• १२ पुस २०८१, शुक्रबार

जम्काभेट बाघसँग

blog

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पको असर, त्यसलगत्तै हाम्रो दक्षिणी छिमेकीले गरेको नाकाबन्दी र फेरि उत्तरको छिमेकीबाट विश्वभर फैलिएको कोविरोग (कोभिड–१९) ले थला परेकोे पर्यटन गतिविधि यस पटक उत्साहजनक रह्यो । आन्तरिक र बाह्य पर्यटकको उच्च चाप देशका सबै क्षेत्रमा पर्‍यो । चितवनको सौराहा पनि यसबाट फाइदामा परेको थियो ।

सौराहामा मात्र होइन, देशव्यापी रूपमा नै पर्यटक आगमनको उच्च सिजनमा हामी पनि धेरै पटकको प्रयासमा त्यहाँ पुगेका थियौँ २०८० मङ्सिर १ गते । अहिले पनि विश्व समस्याबाट मुक्त छैन तर कोविरोग र रुस–युक्रेन युद्धलगायतका कारण विश्वको अर्थव्यवस्थामा मन्दी लागेका बेला सौराहाका साना–ठुला सबै होटल खचाखच थिए । सौराहा मात्र होइन, नेपालको समग्र पर्यटन क्षेत्रले नै लामो खडेरीपछि मुसलधारे वर्षा भएको अनुभूति गर्दै छ यसबेला ।

नेपालका पर्यटकीय स्थलका आआफ्नै विशेषता छन् । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु, चराचुरुङ्गी र जलचर विशेष गरी गैँडा, पाटेबाघ, हात्ती, मयुर र घडियाल गोही तथा अन्य जङ्गली जनावर आन्तरिक तथा बाह्य पर्यटकका आकर्षण हुन् । 

विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किलोमिटरमा फैलिएको छ । युनेस्को विश्वसम्पदामा सूचीकृत हुन पूरा हुनुपर्ने मापदण्ड (७), (९) र (१०) पूरा गर्दै चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको छ । निकुञ्जको पश्चिमी सिमानामा रहेको वाल्मीकि आश्रम, सीता भासिएको ठाउँ, लवकुशलाई वशिष्ठले शिक्षा दिएको स्थल र पाँचपाण्डव भूमिगत बसेको स्थल, वैकुण्ठ ताल जस्ता तीर्थस्थल यहाँका विशेष स्थल हुन् ।

त्यसका अतिरिक्त विसं २०५३ मा आसपासको क्षेत्रलाई समेटेर घोषणा गरिएको ७२९.३७ वर्ग किमीको मध्यवर्ती क्षेत्र बेग्लै छ, जुन बिसहजारी तालसमेत रहेको क्षेत्र हो । यही तालका कारण उक्त क्षेत्र पनि सिमसारका मापदण्डका आधारमा रामसार क्षेत्र घोषणा भएको छ । 

झन्डै पाँच मिनेटपछि त हाम्रो सडकअगाडि नै बायाँतर्फ बाघ निस्कियो र सडक किनारै किनार हिँडेर फेरि निस्किएतर्फको झाडीमै पस्यो । एकछिनमा फेरि निस्केर दायाँ–बायाँ हेरेर हामीलाई ‘क्याटवाक’ देखाउँदै सडक पार गर्‍यो र किनारै किनार केही अघि बढेर दायाँतर्फ झाडीमा पस्यो अनि फर्केन ।

यसरी विश्व सम्पदामा परेको निकुञ्जको सयर गर्न र वन्यजन्तु तथा जलचरको अवलोकन गर्न आउने विश्वका प्रकृतिप्रेमी बर्सेनि आउने गर्दछन् । ६८ प्रजातिका स्तनधारी, ५४४ प्रजातिका चरा, ५६ प्रजातिका उभयचर/सरिसृप र १२६ प्रजातिका माछाको अवलोकन मात्र होइन, तीबारे अध्ययन, अनुसन्धान र जङ्गल विचरण गर्न आउने पनि धेरै हुन्छन् । त्यसमा विदेशी मात्र होइन, स्वदेशी पनि प्रशस्तै हुन्छन् । 

