कर्षचाहिँ सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिकामा रहेको ३,७७० मिटरको उचाइको आमायाङ्री चुचुरो थियो ।

मेलम्ची हुँदै आमायाङरी जान भोलिपल्ट बिहानै लागियो सुनकोशी जलविद्युत् आयोजनातिर । त्यहाँ खाजा खाएर जिरोकिलो हुँदै करिब १० बजेतिर पुगियो मेलम्ची बजार । मेलम्ची बजार आफैँमा बिरामी छ विसं २०७८ असारमा हिमताल विस्फोट भएर मेलम्ची खोलामा आएको बाढीले । बालुवा, गेग्य्रान, लेदो र ठुल्ठुला ढुङ्गाले पुरिएको बजार बल्लतल्ल बौरिँदै छ । मेलम्ची बजारको दुर्दशा नियाल्दै होटेलमा खाना खायौँ । त्यहाँबाट यात्रामा तोयनाथ रेग्मी थपिने कार्यक्रम थियो तर उहाँकी श्रीमती र छोरा, प्रकाश आचार्य र छोरी, शिवराज तिमिल्सना र अर्का चालकसहित सात जना गरी दुई वटा गाडीमा १३ जना भइयो ।

यात्रा अब मेलम्चीको विनाश लीला हेर्दै किनारैकिनार मेलम्ची खानेपानी आयोजनाको मुहानतर्फ लाग्यो । बाटामा सशस्त्र प्रहरी बलको जाँचचौकी रहेछ । त्यहाँ प्रविष्टि गराएर लागियो मेलम्चीलाई कतै दायाँ त कतै बायाँ पार्दै । बगरमा कलभर्ट राखेर बनाइएको बाटो छिचोल्दै गर्दा सुशीला भाउजूले अचानक गाडी रोक्न लाउनुभयो । ओर्लेर मेलम्चीको पानी अञ्जुलीमा लिएर अर्पण गर्नुभयो । त्यही मेसोमा बायाँतिर मनमोहक झरना देखियो । मैले भनेँ, “यसरी झरेपछि त ऊ त्यो झरनाको पनि आनन्द लिएको भए हुने नि !” चालकले कुरो बुझेर अलि पर रोकिदिए गाडी । भाउजू फेरि झरेर फोटो खिच्नुभयो । हामी गाडीबाटै हेरेको हेरेकै भयौँ र केही बिस्मात गर्दै अगाडि लाग्यौँ ।

गाडी फेरि अलि उकालो हुँदै किनारैकिनार अघि बढ्यो । अब देखियो पहरामा पक्की संरचना, जुन काठमाडौँवासीका लागि परिचित थियो । हो, त्यही थियो काकाकुल काठमाडौँवासीको तिर्खा मेटाउने मेलम्चीको मुहान, तर बाढीले मुहान तहसनहस बनाएकाले त्यो स्थानभन्दा मास्तिर अर्को मुहान बनाएर पानी काठमाडौँतर्फ पठाइएको छ अहिले । मुहान र गेटसम्म पुग्न पहरामा बनाइएको फलामे पुलको जोखिमपूर्ण संरचना हेरेर हामी फेरि आएकै बाटो लाग्यौँ । त्यसबेला मात्र प्रकाशजीले सुनाउनुभयो, ‘अबको हाम्रो यात्रा त्यही छुटेको झरना’ रहेछ जहाँ फिर्दा मात्र रोकिने योजना थियो ।

माघको सुक्खायाममा पनि प्रशस्त पानी थियो ‘ब्ल्याङ्जे झरना’ मा । यसलाई स्थानीय भाषामा ‘सुरसिङ झरना’ वा ‘सूर्याेदय झरना’ का नामले चिनिने रहेछ । छङ छङ आवाजसहितको चिसो पानीका छिटाको आनन्द लिँदै फोटो र भिडियो खिचेपछि फेरि लागियो पहिलेकै बाटो । जाँचचौकी अलि अगाडि आएपछि मात्र हाम्रो यात्रा तार्केघ्याङका लागि उकालो लाग्यो । ढुङ्गाछाप पहाडी बाटो चढ्दै पुग्यौँ हेलम्बु ककनीमा । त्यहाँको चौँरीमा आफैँले लगेको खाजा, पानी र चिया खाएर रमाइलो नाचगान गरी फेरि लागियो उकालो ।

तार्केघ्याङ पुगेर होटेल याङ्री पिकमा बिसाउन नपाउँदै आमायाङ्री पुगेर फर्केको रमाइलो टोलीसँग भेट भयो । उनीहरूसँगै गानाबजाना गरेर खानपिन भयो । हामी भोलिपल्ट आमायाङ्री उक्लँदै थियौँ तर आमायाङ्रीको खास अर्थ र विशेषता थाहा थिएन । थाहा थियो त केवल त्यहाँको कठिन उकालो यात्राको र चुचुरामा पुगेपछिको प्राकृतिक सुन्दरता ! त्यही भएर मैले हाम्रा होटेल सञ्चालक वाङदोर्जे लामालाई सोधेर त्यसको अर्थ र विशेषता थाहा पाएँ ।

लामाका अनुसार हिन्दुकी देवी मनकामना जस्तै हो आमायाङरीको विशेषता र महìव तर त्यो देवी नभई गुरु पद्मसम्भव अर्थात् रिम्पोछेले ध्यान र तपस्या गरेको क्षेत्र हो । त्यसैले त्यस क्षेत्रमा हिंसा वर्जित छ ।

