• ८ भदौ २०८२, आइतबार

लिजाको नतिजामा चन्द्रपुर नगरपालिका उत्कृष्ट

blog

चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुर, रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), भदौ ८ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१  को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लामा १८ पालिका मध्ये चन्द्रपुर नगरपालिका सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।

चन्द्रपुर नगरपालिकाले ७४.५० अङ्कका साथ जिल्लामा अब्बल भएको नगर प्रमुख सन्जय कुमार काफ्लेले जानकारी दिनुभयो ।
नेपाल सरकारको प्रचलित कानुनको पालना, जनप्रतिनिधिको सहयोग एवम् सहकार्य तथा कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसारको काम पूर्ण इमान्दारी एवम् लगनका साथ गर्ने गरेका कारण चन्द्रपुर नगरपालिका जिल्ला भरिमा उत्कृष्ट पालिका हुन सफल भएको नगर प्रमुख काफ्लेको भनाइ छ ।

आगामी दिनमा अझ सुधार गर्दै सबै सूचाङ्कमा राम्रो अङ्क ल्याउन नगरपालिका प्रयासरत रहने उहाँले बताउनुभयो । नतिजा अनुसार गौर नगरपालिका दोस्रो भएको छ । गौर नगरपालिकाले ७३ अङ्क प्राप्त गरेको छ । त्यस्तै गरुडा नगरपालिका ७१.७५ अङ्क,राजदेवी नगरपालिका ६६.७५ अङ्क, राजपुर नगरपालिका ६२ अङ्क, बौधीमाइ नगरपालिका ६१ अङ्क, गुजरा नगरपालिका ५८.२५ अङ्क, वृन्दावन नगरपालिका ५६.५० अङ्क, इशनाथ नगरपालिका ५६.२५ अङ्क, दुर्गा भगवती गाउँपालिकाले ५४ अङ्क, परोहा नगरपालिकाले ५०.२५ अङ्क माधवनारायण नगरपालिका ४९.२५ अङ्क देवाही गोनाही नगरपालिकाले ४७.२५ र मौलापुर नगरपालिका ४३.२५ अङ्क ल्याएको छ ।

जिल्लामा सबभन्दा कम फतुवा विजयपुर नगरपालिकाले ३५.२५ अङ्क प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

चन्द्रपुर नगरपालिकाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ६.५०, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७.५०, सेवा प्रवाहमा १०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा ८.५० ,वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७  र  सहकार्य र समन्वयमा २.५० अङ्क ल्याएको छ ।  

फतुवा विजयपुर नगरपालिकाले भौतिक पूर्वाधारमा ०, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकाले  सहकार्य र समन्वयमा ० अङ्क ल्याएको छ भने गढिमाइ नगरपालिका, कटहरिया नगरपालिका र यमुनामाइ गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लिजामा सहभागी नै नभएको अवस्था रहेको छ ।

विषयगत शाखाबाट समयमा कागजात उपलब्ध नहुनु, जनप्रतिनिधिबिच द्वन्द हुनु कर्मचारी र जनप्रतिनिधि मतभेद हुनु, कर्मचारीले अग्रसरता नदेखाउनु लगायतका कारण केहि स्थानीय तह लिजा प्रक्रियामा सहभागी हुन् नसकेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका समन्वय अधिकृत मनोज साहको भनाइ रहेको छ ।

गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गर्दछ ।