यिनै पर्यटकका आधारमा टिकेका सौराहाका पर्यटन व्यवसायी र त्यही पर्यटकीय गतिविधिमा जीविकोपार्जन गर्ने समुदायका लागि यो वर्ष र शरद मौसम निकै आशाको सञ्चार लिएर आएको थियो । मोटामोटी शरद ऋतु (असोज–कात्तिक) को सिजन पछ्याए पनि हामी भने शरद र हेमन्त ऋतु (मङ्सिर–पुस) को सँघारमा सौराहाका अतिथि भएका थियौँ । 

सुखको दिन, दुःखको खबर

मङ्सिर सङ्क्रान्तिका दिन कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा भएको सूर्योदय र राप्ती किनारबाट देखिएको सूर्यास्त हाम्रा लागि विशेष बनेको थियो । 

मङ्सिरको चिसो बढ्दै थियो । ब्रह्ममुहूर्तमा तनहुँको देवघाटस्थित कालीगण्डकी र त्रिशूलीको सङ्गममा स्नान गर्नेको ससानो लर्को नै थियो । हामी पनि त्यसैमा मिसिएका थियौँ । पूर्वाधार तयार भएर पनि मर्मत सम्भारको अभाव रहेको बाटोमा कतैकतै बत्तीको अभाव आँखाले खट्काएको थियो भने छापिएका ढुङ्गा उक्किएर बनेका खाल्टाले गोडालाई असहज बनाइदिएको थियो । वृद्धवृद्धा मात्र होइन, यौवनमस्तका लागि पनि दुर्घटना निम्त्याउन सक्ने सडक मर्मतमा चासो नदेखिएको भान जो कोहीले गर्न सक्छ ।

तर, धन्य छ सूचना तथा सञ्चार प्रविधिको विकास ! हातमा रहेको मोबाइलले सूचना मात्र दिँदैन; साथ पनि दिन्छ । हाम्रा लागि सूचनाको साधन मोबाइल बाटो देखाउने साधन पनि बन्यो । सबै जनाले मोबाइलको बत्ती बाल्दै हिँडेका थियौँ । 

देवघाटमा स्नान गरी देवता तथा पितृलाई तर्पण गरी एक आवृति विष्णु सहस्रनाम स्तोत्र पाठ गरेर फर्कंदा उज्यालो भइसकेको थियो । फर्कंदा सहकर्मी वसन्त पराजुलीलाई गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेलले भन्नुभएको थियो, “लौ न वसन्त सर ! यो बाटो हिँड्दा सारै दुःख पाए धेरैले । गोरखापत्रमा लेखिदिनु पर्‍यो बाटो बनाउनका लागि ।” यस्तै आग्रह एक जना स्थानीय व्यापारीको पनि थियो ।

यो बाटो मात्र होइन देवघाटको भत्केको पाटो । कालीगण्डकीलाई भेटेर नारायणीको स्वरूप धारण गर्न आतुर त्रिशूलीले तनहुँतिरको पाखो नै हान्दै छ । नदीले किनार रेट्दै र देवघाटका मठमन्दिर र आश्रमलाई नै जोखिममा पार्दै गरेको व्यथा अझ चर्को छ । दानबाट नै सङ्कलन गरेको आठ करोड रुपियाँको लागतमा बनाइएको मन्दिर, धर्मशाला र अन्य संरचना त्यही रेटाइका कारण पहिरोको चपेटामा छन् । यो देवघाटको दुःख थियो ।

गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरिले यो समस्या निराकरणका लागि तटबन्धको आवश्यकता रहेको बताउनुभयो । यी समस्यामा पनि उहाँका वेदान्त दर्शनका केही विषयमा केही ज्ञानगङ्गा प्रवाह गरेर उहाँले हाम्रो घटाज्ञानलाई महाज्ञानतर्फ समाहित गराउने प्रयास गर्नुभएको थियो । 