यस्तै सूचनासाथ उत्सुकतासहित बिहानै उकालो लाग्ने निश्चय गर्दै माघ ६ गते बिहान ४ः४५ तिर लाग्यौँ गाडीबाट बेसक्याम्प चोमोथाङतिर । निकै ठाडो उकालोमा गाडीलाई पनि सकस भएछ । एउटा गाडी बेसक्याम्प पुगेर फेरि हामीलाई खेप लाउनु प¥यो । हामी १३ जना तितरबितर भएर उकालो लाग्यौँ । यो उकालो मेरा लागि नयाँ अनुभवको थिएन ।

सुनसरीको चतराबाट वराहक्षेत्र हुँदै अरुणको गडतिरै गडतिर पिखुवा दोभानबाट सुरु हुने मार्ताङको उकालो र आमायाङ्रीको उकालो समान लागे । तथापि मार्ताङको उकालो बाध्यताको र आमायाङ्रीको चाहिँ रहरको थियो । झोलामा चकलेट, मकैभटमास र बोतलमा पानी आमायाङ्रीमा हाम्रा साथ थिए । मार्ताङको उकालोमा माथि पुगेर भेटिने राई दाजैका घरमा पानी माग्दा ‘होइन हौ नानी ! पानी त छोरीको पेवा हो है । उसले दिए मात्तै पाउँछौ’ भन्ने जवाफ पाइन्थ्यो । 

त्यस्तै मेरो जन्मस्थान बास्तिमबाट भोजपुर सदरमुकाम जाँदा उक्लनुपर्ने इनामेको उकालो र फिर्दा अखुवाखोलाको फेदीदेखिको पिप्ले र खानीगाउँको उकालोको अभ्यासले मेरा गोडा अझै तगडा नै राखेका रहेछन् । इनामेको उकालामा त आहालको पानी पनि खाएको छु । धन्य मेरा ती उकाला !

आमायाङ्रीको चुचुरोमा सूर्याेदय हेर्ने हाम्रो लक्ष्य थियो । सूर्याेदयसँगै त्यहाँबाट चाँदीबाट सुन बन्ने हिमाललाई मनमस्तिष्कमा राख्ने हाम्रो चाह थियो । त्यही भएर सबैका पाइला बढ्दै थिए तर सबैको हिँडाइ र स्वास्थ्य एकनास रहेन । शोभा त्यसरी पहाड कहिल्यै नचढेकाले हिँड्न गारो भयो । सुशीला भाउजूको पनि स्वास्थ्य प्रतिकूल नै थियो तर उहाँलाई भने खासै समस्या भएन । अघिल्लै दिन गोडामा जुत्ताले घाउ बनाएको सौम्य भने नसोचेको फुर्तीसाथ सवा घण्टामै चुचुरोमा पुगेछन् । मदनजीसमेत हामी चार जना अलि ढिला भयौँ । 

उकालो पार गर्दैगर्दाको अलि सहज ठाउँमा दृश्यावलोकन गरेर फोटो खिच्यौँ । त्यहीबेला पूर्वका हिमाल छिचोल्दै सूर्यदेवको अद्भुत उदय भयो । आधा मिनेट मात्र हामी तल वा माथि भएको भए त्यो दृश्य छुट्ने रहेछ, रहन्थ्यो त केवल पछुतो । यस अर्थमा भाग्यमानी रह्यौँ हामी, आमायाङ्री नपुग्दै हाम्रो मनोकामना पूरा भयो ।

उकालो अझै सकिएन, हाई अल्टिच्युडका लक्षण देखिएकाले बिस्तारै पाइला चाल्दै पार लायौँ उकालो । साथीहरू माथि हामीलाई कुरिरहनु भएको । पुग्नासाथ आमायाङ्रीको चैत्यमा रहेको पद्मसम्भवको मूर्तिमा दर्शन गरेर प्रकृति नियाल्यौँ । फोटा र भिडियो खिच्यौँ र गीत गुनगुनाउँदै टिकटक बनायौँ– 

आमायाङरीको मेलामा भेट भएको बेलामा

उकालो उक्लँदाका सबै कष्ट र थकाइ बिर्साएर आनन्दको वर्षा भएको थियो ! आहा नेपाल ! आहा हिमाल ! तर पल्लो पाखामा देखिएका लाङटाङ हिमक्षेत्रका हिमाल कालापत्थरमा परिणत हुँदै थिए । केही समय बिताएर लागियो उही ओरालो । चढ्दा लागेको करिब साढे दुई घण्टा झर्दा पनि उत्तिकै लाग्यो । चढ्दा अन्तिम भएका हामी झर्दा पनि अन्तिम नै अर्थात् यसो पो भनौँ कि हाम्रो गतिमा कुनै परिवर्तन आएन ।

बेसक्याम्प झरेपछिको फिर्ती सवारी अर्कै बाटो थियो । प्रकाश आचार्यजीले एउटा नयाँ कुरा सुनाउँदै सिन्धुपाल्चोकको नामकरण वा स्थाननामको संरचनाबारे बताउनुभएको थियो । मेलम्ची किनारबाटै माथिको एउटा डाँडो देखाउँदै उहाँले भन्नुभएको थियो, “फिर्दा हामी त्यो डाँडामा रहेको मन्दिरको दर्शन गर्छौं ।” उहाँका अनुसार त्यो मन्दिर काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीकी बहिनी पाल्चोकीको हो । तिनै पाल्चोकी र सिन्धुखोलाको नामबाट सिन्धुपाल्चोक जिल्लाको नाम राखिएको रहेछ । स्वस्थानी महिनामा हाम्रा लागि नयाँ शक्तिपीठ पाल्चोकीको दर्शन गर्दै हामी मेलम्चीतिर फर्केर तीनदिने यात्राको बिट मा¥यौँ ।   

Author
केदार वाशिष्ठ

लेखक गोरखापत्रका निमित्त कार्यकारी सम्पादक हुनुहुन्छ ।