काठमाडौँ, वैशाख २४ गते । जापानका विदेशमन्त्री कामिकावा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्कनु भएको छ । विमान चार्टर गरी नेपाल आउनु भएकी मन्त्री योको स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडान पक्डनु भएको हो ।
उहाँको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उहाँ भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फिर्नु भएको हो । उहाँ टोकियोको नारिता विमानस्थलका लागि राति १०:३० को उडान नम्बर आरए ३४४ बाट जानु भएको हो । उहाँलाई क्याप्टेन विजय लामा र सहचालक अमृतराज महर्जनले टोकियो पुर्याउनुहुने छ । विदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ भोलि चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।
विदेशमन्त्री योकोको पहिलो नेपाल भ्रमण छोटो तर महत्वपूर्ण द्विपक्षीय र बहुपक्षीय सम्बन्ध स्थापनाका लागि अर्थपूर्ण रहेको छ । तीन वटा उदीयमान अफ्रिकी देशको भ्रमणबाट श्रीलङ्का हुँदै नेपालको भ्रमण आफैँमा एउटा सन्देशमूलक यात्रा रहेकामा स्वदेश फर्कंदा नेपालको ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडान रोज्नु अर्को सन्देशमूलक रहेको छ ।
खासगरी नेपाली वायुसेवाका लागि युरोपको आकाशमा लागेको प्रतिबन्धको अवस्थामा बहुपक्षीय सम्बन्ध स्थापनामा यो अर्थपूर्ण रहेको छ । भ्रमणको अन्त्यमा सीमित सञ्चारकर्मीलाई भ्रमणको समीक्षात्मक जानकारी गराउँदै भ्रमण दलका सदस्य तथा उपप्रेस सचिव कानेको मारिकोले विश्वका कतिपय मामिलामा नेपाल र जापानले सहकार्य गर्न सक्ने सम्भावनाका क्षेत्र पहिल्याउने चेष्टा गर्नुभयो ।
जापानले नेपाललाई गरेका सहयोग र सम्भावनाका क्षेत्रका साथै रुस र युक्रेन युद्ध, इजरायल र हमासबिचको आक्रमण र प्रत्याक्रमणमा नेपाल र जापानको अडान समान रहेको सन्देश दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विदेशमन्त्री योकोले नेपालको विकास र स्थिरता एसिया क्षेत्रकै लागि आवश्यक रहेको महसुस गरेर जापानले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसका अतिरिक्त विश्वमा साझा मञ्चहरूमा नेपाल र जापानको सहकार्यात्मक प्रस्तुति, नेपाल र जापानले भोग्नु परेका जलवायु परिवर्तन र विपत्का समस्याबारे सहकार्य गर्न सकिनेबारे भ्रमण फलदायी रहेको बताउनुभयो ।
सन् २०२६ मा नेपाल विकासशील देशमा स्तरोन्नति भएपछिको सङ्क्रमणकालमा पनि जापानले नेपाललाई सहयोग गर्ने स्पष्ट सन्देश दिँदै उहाँले आगामी सहयोगका क्षेत्र शिक्षा, पूर्वाधार विकास, जलविद्युत्, यातायात सम्पर्क सञ्जालजस्ता क्षेत्रमा रहने उल्लेख गर्नुभयो ।
विदेशमन्त्री योको नेपाल आउँदा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहितको उच्चस्तरीय टोलीले स्वागत गर्नुभएको थियो । दिउँसो उहाँले वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभयो । उहाँको सम्मानमा परराष्ट्रमन्त्री श्रेष्ठले रात्रिभोज आयोजना गर्नुभएको थियो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                