फर्कंदा मोबाइलमा आएको सूचनाले हामीलाई थप दुःखी बनायो । दिउँसो हामी जाने तय भएको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रै दुई वटा गैँडा खाल्डो खनी बनाएको धरापमा पारेर मारिएछन् । नेपाली सेनाको सुरक्षामा रहेको निकुञ्जमा सेनाको चेकपोस्टनजिकै सिकारीले धराप थापी मारेका थिए । वन्यजन्तु सुरक्षा, निगरानी र सूचना प्रवाहमा कमजोरी स्पष्ट देखाउने गरी निकुञ्जभित्रको चपरचुली चेकपोस्टबाट एक किलोमिटर जतिको आसपासमा मारिएको जानकारी पनि एउटा मारेको तीन दिनपछि र अर्को त एक साता भइसकेको अवस्थामा पाइएको थियो । 

गैँडाका खाग र खुर केही नरहेको समाचार इन्टरनेटको माध्यमबाट विश्व्यापी भइसकेको रहेछ । सौराहाका पर्यटन व्यवसायी र तिनै गैँडालगायतका वन्यजन्तुको आकर्षणमा सौराहा आएका पर्यटक पनि यस घटनाबाट अनभिज्ञ रहने कुरै थिएन । 

युनिक वाइल्ड लाइफ रिसोर्टमा हामी पुग्नेबित्तिकै त्यहाँका कार्यकारी निर्देशक तथा क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव गुणराज थपलियाले असहज परिस्थितिमा आएको टिप्पणी गर्नुभयो । उहाँको असहज परिस्थिति गैँडा मारिएको दुःखद अवस्था र पर्यटक खचाखच रहेको बेला बसाइ र जङ्गल सफारीमा पर्नसक्ने समस्याको थियो । 

पोका पुन्तुरा होटलको टहरामा नै छाडेर हामी जङ्गल सफारीका लागि हतारिएका थियौँ । दुःखद अवस्थामा मान्छेलाई खुसी बनाउने प्रकृतिको कला बेग्लै छ; जेनतेन टिकटको प्रबन्ध गरेर ढुक्क भई राप्ती किनारमा पुग्दा पारिलो घाममा किनारमा लम्पसार घडियाल र एउटा सानो थुम्कोमा साम्राज्य बनाएको कछुवाले हामीलाई स्वागत दर्शन दिए । गैँडा मारिएको समाचारले विचलित मन केही बहलायो तर अन्तस्करणमा भने निकुञ्जभित्र अरू थुप्रै गैँडा हेरेर मनलाई शान्त पार्ने धोको थियो ।

बाघको खोजी

डुङ्गा चढेर राप्ती पार गरी चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारीमा हाम्रो सिटको दायाँ–बायाँ छिमेकी बनेका थिए दुई विदेशी पर्यटक, अरू १० जना आन्तरिक पर्यटक र हामीलाई जङ्गल क्षेत्र र वन्यजन्तु चिनाउने एक जना गाइड सुनील महतो हुनुहुन्थ्यो । चालकसँग भने हाम्रो राम्रो सम्पर्क भएन ।

हुलिया र लवजले नै विदशी दुईको सामान्य चिनारी दिइसकेको थियो – एक जना युरोपेली र अर्का मङ्गोलियन अनुहारका । त्यसरी सामान्य चिनारीले नै बाह्य पर्यटक हुन् भनेर चिनिनेको बाक्लो उपस्थिति थियो होटल, राप्ती किनारा र जङ्गलमा पनि ।

पहिले युरोपेली अनुहारलाई सोधेँ– “ह्वेयर आर यु फ्रम ?” (तपाईं कुन देशका हुनुहुन्छ ?)

जवाफ थियो, “आई एम फ्रम अस्ट्रिया ।” निकै रवाफिला अल क्जोपाक, पेसाले डाक्टर स्विट्जरल्यान्डमा काम गर्ने । नेपाल कस्तो लाग्यो त ? भन्ने प्रश्न गरिनसक्दै लगाएको टिसर्टमा अन्नपूर्ण फेरोको लोगो देखाउँदै त्यहाँ गएको र असाध्यै रोमाञ्चित भएको सुनाउनु भयो उहाँले तर अन्नपूर्णलाई नजिकबाट अरू नियाल्न नपाएको गुनासो बेग्लै थियो । सात वर्षअघि म अन्नपूर्ण आधार शिविर जाँदा मैले खिचेका चार वटा फोटा पछि मोबाइलमा सारिदिएँ । अर्का मङ्गोलियन अनुहारका हङ्कङका साथी भने अलि ‘रिजर्भ’ रहन चाहने । 

सिटमा बस्ने बित्तिकै अललाई सोधेको थिएँ, “आज के चाहिँ देख्न पाइयोस् भन्ने लाग्छ ?” गैँडा मारिएको दुःखद समाचार थाहा पाएको भए पनि भने गैँडा नै भेटियोस् भन्ने लागेको रहेनछ अललाई; बरु उत्साहित स्वरमा जवाफ थियो– ‘टाइगर’ ! अर्थात् बाघ । अलको यो निश्चयात्मक उत्साहमा बाघको संरक्षणमा नेपालले पाएको विश्वभरको ख्यातिले काम गरेको हुनु पर्छ । 

यो बाटो मात्र होइन देवघाटको भत्केको पाटो । कालीगण्डकीलाई भेटेर नारायणीको स्वरूप धारण गर्न आतुर त्रिशूलीले तनहुँतिरको पाखो नै हान्दै छ । नदीले किनार रेट्दै र देवघाटका मठमन्दिर र आश्रमलाई नै जोखिममा पार्दै गरेको व्यथा अझ चर्को छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले दोब्बर बनाउने सङ्कल्प गरेका थिए । सन् २००९ मा १२१ बाघ रहेकोमा नेपालले सन् २०२२ सम्म उक्त सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो र सन् २०१८ को गणनामा २५० को लक्ष्य झन्डै हासिल (२३५ वटा) गरेको पनि थियो । सन् २०२२ मा त लक्ष्यभन्दा बढी ३५५ वटा पाटेबाघ (रोयल बङ्गाल टाइगर) पुगेको चर्चा विश्वव्यापी भएको थियो । तीमध्ये सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका थिए । अहिले यो सङ्ख्या पनि बढेको हुनु पर्छ, मरेका समाचार कहिले काहीँ सुनिन्छ ।

बाघ मात्र होइन, नेपालमा गैँडाको सङ्ख्या पनि बढेको छ । विसं २०७२ मा नेपालमा ६४५ गैँडा थिए । विसं २०७७ मा भएको गैँडा गणनामा १०७ वटा थपिएर कुल सङ्ख्या ७५२ पुगेको पाइएको थियो । तिनमा सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४, चितवनपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सामा तीन वटा गैँडा पाइएका थिए । 

तर पछिल्लो समय मारिएका दुईसहित २०७२ यता चोरी सिकारी र प्राकृतिक दुवै कारण २३४ वटा गैँडा मरेका छन्, थपिएकाको गणना भएको छैन । जे भए पनि चितवनमा बाघभन्दा गैँडा नै बढी छन् । गैँडा र बाघको चारित्रिक भिन्नताका कारण पनि हाम्रो सफारीमा बाघभन्दा गैँडा नै देखिने मेरो विश्वास थियो तर जङ्गलभित्र जाँदाको आधा बाटोतिर तालमा बस्दै गरेको एउटा मात्र गैँडाले हामीलाई दर्शन दियो । बाघ त परै जाओस् अन्य वन्यजन्तु पनि हामीसँग टाढिएका थिए । बरु त्यहीँनिर एउटा घरपालुवा हात्ती बाटामा फेला परेको थियो ।

मिथ्या सूचना

“लौ त्यहाँ बाँधेर राखेको बाघ थियो त ! कसैले देखेन ?” कसरास्थित घडियाल प्रजनन् केन्द्रमा आआफ्ना ग्राहक अवलोकनकर्तालाई प्रजनन केन्द्रमा पठाएर जम्मा भएका एक गाइड उनीहरूकै समूहमा गफिँदै थिए । अरूले पनि होमा हो मिलाउँदै थिए । उनीहरूका नजिक पर्यटक भने थोरै मात्र थिए, भएका विदेशीले भनेको कुरा नबुझ्ने । 

सुरुमा त कुरा सुन्दा रमाइलै लाग्यो, तर तरिका देखेर झनक्क रिस पनि उठ्यो । अनि मैले पनि उनको भन्दा गफ लाइदिएँ – “ए त्यहाँ त बाघ मात्र होइन, गैँडा, हात्ती पनि लस्करै बाँधेर राखेका थिए त । देख्नुभएन तपाईंले ?”

अप्रत्याशित जवाफ र प्रश्नले गाइडको समूह अचम्ममा परेको थियो । वास्तवमा उनीहरू नै निकुञ्जभित्र झन्डै १५ दिनयता बाघ देख्न नपाएर नियास्रो मानिरहेका रहेछन् । तर उनीहरूले गफिँदाको तरिका मिथ्या सूचना दिने थियो, यसबारे निकुञ्ज वा अन्य निकायले उनीहरूलाई यसरी प्रस्तुत नहुन सचेत गराउनु पो पर्छ कि ? तर उनीहरूको भन्दा पनि मिथ्या सूचना त निकुञ्जले नै पो विश्वभर दिइरहेको रहेछ । थप जानकारीका लागि पछि आएर निकुञ्जको वेबसाइट हेर्दा पो यो पत्ता लाग्यो, जसमा २ सेप्टेम्बर २०१९ यता सारभूत सामग्री नै अद्यावधिक गरिएको छैन । २ सेप्टेम्बर २०१९ मा सन् २०२२ मार्चमा गैँडा गणना हुने सूचना सामग्री राखेयता २०७९ अर्थात् सन् २०२२ मा निकुञ्जको स्वर्णवर्ष रहेको लोगो राखेको देखिन्छ तर त्यसबाहेक अरू कुनै ताजा जानकारी र गतिविधि पोस्ट गरेको देखिँदैन । 

वेबसाइटमै वेबसाइट हेर्नेको सङ्ख्या देखाउने गणना पाटी पनि छ तर त्यसले पनि वास्तविक गणनाको हिसाब मिलाउँदैन । २२ लाखभन्दा बढीले वेबसाइट भ्रमण गरेको देखाउँदा गत साताको र त्यो कुलको हिसाबमा कुनै पनि हालतमा नमिल्ने छ । जतिले हेरे पनि यसले विश्वभर मिथ्या सूचना प्रवाह गरिरहेको छ । 

जसरी भए पनि निकुञ्जभित्रै पुगेका हामी प्रजनन केन्द्रमा कलिलादेखि वयस्क गोही हेर्दै केही समय रमाएर पुनः जिप चढ्यौँ तर वन्यजन्तुको जङ्गलको साम्राज्यमा मान्छेको भिडका कारण फर्कंदा अब अरू वन्यजन्तु देखिएलान् भन्ने आशाको त्यान्द्रो पातलिँदै थियो । फाट्टफुट्ट देखिएका बाँदर र हरिण हेर्न जिप रोकेर हेर्ने पर्यटक टिठलाग्दा देखिन्थे ।

साँच्चिकै बाघ पो !

जिपले अर्कै बाटो तय गर्दै गयो तर अलि अघि गएपछि पुरानै बाटो समायो । कुनै पनि वन्यजन्तुको अत्तोपत्तो थिएन । देख्नेबित्तिकै फोटो वा भिडियो खिचौँला भनी हातमा नै बोकिराखेको मोबाइल मैले कति बेला खल्तीमा हालिसकेको रहेछु । आँखा पनि जङ्गलतिर दायाँबायाँ चलेका रहेनछन् ।

अचानक श्रीमती शोभाले ‘ऊ बाघ’ भन्दै चिच्याएपछि पो झल्याँस्स भइयो । नभन्दै हाम्रो जिप त बाघ देखिएको ठाउँभन्दा थोरै अगाडि बढिसकेको रहेछ । थोरै ‘ब्याक’ गर्न लगाएर सबैका आँखा झाडीतिर तेर्सिए । हाम्रो बायाँतर्फ करिब १५ फिटको दुरीमा टाटेपाटे वयस्क बाघले हामीलाई दुर्लभ दर्शन दियो । हतार हतार मोबाइल निकालेर फोटो खिच्दा एउटा मात्र फोटो लिन सकेँ । बाघ झाडीभित्रै छिर्‍यो । 

अभ्यस्त गाइड सुनीलले चालकलाई जिप रोकिराख्न लगाए । झन्डै पाँच मिनेटपछि त हाम्रो सडकअगाडि नै बाघ बायाँतर्फ निस्कियो र सडक किनारै किनार हिँडेर फेरि निस्किएतर्फको झाडीमै पस्यो । एक छिनमा फेरि निस्केर दायाँ–बायाँ हेरेर हामीलाई ‘क्याटवाक’ देखाउँदै सडक पार गर्‍यो अनि किनारै किनार अघि बढेर दायाँतर्फ झाडीमा पस्यो, अनि फर्केन । यस पटक भने अलि पर नै भए पनि भिडियो र थप फोटोमा बाघलाई समेट्न सकियो । 

चिडियाखानाबाहेक प्रत्यक्ष रूपमा बाघ देखेको वा यति नजिकमा जम्काभेट भएको पहिलो पटक हो । गाइड सुनीलका अनुसार यो बाघको समागमको सिजन हो । हामीले देखेको बाघ भाले हो र ऊ पोथीको खोजीमा यसरी विचरण गर्दै थियो । अझै पनि सडकतिर निस्किई पो हाल्छ कि भनेर केही समय हामीले कु¥यौँ । हामीभन्दा अगाडिको जिपका यात्रु पनि परबाट पछाडि नियाल्दै थिए तर आँखामा प्रत्यक्ष घाम पर्दा उनीहरूले देखे पनि फोटो लिन सकेनन् । यस अर्थमा हामी भाग्यमानी नै भयौँ ।

हामी खुसी थियौँ । गाइड सुनीलले सुनाउनुभयो– “दिनभरका लागि जिप लिएर धेरै दिन घुम्दा पनि बाघ नदेख्ने धेरै हुन्छन् ।” यस मामिलामा बाघ देख्न चाहेका र पाएका अलको खुसी शब्दमा छचल्कियो । बाघ देखाइदिएकामा शोभालाई पटक पटक धन्यवाद भन्दाको मुखाकृति उत्साहले चम्किएको थियो । संयोग के पर्‍यो भने फर्केपछि राप्ती किनारमा तिनै बाँधेको बाघ देख्ने गाइड फेला परे । मैले फोटो देखाउँदै “यही हो तपाईंले बाँधेर राखेको 

बाघ ?” भनी सोध्दा उनले केही भन्न सकेनन् फिसिक्क हाँसेर टारे । थारू सांस्कृतिक प्रदर्शनी हेरेर होटल फर्कंदा थाहा भयो – धेरै दिनपछि जङ्गल सफारीमा बाघ देखिएको समाचार सौराहामा व्यापक भइसकेको रहेछ । 

गर्नुपर्ने पहल

छोटो तर अभूतपूर्व भ्रमणमा पर्यटन क्षेत्रका केही खड्केका कुरा पनि थाहा भए । समग्रमा पर्यटन भनेको बहुक्षेत्र सरोकारवालाको सेवाको प्याकेज हो । त्यस्तो सेवाको पोको फुकाएर पाहुनालाई पूर्ण सन्तुष्ट बनाउन सक्नु कला हो तर चितवन र आपसासका पर्यटकीय क्षेत्रलाई समेट्ने गरी अझै पनि धेरै काम गर्न बाँकी देखियो ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने निर्णय गरेको छ तर आएका पर्यटक भरतपुरमा नै बसिरहन्छन् भन्ने कुनै निश्चित छैन । यस्तो अवस्थामा सौराहा रहेको रत्ननगर नगरपालिका, मौलाकालिका र शाश्वतधामलगायतका क्षेत्र रहेको पूर्वीनवलपरासीको गैँडाकोट र देवघाट रहेको तनहुँलाई पनि प्याकेजमा राखेर भरतपुर भ्रमण वर्ष मनाउनु सान्दर्भिक हुने क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव गुणराज थपलिया बताउनुहुन्छ । त्यसका लागि भरतपुर महानगरपालिकालाई आग्रह गरिएको भए पनि ठोस निर्णय नभएको उहाँको भनाइ छ ।